© २०२३
काठमाडौं ।
साताको अन्तिम कारोबार दिन सेयर बजारमा व्यापक गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २४.७६ अंकले घटेर २६२८ अंकमा झरेको छ। परिसूचक मात्र होइन, बजारका सबै समूहगत सूचक पनि राताम्य भएका छन्।
यद्यपि, सूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा आजको दिन ११ अर्ब २३ करोड रुपैयाँको कारोबार भयो।
आजको कारोबारमा ४७ कम्पनीको सेयर मूल्य वृद्धि भए पनि २०१ कम्पनीको मूल्य घटेको छ। समूहगत सूचकहरूमध्ये सबैभन्दा धेरै व्यापार समूहमा २.४७ प्रतिशतको गिरावट आएको छ। हाइड्रोपावर, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनजस्ता सबै क्षेत्रको सूचक ऋणात्मक रहे।
पंचकन्या माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढ्दै शीर्ष गेनर बन्न सफल भयो। त्यसैगरी, मध्यभोटेकोशी जलविद्युत् कम्पनी, शिवश्री हाइड्रो, पाँचथर पावर र आँखुखोला जलविद्युत् कम्पनीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
अर्कोतर्फ, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दै टप लुजर बनेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य क्रमशः ६.४४ र ५.९० प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूको सूचीमा ङादी ग्रुप, बुटवल पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् कम्पनी रहेका छन्।
सेयर बजारले परिसूचकमा गिरावट देखाए पनि कारोबारको संख्यात्मक बृद्धिले लगानीकर्ताको उत्साह केही कायम रहेको देखिएको छ। बजारको दिशा आगामी हप्ता फेरि चासोको विषय हुनेछ।