© २०२३
सानो कक्षामा पढ्दा ‘हरियो वन नेपालको धन’ यो शब्द खुव प्रयोग गरिन्थ्यो । भूगोल पढन बस्यो भने हरेकका मुखमा यही कुरा दोहरिएर आउँथ्यो– हरियो वन नेपाको धन । हामी पहाडमा जन्मिएको भएर होला पहाडी भागमा देखिने हरियाली यता मैदानी भागमा देख्न पाइएन । कक्षामा पढ्ने समयमा नेपालको धन कसरी भयो भन्ने विषयमा सरहरूले पढाएको कुरा सुन्दा साँच्चि हरियो वन नेपालको धन भन्ने लाग्यो । कक्षामा पढ्दा काठ दाउरा स्याउला, अनि झरेका पातहरू कुहिएर मल बन्ने र त्यही मल वर्षाको पानीले बगाएर किसानका खेत बारीमा ल्याउन हुनालले प्रत्यक्ष फाइदा र अप्रत्यक्ष पाइदा भनेर पनि पढिने गरिन्थ्यो । खेतबारीमा आउने पाँको माटो अप्रत्यक्ष फाइदाको कुरा सरहरूले सुनाउनु हुन्थ्यो ।
अलिक ठूलो भएपछि वन तथा पहाडहरूमा घुम्न र केही काठहरू ल्याउन वनमा पुगेको समयमा हरियालीयुक्त वन देख्दा मन लोभिन्थ्यो । केही वर्ष पहिले नेपालका पूर्वी भागहरूमा अवलोकन गर्नका लागि सप्ताह व्यापीरूपमा गइयो । राजमार्गबाट जाँदै गर्दा मैदानी भागमा देखिएको चारकोसे वन र पहाडी भागमा देखिने हरियालीले झन पुष्टि गरेको थियो । नेपालको हरियो वन नेपालको धन भन्दा भन्दा केही समय पछि जतिवेला जनमत संग्रह आयो, त्यतिवेला निकै सखाप पारियो भन्ने सुुनियो । पञ्चायतीकालमा वनको लागि कानुन त थियो तर अति फितलो र प्रयोगविहिन । वन भनेपछि नोक्सान भए कोही हुँदैन भन्ने सोंच भएका मानिसको हातमा कानुन र वनको लगाम पर्न गयो ।
यसरी हेर्दा वन धेरैका लागि कमाउने भाँडा नै बन्यो । सानादेखि ठूला कर्मचारीहरू पनि वन नोक्सान भए हुन वेफाइदाका कुरा केलाउन लागेनन । खाली आफ्नो भरिए भयो । यही मेसोमा लागे । वन एक किसिमले सखाप भयो । हाम्रा डाँडा नाङ्गै भए । माटो बगाएर भारततिर लाग्यो । वनबाट प्राप्त हुने काठ, दाउरा, पात, स्याउला मात्र जानकारी भएकाहरूले वनको महत्व विर्सिए अझ बनबाट अक्सिजन । अप्रत्यक्ष पाइदा पाँको माटो भन्ने त धेरै का मनमा नै रहेन । वन भएका धेरै डाँडाकाँडा मात्र नभएर मैदानका चारकोशे झाडी समेत निख्रिँद गए ।
यसले दीर्घकालिन असर पार्दछ भन्ने ज्ञान सत्ता सञ्चालकमा भएन र उपभोक्तामा पनि भएन । यता सत्ता सञ्चालकमा यो ज्ञान भइरनुपर्दथ्यो या उपभोक्तामा हुनुपर्दथ्यो । दुबै पक्षमा ज्ञानको कमीले गर्दा हाम्रो वन नासिदै र मासिदै गयो । हामी विभिन्न स्थानमा अवलोकनका लागि हिंडेको समयमा देखिने वन छोंटो समयमा धेरै नोक्सान भएको पाइयो । त्यसपछि न हरियाली न नेपालको धन । धेरै भयो यो गीत सुन्न नपाएको ।
नेपालमा जतिवेलासम्म सरकारको स्वामित्वमा वन थियो त्यतिवेला वृक्ष रोपणका नाममा धेरैले फाइदा उठाए भन्ने चर्चा त्यतिवेला पनि सुन्न पाइन्थ्यो । वृक्ष किनेको विल पेस गर्ने उता जहिले मन लाग्यो, उहिले रोपियो भन्ने सुन्न पाइन्थ्यो । अनि त्यसलाई आवश्यक मल र जल नहुनुको कारणले विरुवा हुर्कन नपाउँदै तिनको देहावसान हुने गर्दथ्यो । सामुदायिक वनको अवधारणा कहाँबाट कसरी आयो ? यो पंक्तिकारलाई खासै ज्ञान भएन तर जतिवेला सरकार लचिलो भएर नागरिक स्तरमा सामुदायलाई वन हस्तान्तरण गरियो ।
त्यसपछि यथासमयमा वृक्षारोपण भयो । अनि वचेका विरुवाको संरक्षण पनि हुन लाग्यो । आफ्नो क्षेत्र निर्धारण गरियो । ठीक समयमा वन खोल्ने र वनमा भएका सडापडा काठहरू संकलन गर्ने अनि अनावश्यक हाँगाहरू छाँटेर दाउरा बनाउन लागियो । अनि वन हेरालुबाट कडाइका साथ हेर्ने व्यवस्था मिलाइयो त्यस पछि हाम्रा डाँडापाखाहरू हराभरा देखिन लागेका भन्दा साँच्चै कुरा गरेजस्तो लाग्छ ।
कहिलेकाँही वन समूहका उपभोक्ताहरू सरकारका विरुद्धमा कडारूपमा प्रस्तुत भएको देखिन्छ । सरकारले संरक्षण गर्न नसकेको वन नागरिकले संरक्षण गर्न लागेदेखि हरियो वन नेपालको धन भन्ने सार्थक हुन लागेको समयमा सरकारले यही वनलाई दोहरो कर लगाएर मारमा पारेको भन्ने कुरा पटक पटक सुन्न पाइन्छ । आज नेपालका एक होइन हजारौं वन समूहहरू छन् । स्थानीय समूहदेखि लिएर केन्द्रस्तरमा केन्द्रीय वन समूह समेत तयार भएको छ । आज हजारौं नागरिक यसमा जोडिएका छन् । वनको संरक्षणले मात्र पनि अक्सिजनमा वृद्धि भएको छ । काठ दाउराका कुरा पर राखेर भन्न परेको खण्डमा पनि कोसौं टाढाको मानिसलाई काम लाग्ने भनेको अक्सिजन हो ।
त्यो त सहजै पाउन सकिएको छ । यसकारण पनि यो वन वनाउन र फैलाउन आवश्यक छ भनेर आम नागरिकलाई बुझाउने जरुरी छ । हिंजो अधिकार प्राप्तकर्ताहरू नै वनको वारेमा वेखबर वने । वनमा ठूलो नोक्सान हुँदा पनि कानमा तेल राखेर सुते । आज नागरिकले आफै संरक्षण गर्दा दोहरो कर लगाएर पटकपटक आन्दोलनमा उत्रने बनाएको सुन्दा आफैमा आश्चर्य लागेर आउँछ । यो आश्चर्य सहजै समन हुने पनि देखिदैन । वनको राम्रो संरक्षण गरे भने यहाँबाट झापाको नागरिकले पनि फाइदा पाउन सक्छ भने सबै कुरा सरकारले हातौमा किन खोजिरहेको छ । वन जति बढदै गयो उति विभिन्न जंगली जनावरको वासस्थान र खानाको जोहो हुन सक्छ ।
यसरी पनि फाइदा पुग्ने छ । कहिलेकाँही बर्दिया राष्ट्रिय निकुञ्जका हात्तिहरू नेपालको मध्य तथा पूर्वीभागसम्म पुगेको भन्ने सुन्नमा आउँछ । उनीहरूका वासस्थान आहारा कम भएर यसो गरिएको हो कि ? वनको मात्रा ठूलो र दायरा फराक भएर कसैलाई पनि नोक्सान हुँदैन । निकुञ्जबाट हुने काम निकुञ्जबाट हुन्छ भने आरक्षणबाट हुने काम आरक्षणबाट हुन्छ । आरक्षणको आफ्नै महत्व भए जस्तै सामुदायले सञ्चालन गरेको वनको वेग्लै महत्व रहेको छ । आरक्षण र निकुञ्ज को संरक्षणको जिम्मा सरकारले लिएको हुन्छ भने सामुदायमा हस्तान्तरण गरेको वनको जिम्मेवार पक्ष त्यहाँका स्थानीय वन समूहहरूनै हुन्छन् ।
आफ्नो बलवुतामा जोगाएको वनमा सरकारले दोहरो कर लगाएको भन्ने सुन्दा के गरेको होला ? भन्ने प्रश्न मनमा आउने गर्दछ । अझ यत्तिमात्र नभएर वर्तमान अवस्थाको कुरा गर्ने हो भने नेपालमा विभिन्न प्रजातिका बिरुवा पाइन्छन् । विरुवा पाइन्छन भन्नुको तात्पर्य केहो भने विभिन्न जातका काठहरू पाइन्छ । विभिन्न आकार प्रकारका फर्निचरदेखि लिएर विभिन्न वस्तु बनाउन सकिने काठहरू हाम्रो नेपालको समग्र वनमा पाइन्छन् । यो कुनै एकादेशको कथा होइन तर नेपालमा विदेशबाट व्यापारीहरूले महंगो मूल्यमा काठहरू मगाएर विभिन्न वस्तु निर्माण गरेर विक्री गरेको भन्ने सुनिन्छ । यो हो अत्यन्त दुःखको कुरा । नेपालमा भएका काठहरू कति वनमा सडेका छन् ।
त्यो काठ नेपाली आफैले उपयोग गर्न पाएका छैनन् । तर विदेशबाट आयात गरिएका महंगा मूल्यका काठहरू खरिद गर्न वाद्य भएका छन् । हो यसैलाई भनेको हो नेपालको हरियो वन कसको हो धन ? उही माफिकका काठ खरिद गर्नका लागि विदेशमा रकम पठाउनु परेको छ । यो व्यवसाय गर्ने विदेशी हुन भने रोक लगाउनु पर्दछ । नेपाली हुन भने झनै वन्द गर्नुपर्दछ । यो भन्दा नामर्दीपन अरू केही हुँन सक्दैन । आफ्नो मुलुकका काठहरू सडाएर विदेशी महंगा काठ किन चाहिएको छ ? हरियो वन नेपालको धन बनाउनतर्फ सरकारी तथा गैरसकारी निकाय सबै लाग्नुपर्दछ ।