© २०२३
काठमाडौँ, ५ असार ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका(३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरुङ रहेका छन् ।
पक्राउ मध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रुपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौँ महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौँ महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।