Butwal Today

सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको बैंकिङ कसुरमा जाहेरी

५ असार २०८२, बिहीबार
अ+
अ-

दाङ ।

नेकपा (एस) का सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध पाँच करोड ४० लाख रुपैयाँको चेक अनादरसम्बन्धी आरोपमा प्रहरीमा उजुरी परेको छ। उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले सो प्रकरणमा अनुसन्धान सुरु गरेको छ।

चौधरी दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले हुलाकमार्फत चेक अनादरसम्बन्धी उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार हाल उजुरीमाथि अनुसन्धान भइरहेको छ र मुद्दा दर्ता प्रक्रियामा छ।

प्रहरी स्रोतका अनुसार चौधरीमाथि बैंकिङ कसुर वा ठगीमध्ये कुन मुद्दा लगाउने भन्नेबारे कानुनी परामर्श सुरु भइसकेको छ। प्रारम्भिक जानकारीअनुसार, उजुरीमा उल्लेखित चेक रकम र त्यसको कानुनी पक्षबारे विस्तृत अध्ययनपश्चात मात्र मुद्दा दर्ता गरिने बताइएको छ।

हालसम्म उजुरी दिने व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। यस विषयमा सांसद चौधरीसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल फोन उठेको थिएन। चौधरी पार्टीका उपमहासचिवसमेत हुन्। एकजना सत्तारूढ दलका सांसदविरुद्ध गम्भीर आर्थिक प्रकृतिको आरोप सार्वजनिक भएपछि राजनीतिक वृत्तमा पनि चासो बढाएको छ।