© २०२३
पाल्पा, ०४ असार ।
तानसेन ११ बन्दिपोखरा पाल्पाका किसानहरूलाई मौरी र लोकल कुखुराका चल्ला वितरण गरिएको छ । किसानहरूलाई आत्मनिर्भर गराउने उद्देश्य सहित गोला सहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनी भन्छन्,–आर्थिक विकास पर्यटन र कृषिबाट सम्भव रहेकोले कृषिभूमीको अधिकतम सदुपयोग गर्न समय आएको छ ।
कृषिलाई उन्नत कसरी गराउन तानसेन योजनाबद्ध रूपमा अगाडी बढेको छ । तानसेन नगरपालिका नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले अनुदानमा पाएका चीजलाई संरक्षण गर्न किसानले जिम्मेवारी बोध गर्नुपर्ने बताइन् । कृषिका माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन कृषकको ध्यान पुग्नुपर्ने उपप्रमुख प्रतीक्षा गाहाले बताइन् ।
तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न कार्यक्रम फलदायी बन्ने बताए । उनले वैकल्पिक खेती गरे जंगली जनावरबाट पार पाउन सकिने बताए । रेडा पाल्पाका निर्देशक लिलाबहादुर कार्कीले आयआर्जन वृद्धि र सामाजिक सशक्तीकरण गर्न किसानमुखी कार्य गरिएको बताए । उनले टोल र बस्तीका सम्भावना तथा अवसर खोजी गर्दै समूहको माध्यमबाट अभियान सुरु गरिएको बताए ।
तानसेन नगरपालिका ११ वडा अध्यक्ष एवम् प्रवक्ता यादवसिंह कार्कीले २२ घार र ५ हजार चल्ला वितरण गरिएको हो । तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हेफर नेपालको प्राविधिक सहयोग, तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडा पाल्पाको सहजीकरणमा कार्यक्रम गरिएको हो । हेफरले चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँबाट कृषकमुखी कार्य गर्दै छ ।