© २०२३
सुनवल, ४ असार ।
सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको नारायण चोक जोड्ने हुलाकी सडक खण्डमा एकै पटक चार वटा पुलको निर्माण सकिएको छ । हुलाकी सडक निर्माण सुरु भएको एक दशकपछि बल्ल पुल निर्माण सकिएको हो । रामग्राम नगरपालिकाको बैकुण्ठापुर, सरावल गाउँपालिकाको गंगासागर, पिडुँरा र भिमटाँडी खोलामा कुल १२ करोड ४७ लाख ६१ हजारको लागतमा चार वटा पुल निर्माण भएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनियर पबित्रमणी आचार्यले जानकारी दिए । तिन वटा पुलको लागि सात महिना र एउटा पुलको लागी ११ महिनाको समयावधि दिएर गत वर्ष सम्झौता भएको थियो ।
तिन वटा पुलको दुई महिना म्याद थप गरी र बाँकी एउटा पुलको तोकिएको अवधिमै निर्माण सम्पन्न भएको आचार्यले बताए । डोको निर्माण सेवा रोल्पाले एउटा र ओमकार जयसवाल जेभी नवलपरासीले तीन वटा पुल निर्माणको ठेक्का पाएका थिए । वर्षा याममा पुल अभावमा समस्या हुँदै आएकोमा चालु वर्ष पुल निर्माण भएपछि आउजाउ सहज भएको छ । पुल नहुँदा वर्षा याममा बालबालिकालाई विद्यालय जान समेत समस्या हुँदै आएको थियो ।
पुल निर्माण भएपछि गाउँपालिका आउने सेवाग्राही लगायत हुलाकी मार्गमा यात्रा गर्ने सबैलाई सहज भएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । २०७३ सालमा सम्झौता भएको नारायण चोक देखि परासी जोड्ने उक्त हुलाकी सडकमा गत वर्ष मात्रै पुल निर्माणको ठेक्का लागेको थियो । पुल निर्माण पुरा भएपनी सडक निर्माणको काम भने अझै पुरा भएको छैन । योजना कार्यालय कपिलवस्तुका अनुसार १२ किलोमिटर सडकको काम १० वर्ष बित्दा समेत पुरा भएको छैन । पाँच पटक ठेकेदारलाई म्याद थप गरी काम सक्न ताकेता गरे पनि काम पुरा भएको छैन । हाल सम्म भौतिक प्रगति करिब ८५ प्रतिशत छ भने वित्तीय प्रगति ७२ प्रतिशत छ । काम पुरा नगरेकाले भुक्तानी रोकिएको इन्जिनियर आचार्यले जानकारी दिए ।
विभिन्न ठाउँमा कालोपत्रेको गुणस्तरीयतामा प्रश्न उठेकाले पुन कालोपत्रे गर्न भनिएको छ भने, ट्राफिक चिन्ह, कम चौडाइ भएको स्थानमा सडक फराकिलो बनाउनुपर्ने लगायतका काम बाँकी नै छ । तर ठेकेदारले भने गत वर्ष देखि काम गरेको छैन । २२ करोड ७० लाखको लागतमा उक्त सडक निर्माणको ठेक्का कञ्चनजङ्घा बिरुवा जेभी काठमाण्डौले लिएको थियो । तर ठेकेदारको चरम लापरबाहीले काम पुरा हुन सकेको छैन । अन्य दुई खण्डको पनि अवस्था उस्तै छ । परासी देखी पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणी र सीमावर्ती भारतीय नाका सँग जोडिने गरी एक अर्ब बढीको लागतमा तिन खण्डमा विभाजन गरेर हुलाकी सडक विस्तारको काम भईरहेपनि कुनै पनि खण्डको काम समयमा पुरा भएको छैन ।