© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको उक्त बैठकमा आयोगको उद्देश्य, कार्यक्षेत्र र प्राथमिकताका विषयमा परिचयात्मक छलफल गरिएको हो।
बैठकमा आगामी कार्ययोजनाबारे प्रारम्भिक रूपरेखा तय गरिएको छ भने आयोगमा राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन चाँडै गरिने जनाइएको छ। दोस्रो पूर्ण बैठक अर्को साता बस्ने तयारी पनि गरिएको छ।
यस आयोग गठनको निर्णय गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो, जसमा प्रधानमन्त्री ओली अध्यक्ष रहने गरी १५ सदस्यीय संरचना तय गरिएको छ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजय चौरसिया, तथा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री राजकुमार गुप्तालगायतको सहभागिता रहेको थियो।
सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा सुधारका लागि आयोगलाई नीतिगत सल्लाह दिने उच्च तहको संयन्त्रका रूपमा अघि सार्ने उद्देश्य लिएको छ।