© २०२३
मानव समाजले लामै सभ्यता यात्रा पूरा गरिसकेको छ । समाज परिवर्तनको क्रममा मानिसहरूले गरेका अभ्यास अनि निर्माण गरेका संरचनाहरू अहिले सम्पदाको रूपमा हामीमाझ देखिएका, सुनिएका छन् । मानिसहरूले अभ्यास गरेका व्यवहार, निर्माण गरेका संरचना, भौगोलिक स्वरूपमा गरेका परिवर्तन, प्राकृतिक घटनाक्रमले निर्माण गरेका स्वरूपहरू सबैलाई सम्पदा भनिन्छ । सम्पदाहरू मानव निर्मित र प्राकृतिक, भौतिक र अभौतिक , साँस्कृतिक र ऐतिहासिक गरि धेरै किसिमका हुन्छन् । साँस्कृतिक सम्पदालाई भौतिक र अभौतिक सम्पदामा वर्गीकरण गरिन्छ । मानिसले प्रत्यक्ष रूपमा देख्न महसुस गर्न सक्ने र भौतिक आकार प्रकार भएका सम्पदाहरू भौतिक सम्पदा हुन भने प्रत्यक्ष देख्न नसकिने तर ज्ञानेन्द्रीयहरूले महसुस गर्न सक्ने सप्मदाहरू अभौतिक वा अमूर्त साँस्कृतिक सम्पदा हुन् ।
अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ ले नेपालमा परम्परागत रूपमा वसोवास गर्दै आएका जातीय समुदायका एक पुस्तावाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै तथा अभ्यास भईआएका मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान, जात्रा पर्वहरू, प्रकृति एवं ब्रह्माण्ड सम्वन्धी ज्ञान, परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधि, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरन लगायत आभूपण सम्बन्धी ज्ञानका साथै सम्पदा अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल र स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदालाई ‘अभौतिक सांस्कृतिक सम्पदा’ भनि परिभाषित गरेको छ ।
यसैगरी युनेस्कोको अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ का अनुसार अमूर्त साँस्कृतिक सम्पदा भन्नाले समुदाय, समूह तथा व्यक्तिहरूले उनीहरूको साँस्कृतिक सम्पदाको अंगका रूपमा मान्यता दिएका उपकरण, वस्तु, कलाकृति तथा साँस्कृतिक स्थलहरू लगायत प्रतिनिधित्व, अभिव्यक्ति, ज्ञान एवं सिपहरूलाई बुझाउँछ । अमूर्त साँस्कृतिक सम्पदाको संवाहकका रूपमा भाषा सहित मौखिक अभिव्यक्ति तथा परम्पराहरू; प्रस्तुति, कला; सामाजिक प्रचलन, रीतिरिवाज एवं चाडपर्वहरू; प्रकृति तथा ब्रम्हाण्डसँग सम्बन्धित ज्ञान तथा अभ्यासहरू; परम्परागत शिल्पकारिता जस्ता कुराहरूबाट अभिव्यक्त भएको हुन सक्ने कुरा यो अभिसन्धिले प्रस्ट पारेको छ ।
भौतिक सम्पदा जस्तो गरि अभौतिक/अमूर्त सम्पदाहरू सहज रूपमा पहिचान गर्न कठिन हुन्छ । मानिसहरूको जात, धर्म, आस्था, भौगोलिक अवस्था, पेशागत अभ्यास, प्रकृतिसंगको निकटता र बाह्य सम्पर्क जस्ता कुराहरूले अभौतिक साँस्कृतिक सम्पदाहरूमा भिन्नता आएको हुन्छ । यसको सजिलो उदाहरण नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने थारुहरूको साँस्कृतिक व्यवहारलाई लिन सकिन्छ । अभौतिक÷अमूर्त सम्पदाहरू परम्परागत साँस्कृतिक अभिव्यक्ति भएकोले दैनिक जीवनयापन, परिवार संचालन, खानपिन, भेषभुषा, पेशा संचालन, जीवन सँस्कारमा यसको प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ ।
राष्ट्रिय बौद्धिक सम्पत्ति नीति २०७३ ले अमूर्त साँस्कृतिक सम्पदालाई बौद्धिक सम्पत्ति मानेको छ । यस नीतिले परम्परागत साँस्कृतिक अभिव्यक्ति (Traditional Cultural Expression) nf]s jftf{ -Folklore_समेतका अमूर्त साँस्कृतिक सम्पदालाई वौद्धिक सम्पत्तिको रूपमा संरक्षण गरी मौलिक पहिचानमा दखल नगर्ने गरि प्रयोग गर्ने अधिकार तथा व्यवसायिक प्रयोगमा समन्यायिक लाभ बाँडफाँडको दावीको अधिकार सहितको कार्यविधि तयार गरी आवश्यक व्यवस्था गर्ने र परम्परागत साँस्कृतिक अभिव्यक्ति तथा अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण तथा अभ्यासमा उचित सीमा एवं संरक्षणको अपवादको ब्यवस्था गरि सन्तुलित परम्परागत साँस्कृतिक अभिव्यक्ति तथा अमूर्त साँस्कृतिक सम्पदा संरक्षण प्रणालीको विकास गर्ने नीति अघि सारेको छ ।
साथै यस नीतिले परम्परागत साँस्कृतिक एवं लोकसाँस्कृतिक प्रस्तुति, सामुहिक अभिव्यक्ति तथा अमूर्त साँस्कृतिक सम्पदामा प्रतिलिपि अधिकार वा ट्रेडमार्क वा औद्योगिक डिजायनका रूपमा उपयोग गरिएको अवस्थामा सोको पहिचानको संरक्षण तथा लाभ दावी गर्न पाउने कुरा उल्लेख गरेको छ । नेपालमा ३ वटा क्षेत्रहरूले पर्यटकलाई आकर्षित गरिरहेको छ । ति क्षेत्रहरू हुन – हिमाल, राष्ट्रिय निकुञ्ज र सँस्कृति । हिमाली क्षेत्रको पर्वतारोहण र पदयात्रामा हिमाल मुख्य आकर्षण भएपनि पर्यटकलाई हिमाली क्षेत्रमा धेरै दिनसम्म अड्याएर राख्ने काम हिमाली क्षेत्रमा मौलिक मूल्य मान्यता, सस्कृति र स्थानीय जीवनले गरिरहेका छन् । हिमाली शेर्पाका आस्था र विस्वास अनुसार पर्वतारोही र पदयात्रिहरूले आफ्नो यात्राको शुरु र अन्त्य गरिरहेका हुन्छन् ।
हिमाली क्षेत्रको शेर्पा र बोन्पो सँस्कृति मानिरेन्दु जस्ता पर्व, हिमाली क्षेत्रको पशुपालन सँस्कृति र जीवन पद्धतिले पर्यटकलाई हिमाली क्षेत्रतर्फ डो¥याईरहेको हुन्छ । पर्यटकको अर्को रोजाईको क्षेत्र हो राष्ट्रिय निकुन्ज । चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरू बाघ, गैंडा, हात्ती, लगायतका जीवजन्तु अवलोकन गर्न जाने भएपनि त्यहाँ पुग्ने हरेक पर्यटकले जसरी भएपनि स्थानीय थारु सँस्कृतिलाई बुझ्न खोजिरहेका हुन्छन् ।
थारुहरूको नाचगान हेर्ने, थारु खाना खाने, थारुका पहिरनमा सजिने र उनीहरूले उत्पादन गरेका वस्तुहरू लैजाने रहर त्यहाँ पुग्ने हरेक पर्यटकले गरिरहेका हुन्छन् । पर्यटकका यस्ता रहरहरू पूरा भएमा पर्यटकहरूले समय र रकम दुवै खर्चिन तयार भएको देखिन्छ । लामटाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरू तामाङ्ग संस्कारलाई बुझ्न प्रयास गरिरहेको हुन्छन् । नेपालका सबै संरक्षण क्षेत्रको नजिक आदिबासी समुहको ठूलो उपस्थिति रहेको छ । यी समुदायको आफ्नै विशिष्ट परम्परा, सस्कार र अभ्यासहरू छन् । यस्ता अभ्यासले पर्यटकलाई लोभ्याउने मात्र नगरी स्थानीय प्राकृतिक श्रोत संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ, यसले अन्तत पर्यटन क्षत्रमा नै लाभ पुगेको छ ।
पर्यटन नीति २०६५ ले साँस्कृतिक पर्यटनलाई नेपालको पर्यटनको एउटा खम्बा मानेको छ । यसमा विभिन्न जातजातिहरूका मौलिक संस्कृतिलाई समेटी सांस्कृतिक पर्यटनलाई जोड दिने क्रियाकलापहरूको सञ्चालनमा स्थानीय निकाय र जनसमुदायलाई प्रोत्साहन गरिने कुरा उल्लेख गरिएको छ । नीतिगत व्यवस्था अनुसार संघीय र प्रदेश सरकारले अभौतिक साँस्कृतिक सम्पदालाई पर्यटनसंग जोड्ने प्रयास गरेको देखिन्छ । विभिन्न स्थानमा साँस्कृतिक ग्रामहरूको स्थापना, मौलिकतामा आधारित होमस्टेको संचालन, पर्यटकहरूको स्वागत र मनोरन्जनको लागि स्थानीय कला सँस्कृति प्रदर्शन जस्ता कामहरू अचेल भैरहेका छन् ।
सांस्कृतिक विविधताले भरिपूर्ण लुम्बिनी प्रदेश सरकारले अभौतिक साँस्कृतिक सम्पदामा आधारित पर्यटन विकासका कार्यक्रमहरूलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रम र आवधिक योजनामा संलग्न गरेको देखिन्छ । बारम्बार सरकार परिवर्तन भैरहने रोगले गर्दा ठोस काम हुन नसकेपनि लुम्बिनी प्रदेश सरकारले सारेका साँस्कृतिक ग्राम, थारु, मगर, खस आर्य, अवधि सर्किट, स्थानीय कला सस्कृतिलाई कोशेलीको रूपमा विक्री गर्ने योजनाहरू अभौतिक सास्कृतिक सम्पदाबाट लाभ लिने कुरा हुन् ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि उदघोषण गरेको नीति तथा कार्यक्रममा प्राचीन स्मारक, पुरातात्विक एवम् सांस्कृतिक सम्पदातथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्धन गरी पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिने, प्रदेशभित्रका सबै मौलिक भाषा, भेषभूषा, धर्म, संस्कार, संस्कृति, कला, साहित्य, सङ्गीत लगायतका विषयहरू संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्न लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन गरिने, प्रदेशभित्रका सबै जातजाति, भाषाभाषी, धर्मावलम्बी एवम् सम्प्रदायको मौलिक सँस्कृतिको संरक्षण तथा प्रवर्धन गरी साँस्कृतिक ग्रामको रूपमा विकास गर्न स्थानीय तह र समुदायस्तरमा सहकार्य गरिने तथा शालग्राम र कालीगण्डकी नदीको महिमालाई प्रवर्धन गर्न उत्तर गण्डकी महास्नान तथा मेला आयोजना गरिने कुराहरू उल्लेख छन् ।
प्रदेश सरकारको दोश्रो आवधिक योजनाले पहिचान बोकेका कला र सस्कृतिको संरक्षण, प्रवद्र्धन, विकास र उपयोग गर्ने रणनीति तय गरेको छ । यस रणनीति अन्तर्गत प्रदेश अन्तरगत विभिन्न जातजाति र भौगोलिक क्षेत्रमा प्रचलनमा रहेका सम्पदा, बास्तुकला, हस्तकला, परम्परागत सीप आदिको संरक्षण र प्रबद्र्धन गर्न प्रोत्साहन गरिने र त्यसको संरक्षण, सम्बद्र्धन र व्यवसायीकरण गर्दै आयआर्जन र रोजगारीको माध्यम बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने, प्रदर्शनकारी लोककलाहरूको माध्यमबाट पर्यटन व्यवसायमा टेवा पु¥याउने, प्रचलनमा रहेका सम्पदा, चाड पर्व विशेष कला, संस्कृति, बाजा, नृत्य, खाद्य तथा पेय पदार्थ आदिको संरक्षण, विकास, प्रबद्र्धन, व्यवसायीकरण र आय आर्जनसँग जोडेर दिगो संरक्षण तथा सम्बद्र्धनमा प्रोत्साहन गरिने, विभिन्न जातीय संग्राहलयहरूको स्थापना, संरक्षण र प्रबद्र्धन गरिने लगायतका कार्यनीतिहरू अघि सारिएको छ । आवधिक योजनाले निर्धारण गरेका उद्देस्य, रणनीति र कार्यनीति अनुसार काम हुन सकेमा प्रदेशको भौतिक र अभौतिक सास्कृतिक सम्पदाको संरक्षण मात्र हुने छैनन्, त्यसबाट पर्यटकीय र अन्य व्यवसायिक लाभ लिन समेत सकिनेछ ।
नीतिगत रूपमा जे जस्तो व्यवस्था गरिएको भएपनि अभौतिक साँस्कृतिक सम्पदाबाट यथास्थितिमा लाभ लिन भने सक्ने देखिदैन । हिजोका दिनमा कुनै स्थानमा कुनै एकल संस्कृतिको बाहुल्यता हुँदा ती संस्कृतीहरू प्रचलनमा रहेका थिए । वर्तमान समयमा बढ्दो बसाईसराई, बिदेशी संस्कृतिको प्रभाव, धर्मान्तरण र सामाजिक संजालको कारणले गर्दा संस्कृतिहरू मासिने र परिवर्तित हुने क्रम तीव्र छ । भाषा र थातथलो मासिँदा धेरै अभौतिक संस्कृतिहरू पुस्तान्तरण हुन सकेका छैनन् र मासिदै गएका छन् । अभौतिक सांस्कृतिक सम्पदाबाट पर्यटकीय र व्यवसायिक लाभ लिनको लागि सबैभन्दा पहिले यस्ता सम्पदाको पहिचान र सूचीकरण गर्नु जरुरी छ ।
अभौतिक सम्पदाहरूको पहिचान गरेपछि त्यसको सशक्त प्रचारप्रसार, संरक्षण गर्नुपर्छ । लोप हुन थालेका संस्कृतिको अभ्यासमा निरन्तरताको लागि समुदायलाई तालिम र शिक्षा दिएर सँस्कृति अभ्यासमा सघाउनु पर्छ । पर्यटन उद्योगमा प्रयोग हुने उत्पादन, सेवा सत्कार, कलाकृति, कोशेली, आवास जस्ता कुराहरूमा स्थानीय सँस्कृतिलाई प्राथमिकतामा राख्ने कुरामा पर्यटन ब्यवसायीहरू सहमत हुनुपर्छ । हाम्रो शिक्षा प्रणालीले अभौतिक साँस्कृतिक सम्पदा नष्ट गर्न भूमिका खेलिरहेको छ । कम्तिमा पनि हरेक पालिकाका स्थानीय पाठ्यक्रममा स्थानीय भौतिक र अभौतिक सम्पदाको बारेमा सिकाउने मुख्य विषयवस्तुहरू समावेश गर्नुपर्छ । यस्ता कामहरू गर्न सकेमा मात्र हाम्रा भौतिक, अभौतिक सम्पदाहरूको निरन्तर अभ्यास, संरक्षण र व्यवसायिक लाभ लिन सम्भव हुनेछ ।