© २०२३
सुर्खेत,४ असार । वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो मेयर हटलाइन’ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले प्रवाह गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि उक्त सेवा प्रारम्भ गरिएको हो । उक्त सेवाका माध्यमबाट नगरबासीहरुको गुनासो, सुझाव र प्रश्नहरु ग्रहण गरिनेछ । हटलाइनमार्फत नागरिकबाट आएका सुझावका आधारमा सेवा प्रवाहलाइ थप विस्तार गरिनेछ ।
यस सेवामार्फत नगरबासीहरुले अब निःशुल्क रुपमा टोल फ्री नम्वर १८०५०००२५२ मा सम्पर्क गरेर सिधै कुराकानी गर्न सक्नेछन् । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले पालिकाबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी बनाउनको लागि हटलाइन सेवा प्रारम्भ गरिएको जानकारी दिइन् । यसले सेवा सुविधा अझै मजबुत हुने उनको भनाई छ । उनले तत्कालै फोनमार्फत गुनासो सुन्ने र यसपछि मोबाइल एपबाट पनि गुनासो तथा सुझाव राख्न पाउने व्यवस्था गरिने जनाइन् ।
ढकालका अनुसार जनप्रतिनिधि र नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्नका लागि हटलाइन सेवा प्रारम्भ गरिएको हो । हटलाइन सेवामा सम्पर्क गर्न बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्ममा आफ्ना गुनासो या सुझाव राख्नुपर्नेछ । यसरी हटलाईन सेवामा गुनासा प्राप्त भएको २४ घण्टाभित्रै प्रारम्भिक जानकारी तथा आवश्यक कार्य अगाडी बढाइनेछ ।