© २०२३
बुटवल ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दिनहुँ भइरहने सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु रोक्न सहकार्य आवश्यक रहेको बताएका छन्। युवाहरूका लागि सुरक्षित सडक प्रयोग सम्बन्धी अन्तरक्रियामा बोल्दै पाण्डेले सडक दुर्घटनाका कारण कसैको पनि अकालमा ज्यान जान नदिनका लागि सचेतना जरुरी रहेको बताए।
सडकमा लापरबाही बढेको छ युवा पुस्ताले सडकमै ज्यान गुमाएको छ त्यसलाई रोक्न सबैले चासो लिन जरुरी छ पाण्डेले भने। पाण्डेले बुटवलका सडकहरू पैदल यात्री र साइकल यात्रीका लागि सहज हुने गरी निर्माण गर्ने कुरामा बुटवल उपमहानगर गम्भीर रहेको बताउँदै त्यसका लागि अहिले बनिरहेका सडकहरूको डिजाइन गर्दा नै त्यस तर्फ ध्यान दिएको बताए।
उनले बुटवलले दुई वटा ठुला राजमार्गका कारण आफ्ना मात्रै होइन देशभरिका आव जात गर्ने सवारी साधनहरूको समेत जबाफदेही बन्नु परेको बताए। हामी सहरी सडक मात्रै होइन अन्यत्रबाट आउने सवारी साधनले बनाउने अस्तव्यस्त सहर समेत व्यवस्थापन गर्ने जिम्मेवारीमा छौँ त्यसका लागि चालक र ब्यवसायीहरुको समेत सचेतना जरुरी छ पाण्डेले भने।
बुटवल उपमहानगर यातायात ब्यवसायीहरुको सहर भएको उल्लेख गर्दै बुटवलको यातायात व्यवस्थापनमा व्यवसायीहरूले समेत सघाउनु पर्ने बताए। बुटवल उपमहानगरपालिका र सुरक्षित यात्रा अभियान नेपालले आयोजना रोटरी क्लब अफ क्यापिटल बुटवल, रोटरी क्लब अफ तिनाउ बुटवल, नेपाल ईन्जिनियर्स एसोसिएसन, तथा ईन्सुरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको कार्यक्रममा नासा फाउन्डेसनका महासचिव एवं रोडसेफ्टी अडिटर गोबिन्द भटराईले सडकमा हुने अकाल मृत्युलाई कम गर्न सबै सचेत हुन जरुरी रहेको बताए। उनले आफ्नै लापरबाहीका कारण युवाहरूको ज्यान गई रहेको बताउँदै सडकमा ज्यान ज्यान क्रमलाई नरोक्ने हो भने नेपालले विकराल समस्याको सामना गर्नु पर्ने अवस्था रहेको बताए।
सडक सुरक्षा अभियन्ता एवं अवकाश प्राप्त डिएसपी विपिन गौतमले सडक सवारी साधनको भएको बताउँदै पछिल्लो समय सडकले दुर्घटना स्थलको परिचय बनाएको बताए। उनले सडकमा हुने मृत्यु रोक्ने उपाए भनेका सावधानी मात्रै भएको बताए।
रोटरी क्लब अफ क्यापिटल बुटवलका अध्यक्ष विजय खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख मित्रबन्धु शर्माले ट्राफिक प्रहरीको एक्लो प्रयासले यातायात व्यवस्थापन सम्भव नहुने बताउँदै ट्राफिक व्यवस्थापनमा समुदायबाट अपेक्षा राखेको बताए। कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, ईन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष इन्जिनियर महेश्वर लम्साल, ईन्सुरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टर अध्यक्ष बिश्वदिपक नेपाल लगायतले सहजीकरण गरेका थिए।