© २०२३
चन्द्रौटा कपिलवस्तु, ४ असार ।
कपिलवस्तुको शिवराज नगरपालिकामा भएको ढकिया बनाउने तालिमले महिला आत्मनिर्भर हुने बताएका छन् । वडा नम्बर ५ मा भएको २० दिने तालिमपछि उनीहरु स्थानीय स्रोत साधनको प्रयोग गरेर ढकिया बुन्ने सीपले आत्मनिर्भर हुने भएको सहभागी पुनम थारु बताउँछिन् ।
शिवराज नगरपालिकाकी उपप्रमुख थारूले महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउँदै समाज रूपान्तरणको प्रेरक पात्र बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने बताईन् । स्थानीय स्रोत र साधनको सही उपयोगले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन सकिने उनको भनाइ छ । सीपले स्थानीयहरूलाई प्रत्यक्ष लाभ मिल्ने बताउँदै सीपसँगै स्वरोजगार बन्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै वडा अध्यक्ष बेल्वासेले स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै महिलाहरूलाई आयमूलक कार्यमा संलग्न गराउने यस्ता तालिमको आवश्यकता रहेको बताए ।
थारु कल्याणकारीणी सभा शिवराज नगर कार्य समितिको आयोजना र वडा नम्बर ५ को सहयोगमा भएको २० दिने तालिमले स्थाीय महिलाहरुलाई रोजगारीको पाटोसँग जोड्ने नगर सभापति प्रकाश चौधरी (थारु) ले बताए । यस्ता खालका तालिमले फुसर्दमा बसेका बिशेषगरी थारु समुदायलाई अति उपयोगी बनेको समेत उनले जिकिर गर्दै भनेः “परम्परागत सीपलाई यतिबेला व्यवसायिक रुपमा ल्याएर आम्दानी र रोजगारीसँग जोड्ने प्रयास गरेका छौँ ।”
स्थानीय अगुवा सदस्य प्रेम सुनार, खगि सुनार, वडा सदस्य सिता रेग्मी, मानव अधिकार प्रतिष्ठानका जिल्ला सभापति विष्णुप्रसाद खतिवडा लगायतले थारु समुदायको कला र सीपको प्रशंसा गरे ।