© २०२३
बुटवल, ४ असार । बुटवलमा जारी उजिरसिह रनिङशिल्ड टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२ मा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा बुधबार भएको खेलमा गोलपार्कले बुटवल ईलाभेन क्रिकेट क्लबलाई १ बिकेटले पराजित गरेको हो ।
नरेनापुर खेलमैदानमा टस जितेर बुटवल ईलाभेनले ब्याटिङ रोज्दै २० ओभरमा ८ बिकेटको नोक्सानीमा १३६ रन बनायो । उसका लागि ओपनर सुमन पाण्डेले ४४ बलमा ४३ तथा युवराज सेनले १७ बलमा ३१ रनको योगदान दिए । गोलपार्कका सजन खनाल, सन्देश पन्थी र आशुतोष भोगटीले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको गोलपार्क २० ओभरमा ९ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । गोलपार्कको जितमा सन्देश पन्थी नायक रहे । उनले ब्याटिङतर्फ अर्धशतक पुरा गर्नुको साथै बलिङमा २ बिकेट लिएर अलराउण्डर खेल प्रदर्शन गरे । खेलमा उनले ५८ बलमा ५९ रन बनाए । बिकल अधिकारीले २८ रन जोडे । बुटवल ईलाभेनका विपिन भट्टराई र शिव कुमार मौर्यले समान ३–३ तथा सुमन पाण्डेले २ बिकेट लिए । खेलमा गोलपार्कका सन्देश पन्थी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
असार ७ गतेसम्म चल्ने प्रतियोगितामा न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी रहेको छ । गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको थियो ।