© २०२३
गुल्मी, ४ असार ।
पहिरोका कारण सोमबार अपरान्हदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आंसिक रुपमा सडकको पहिरो हटाएपछि मंगलबार बेलुकीबाट उक्त सडक एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अघिकारीले जानकारी दिएका छन ।
कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मी खण्ड स्थित कालीगण्डकी गाउँपालिका –६ को बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडक माथिबाट चट्टान सहितको सुख्खा पहिरो खसेपछि उक्त सडक ३६ घण्टा भन्दा बढीसमय पुर्णरूपमा अवरुद्ध बनेको थियो ।
सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सन प्रालीले डोजर र एक्साभेटरको माध्यमबाट सडक छेउको पहिरो पन्छाएपछि एकतर्फी रुपमा भएपनि सडक सुचारु गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताएका छन । सडक माथिबाट ठूलो चट्टान सहितको पहाड खसेका कारण सडक पुर्णरुपमा सञ्चालनमा आउन एक महिना भन्दा बढी समय लाग्ने अध्यक्ष थापाले बताए ।
सडक अवरुद्ध बनेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरिक्षक देव बहादुर भुजेलको नेतृत्वमा सडक सुचारु गर्नका लागि पहिरो ग्रस्त क्षेत्रमा टोली परिचालन गरेको थियो । सडक आंसिक रुपमा सुचारु भएपछि त्यस क्षेत्रमा रोकिएका सवारी साधनहरु गए रातिदेखि गन्तव्यमा लागेका छन ।