सल्यान, ३ असार ।
गत शुक्रबारदेखि बेपत्ता भएका कपुरकोट गाउँपालिका वडा नम्बर ४ धनबाङ निवासी सुरेन्द्र वलीको अवस्था अझै पत्ता लाग्न नसकेपछि पछि परिवार, आफन्त र स्थानीयवासी चिन्तित बनेका छन् । ३५ वर्षीय सुरेन्द्र वली जेठ ३० गतेदेखि सम्पर्कविहिन भएको उहाँको परिवारले जानकारी दिएको छ ।
घरको मुल मान्छे हराएपछि आफुहरुलाई धेरै चिन्ता र पिरले सताइरहेको भन्दै श्रीमति मिना वलीले श्रीमानको खोजीका लागि सबैसंग अनुनय गरेकी छिन । उनले भनिन् , “मेरो श्रीमान केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो, डाक्टरको सल्लाहमा औषधी खाँदै घरमै आराम गरिरहनुभएको थियो । एकाएक घरबाट निस्कनुभयो, त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ ।”
सम्भावित आफन्तको घरमा सोधीजोजी गरिएको तथा वनजंगलतिर पनि खोजी गरेको भएपनि बेपत्ता भएका सुरेन्द्रलाई फेला पार्न नसकिएको परिवारको भनाई छ । दाजु नाता पर्ने रमेश डाँगीले भने, “घरबाट दाङ जान्छु भनेर निस्किनुभएको थियो, तर उहाँ कहाँ जानुभयो, के भयो भन्ने कुनै जानकारी छैन ।”
कपुरकोट–४ का वडा अध्यक्ष मित्र कठायतले वलीको अवस्था र पृष्ठभूमिका कारण परिवारजन झनै चिन्तित रहेको जानकारी दिए । “उहाँ शारीरिक रूपमा कमजोर अवस्थामा हुनुहुन्थ्यो,” कठायतले भने, “त्यसैले हामी सबै चिन्तित छौं ।” उनले परिवारका सदस्यहरू, छरछिमेक, स्थानीयबासी र प्रहरी प्रशासनले संयुक्त रूपमा विभिन्न सम्भावित स्थानहरूमा खोजतलास गरिरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाए ।
सुरेन्द्रलाई देख्ने वा सम्बन्धित जानकारी भएका जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहुन वा मोबाइल नम्बर ९७४२२५३१६०, ९८४७९०७२४७ र ९७६९७३६०८५ नम्बरमा सम्पर्क गरिदिन परिवारजनको अनुरोध छ ।