© २०२३
गुल्मी, ०४ असार ।
गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई प्याकेजिङ्ग र ब्राण्डीङ्ग गरी बजारमा ल्याइएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्गका कृषक मेघनाथ अर्यालले अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ्ग उद्योग मार्फत धुर्कोटे स्थानीय चामल व्यावसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याएका हुन ।
अर्यालले स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरी बजारीकरण गर्ने उद्देश्यले आफूले उत्पादन गरेको चामललाई ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ्ग गरी पहिलो पटक बजारमा पठाइएको बताए । उनले प्रशोधन गरेको चामललाई २५/२५ किलोको अलगअलग बोरा बनाएर प्याकिङ गरिएको छ । उक्त २५ किलोको बोरालाई दुई हजार पाँच सय मूल्य निर्धारण गरिएको छ ।
धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा उद्योग स्थापना गरी चामल उत्पादन गर्न थालिएको हो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच ‘धुर्कोटे चामल’ को शुभारम्भ गरेका हुन ।
गाउँपालिका अध्यक्ष पोख्रेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामल खानको लागि मिठो र स्वादिलो भएका कारण बजारमा यसको माग धेरै हुने बताएका छन् । यसका लागि पालिकाबाट आगामी दिनमा यसको बजारीकरण, प्रविधि तथा ढुवानी लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कृषक अर्यालले कृषि र पशुपालन क्षेत्रमा करोडौँ रुपैयाँ लगानी गरेर कृषि कर्मलाई निरन्तरता दिएको भन्दै पालिकाद्वारा उनलाई ६७ हजार नगद सहित यस वर्षको उत्कृष्ट कृषक सम्मान पुरस्कारद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गाउँ खाली हुन लाग्दा पनि सहरको सुख सयल जीवनलाई छोडेर गाउँमै फर्किएर अर्यालले गरेको कर्मबाट हामी सबैले पाठ सिक्नुपर्ने बताए ।
उनले उत्पादनलाई आम्दानीसँग जोड्नका लागि उद्योगले ठुलो सहयोग पुराउने विश्वास व्यक्त गरे । उत्पादित चामललाई नापतौल तथा गुणस्तर विभागबाट आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी बजारमा पठाइएको कृषक एवं उद्योगका सञ्चालक मेघनाथ अर्यालले जानकारी दिएका छन् । अर्यालले गत मङ्सिर महिनामा एक्लैले ४ सय मुरी धान उत्पादन गरेर जताततै चर्चित बनेका थिए । उनले एक सय १२ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन् ।