© २०२३
बुटवल, ०३ असार ।
ऐतिहासिक भूमि सुस्ताको रक्षा र सम्मानका लागि सञ्चालित ‘सुस्ता बचाउने अभियान’ आम नेपालीको साथ सहयोगकै कारण निरन्तरता पाएको अभियन्ता आदम खानले दाबी गरेका छन् । बुटवलका अगुवा समाजसेवी, शैक्षिक, बुद्धिजीवीहरूसँग सोमबार गरिएको अन्तर्क्रिया कार्यक्रममा अभियानका अध्यक्ष समेत रहेका आदम खानले ऐतिहासिक भूमि सुस्तामा बसोबास गर्दै आएका नेपालीहरूको दशकौँदेखि पिर मर्का भोग्दै आएको उल्लेख गरे ।
नेपाल राज्यको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले समेत विभिन्न कालखण्डमा सुस्तालाई संरक्षण गर्न प्रयास गरे पनि भारतको अतिक्रमण अझै नरोकिएको भन्दै अभियान राष्ट्रियताको विषयमा आम नागरिकमा चेतना जगाउन भने सफल भएको उनको दाबी छ । सुस्ताको इतिहासबारे जानकारी दिँदै अध्यक्ष खानले भने, “राजा महेन्द्रले सुस्तालाई बिर्ता स्वरूप बडागुरु महाराजलाई दिएका थिए । पछि २०१८ सालमा राजदरबारका राम बहादुर क्षेत्रीले पत्राचारमार्फत त्यहाँको बारेमा अवगत गराएका थिए ।”
विसं २०२७ सालमा नाप नक्साका लागि गएका कर्मचारीलाई मुद्दा लागेर एक वर्षसम्म थुनामा बस्नुपरेको, २०३४ सालमा आएको बाढीले सुस्ता मरुभूमिमा परिणत गरेको र २०३६ मा स्थानीयवासी मोक्ष धाम क्षेत्रमा बसोबास गर्न पुगेको ऐतिहासिक प्रसङ्ग पनि उनले स्मरण गराए । अध्यक्ष खानका अनुसार हाल १४ हजार हेक्टर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ, भने १९ हजार ४ सय हेक्टर भूमिमाथि भारतले विवाद सिर्जना गरेको छ । यसैबिच “२८ फागुनमा उखु रोप्ने बेला भारतीय एसएसबी फोर्स आएर कुटपिट र अपहरण प्रयास गरे, स्थानीयको प्रतिकारपछि उनीहरू फर्किए,” उनले बताए । हाल भारत सरकारले सो घटनासँग सम्बन्धित १४ जना नेपालीमाथि मुद्दा चलाएको उनको दुखेसो छ ।
सुस्तामा विकास निर्माण कार्य ढिलाइ भएकोप्रति अध्यक्ष खानले आक्रोश व्यक्त गरे । सडक, पुल, शिक्षा जस्ता आधारभूत कार्य ढिलाइ भएको भन्दै नेपाली सेनाको अग्रसरतामा नमुना पुस्तकालयको निर्माण भएको बताए । योजनागत ढिलासुस्ती, मापन त्रुटि र राजनीतिक इच्छाशक्तिको अभावले सुस्ताको विकास अवरुद्ध भएको उनले बताए । “पुल सर्भे गर्दा समेतमा सही ढङ्गबाट हुन नसक्दा केही त्रुटि देखिएको छ ।” पुलको १५७५ मिटर छ । वर्षामा डुगा हुँदै पुलमा जानुपर्ने अवस्था आएको उनले बताए ।
सुस्तावासीको मूल समस्या भनेकै भूमि स्वामित्व र नागरिकताको हो । “हामीले नेपालको भूमि जोगाउन छाती थापेका छौँ, तर हामीसँग नागरिकता छैन,” उनले दुखेसो गरे । सुस्ताको नाप नक्सा आवश्यक रहेको, नागरिकताको अभावले आधारभूत सेवाबाट वञ्चित गराएको उनले बताए ।कार्यक्रममा कालिका कलेजका प्राचार्य घनश्याम पाठकले राज्य सत्ता र नेतृत्वमा रहेका दलले आफ्नो भूमिका निर्वाह नगरेको बताए । “वैकल्पिक शक्तिका रूपमा निरन्तर सहयोग गर्न तयार छौँ,” उनले प्रतिबद्धता जनाए ।
त्यस्तै, दीप बोर्डिङ स्कुलका प्राचार्य टिकाराम न्यौपानेले विश्वभरका सबै ऐतिहासिक आन्दोलनहरू व्यक्तिको पहलबाट सुरु भएको उल्लेख गर्दै अभियानलाई अडियो–भिडियोको माध्यमबाट प्रवर्द्धन गर्न सुझाव दिए । कार्यक्रममा शंकरनगर वनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे, डा. नेत्र रानाले आ–आफ्नो धारणा राख्दै अभियानमा ऐक्यबद्धता जनाए । विद्यालयका छात्रछात्राहरूलाई लक्षित गरी राष्ट्रियता, वीर पुर्खाको योगदान र युवाको भूमिका विषय वृहत् अन्तरक्रिया कार्तिकमा गर्न लागेको अभियानका युवा संयोजक योगेन्द्र गौतमले बताए ।