© २०२३
चन्द्रौटा, ०३ असार ।
जिल्लाको सुदूरपश्चिम पर्ने विजयनगर गाउँपालिकाको बिहान अब पहिला जस्तो रहँदैन । सडक छेउमा खुला फोहोरका थुप्रोहरू, बिनासंयम बाँधिएका पशु चौपाया र सार्वजनिक स्थानमा दुर्गन्धित ढल अब क्रमशः हराउँदै छन् । एक सामान्य गाउँ अब पूर्ण सरसफाइ युक्त गाउँपालिका बन्ने यात्राको क्रममा छ । यो परिवर्तनको पछाडि छ–विजयनगर गाउँपालिकाले सुरु गरेको ‘सचेत नागरिक परिचय–पत्र’ कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्न थालेको सक्रिय कारबाही अभियान ।
गाउँपालिकाले अधिकांशको घरधुरीमा ‘सचेत नागरिक परिचय–पत्र’ वितरण गरेको छ । जसमा ७ वटा सरसफाइसम्बन्धी प्रतिबद्धता उल्लेख छन् । “हामीले सोचेका थियौँ, पत्रमा हस्ताक्षर गरेर मात्रै पुग्छ । तर पालिकाले गम्भीरता देखायो ।” स्थानीय लक्ष्मण परियार बताउँछन् । यस प्रतिबद्धता उल्लङ्घन गर्ने माथि पालिकाले कारबाही थालेको छ । नाली र बाटो अवरोध गर्ने, सार्वजनिक स्थानमा फोहोर गर्ने, शौचालय प्रयोग नगर्ने लगायतका कारणले ५५ जनालाई जरिवाना गरिएको छ ।
“हाम्रो परिवार हाम्रो शान, विजयनगरको सभ्य पहिचान” भन्ने नाराका साथ जिल्लाको गाउँपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । अभियानलाई तीव्रता दिँदै अभियान असफल बनाउने नागरिकलाई कारबाही थालेको छ । नाली, सडक अवरोध गर्ने, बाटोमा फोहोर गर्ने, बाटोमा पशु चौपाया बाँध्ने र शौचालय प्रयोग नगर्ने जस्ता कार्य गर्ने नागरिकहरूलाई कारबाही गरिएको हो ।
वास संयोजक अर्जुन बेल्बासेले नाली, सडक अवरोध गर्ने, बाटोमा फोहोर गर्ने, पानी जाम गर्ने, बाटोमा पशु चौपाया बाँध्ने, शौचालय प्रयोग नगर्ने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । स्थानीयलाई पटक–पटक जानकारी गराउँदा पनि अटेरी गर्ने व्यक्तिलाई गाउँपालिकाको खानेपानी तथा सरसफाइ कार्यान्वयन कार्यविधि अनुसार जरिवाना गरिएको उनले बताए । अनुगमनको क्रममा ५५ जना जना व्यक्तिलाई जरिवाना गरी कारबाही गरिएको उनले बताए । १ लाख १३ हजारको जरिवाना काटिएको वास संयोजक बेल्बासेको भनाइ छ ।
संयोजक बेल्बासे भन्छन् –“हामी सजाय मात्र दिन चाहँदैनौँ, चेतना दिन चाहन्छौँ । पटक–पटक सम्झाउँछौँ, चेताउँछौँ । अटेरी गरेपछि मात्रै जरिवाना हुन्छ ।” यो अभियानअन्तर्गत २ हजारदेखि ५ हजार रुपैयाँसम्मको जरिवानाबाट हालसम्म रु. १ लाख १३ हजार सङ्कलन भएको छ । तर यो केवल आर्थिक कारबाही होइन, सामाजिक सन्देश पनि हो—सफा गाउँ बनाउनु हामी सबैको जिम्मेवारी समेत रहेको उनको भनाइ छ ।
“बाटोमा गाईबस्तु बाँधेर अवरोध हुने गरेको थियो । घर आँगन वरिपरि सरसफाइ थिएनन् । शौचालय निर्माण गरेर काठ दाउरा, भुष लगायत अन्य सामग्री राख्ने गरिन्थ्यो । तर अब भने गाउँघर सफा सुग्घर र शौचालय प्रयोग हुन थालेका छन् ।” विजयनगर गाउँपालिका–६, का स्थानीय टोप बहादुर थापाले भने । उनले मुस्कुराउँदै थपे “गाउँपालिकाले चलाएको सरसफाइ अभियान सकारात्मक छ । वातावरण हराभरा बनौँ । सरसफाइ हाम्रै लागि हो, त्यसैले अभियानमा हातेमालो गर्नुपर्छ ।”
गाउँपालिका अध्यक्षका गोपाल बहादुर थापाले विजयनगरलाई गाउँ टोल नमुना सरसफाइ युक्त गाउँपालिका बनाउने योजना रहेको बताए । सरसफाइ केवल सफा सडकको कुरा होइन, यो स्वास्थ्य, संस्कार र सशक्त समाजको आधार समेत रहेको अध्यक्षको भनाइ छ । गाउँपालिकाले ‘सचेत नागरिक परिचय–पत्र’ को प्रतिबद्धता लागु गरेको थापाले बताए । अध्यक्ष थापाका अनुसार पूर्ण सरसफाइ उन्मुख पालिका अभियानमा लागेको छ । गाउँपालिकाले जारी गरेको सचेत नागरिक परिचय–पत्रको ७ बुँदे प्रतिबद्धतालाई पूर्ण रूपमा कार्यान्वयनमा जोड दिएको छ । सरसफाइ एउटा अभियान मात्र नभई, जीवनशैली पनि बन्ने सङ्केत अहिले विजयनगरमा देखिन थालेको छ ।