© २०२३
पाल्पा, ३ असार ।
पाल्पा पूर्व खोला गाउँपालिका वडा नं. ५ वीरकोटबाट रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप जिप आइतबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी धनी जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नंं १ गाप्टुङ घर भई हाल बुटवल उप–महानगरपालिका वडा नं. ११ मझुवा बस्ने ४६ वर्षका विनोद ढुङ्गाना र बुटवल उपमहानगरपालिका ११ कै ४८ वर्षीय रेसम सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक एव सूचना अधिकारी सुनिल मल्लले बताए ।
बलेरो जिपमा रहेका ३ जना घाइते अवस्थाबाट प्रहरी र स्थानीयवासीले उद्धार गरी लुम्बिनी मेडीकल कलेज प्रभास र मिसन अस्पताल तानसेनमा ल्याई चेकजाँच गर्दा दुई जनालाई डाक्टरले मृत घोषणा गरेका थिए । घाइते सवारी धनी ढुङ्गानालाई लुम्बिनी मेडिकल कलेज र सुनारलाई मिसन अस्पतालमा उपचारको लागी पुर्याएको थियो ।
जिप चालक बुटवल उपमहानगर पालिका वडा नंं ११ का ३० वर्षीय राजु खड्काको अवस्था गंभिर रहेको निजको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । अण्डा बोकेको जिप चिप्लिएर अचानक सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।