© २०२३
काठमाडौं ।
स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । ग्लासग्लोमा आयोजना हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । नेपालले प्रतियोगितामा पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो, जहाँ तेस्रो सुपर ओभरसम्म पुगेको रोचक प्रतिस्पर्धामा पराजित भएको थियो । यो खेल नेपालका लागि टी-२०आई इतिहासको १००औं खेल पनि रह्यो । उक्त खेलमा किरण ठगुन्ना र रुपेश सिंहले टी-२०आई मा डेब्यू गरे ।
स्कटल्याण्डसँग नेपालले सन् २०१३ को टी-२० विश्वकप छनोटपछि पहिलोपटक टी-२० क्रिकेट खेल्न लागेको हो । त्यस खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । तर, त्यतिबेला टी-२०आई मान्यता नभएकाले आजको खेल दुई टिमबीचको पहिलो औपचारिक टी-२०आई खेल बन्नेछ । स्कटल्याण्डबाट माइकल लिस्क र सफिया शरिफ २०१३ को खेलपछि अहिलेको टोलीमा पुनः रहेका छन् । तर, रिची बेरिङटन भने यो टी-२० शृंखलामा टिममा छैनन् ।
स्कटल्याण्डले प्रतियोगिताको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै राम्रो सुरुआत गरिसकेको छ । अब नेपालसँगको भिडन्तमा घरेलु टोली आत्मविश्वासका साथ उत्रिनेछ भने नेपाल पहिलो जितको खोजीमा रहनेछ ।