Butwal Today

सभामुखले अवरोध बेवास्ता गरेपछि वेल घेरेर उत्रिए रास्वपा सांसद

२ असार २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि वेल घेराउ गर्दै नाराबाजी गरेका छन्।

सभामुख घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए। सभामुखले त्यसक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै, आफूहरू बैठक बहिष्कार गर्ने र त्यस दिनको बैठक भत्ता नलिने चेतावनीसमेत दिए।

त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई पनि सभामुखले बोल्न समय दिए। परियारले पनि संसद जबर्जस्ती चलाउनु नहुने भन्दै बैठक रोक्न माग गरे। तर सभामुख घिमिरेले आग्रह अस्वीकार गर्दै बैठक अघि बढाएका छन्।

उनले बजेटमाथिको छलफलका लागि नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएपछि रास्वपाका सांसदहरू वेल घेरी नाराबाजीमा उत्रिएका हुन्। ‘गृहमन्त्रीको राजीनामा चाहिन्छ’, ‘मानव तस्करी बन्द गर’ जस्ता नारासहित सांसदहरू आन्दोलित बनेका छन्।

विरोधका स्वर तीव्र भइरहँदा सभामुखको अडान यथावत् छ भने, प्रतिपक्षी दलहरू संसद भित्रै दबाबमूलक रणनीतिमा देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?