© २०२३
चन्द्रौटा, ०२ असार ।
मानव बेचबिखन तथा ओसारपसार, लैङ्गिक हिंसा र यौन दुर्व्यवहार विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजना र शिवराज नगरपालिका वडा नम्बर–१ को सहयोगमा शिवपुरमा कार्यक्रम गरिएको हो । मानव तस्करहरू प्रलोभन देखाउँछन्, आम नागरिक विश्वासमा परेर पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको अगुवाहरू बताउँछन् ।
शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले कार्यक्रमलाई सम्बोधन गर्दै मानव तस्करी न्यूनीकरणमा स्थानीय तहको भूमिकाका साथै समुदाय स्तरमै सतर्कता आवश्यक रहेको बत्ताइन् । पछिल्लो समय शिवराज नगरपालिका चन्द्रौटा ट्रान्जिट हबको रूपमा चिनिएको शिवराजमा मानव बेचबिखनका घटना न्यूनीकरण गर्न सबैको सहकार्य हुनुपर्ने उनले जोड्दिइन ।
विशेष गरी ग्रामीण भेगका महिला चेलीबेटी तथा पुरुषहरू मानव बेचबिखनमा पर्ने गरेको गृहका राष्ट्रिय उद्धार संयोजक भुमिराज भट्टराईले बताए । संयोजक भट्टराईले शिवराज नगरपालिका पछिल्लो समय ट्रान्जिट हबको रूपमा चिनिँदै गएको बताए । मानव बेचबिखनको चक्रव्यूहमा परेका धेरै पीडितहरूको उद्धार अनुभव बाँड्दै भने, “अज्ञात व्यक्तिको प्रलोभन, विदेशमा राम्रो काम र राम्रो कमाइको सपना देखाइने काम नै बेचबिखनको मुख्य बाटो हो । त्यसैले यस्ता भ्रममा नपर्नु अत्यावश्यक छ ।”
यसैबिच प्रशिक्षक रुकैया खातुनले विशेष गरी ग्रामीण क्षेत्रका महिला, किशोरी तथा युवाहरू मानव तस्करीमा परिरहेका उल्लेख गरिन् । सचेतना, शिक्षा र समुचित जानकारीले मात्र यस्तो अपराध न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । रोजगारी तथा आर्थिक प्रलोभनमा युवाहरू मानव बेचबिखनमा फस्ने गरेको बताउँदै यस्ता घटनाबाट सतर्क उनले आग्रह समेत गरिन् ।
बिहीबार भएको कार्यक्रममा गृहका जिल्ला संयोजक डिल्लीराज (दिनेश) तिमिल्सिनाले ४३ जना स्थानीयको सक्रिय सहभागिता रहेको जनाए । उनका अनुसार स्थानीय समुदाय नै पहिलो सुरक्षा घेरा हो । जबसम्म समुदाय सतर्क हुँदैन । तबसम्म मानव बेचबिखनजस्ता अपराध अन्त्य गर्न सकिँदैन । स्थानीय तह र नागरिक समाज मिलेर अघि बढे मात्रै यो समस्यालाई समाधान गर्न सकिन्छ ।
सहभागी स्थानीय महिला करिस्मा खनालले भनिन्: “हामी जस्ता गाउँघरका महिलालाई यस्ता कार्यक्रमले धेरै कुराको ज्ञान दिन्छ । कसरी तस्करहरू प्रलोभन देखाउँछन् र कसरी जोगिन सकिन्छ भन्ने कुरा बुझ्न पाइयो ।” मानव बेचबिखन तथा यौन दुर्व्यवहार सम्बन्धी जानकारीमूलक प्रस्तुति, सामूहिक छलफल तथा पीडितको कथा समेत प्रस्तुति रहेको परामर्शदाता सुमित्रा भण्डारीले जनाइन् ।