© २०२३
काठमाडौँ ।
भारतीय पक्षले दार्चुलास्थित महाकाली पुलको बाटो बन्द गरेको छ। यसको कारण एकजना भारतीय नागरिकको हत्या प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्य रहेको बताइएको छ।
दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला बीचको आवागमन सोमबार बिहानदेखि बन्द भएको थियो जसका कारण स्थानीयहरूले महाकाली नदीनजिकै वारिपारी गर्न सकेनन्।
तर, सोही दिन अपरान्हपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बाटो सुचारु भएको जानकारी दिएका छन्।
धार्चुलामा भारतीय नागरिक कमलेश दानुलाई जुलाई ७ गते चक्कु प्रहार गरी हत्या गरिएको थियो।
यस घटनामा संलग्न दुई जनाको भागेर नेपालतर्फ आएको आशंकाका कारण भारतीय पक्षले दबाब स्वरूप महाकाली पुलबाट आवागमन अवरुद्ध गरेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, नेपाल आएका भनिएका आरोपीको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला परेका छैनन्।