Butwal Today

झापा, रुपन्देही, काठमाडौं मात्रै देश हो र? ज्वालाको संसदमा प्रश्न

२ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ असार ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बजेट मन्त्री, आसेपासे र बिचौलियाको कब्जामा परेको गम्भीर आरोप लगाएका हुन्।

ज्वालाले विशेषतः सहरी विकास मन्त्रालयको बजेट मन्त्रीहरूले एकलौटी रूपमा बाँडेको भन्दै आलोचना गरे। “मन्त्री र तिनका मातापिता, पार्टी कार्यालय निर्माणका नाममा अर्बौं बजेट छुट्याइएको छ,” उनले भने, “तर दुर्गम जिल्लामा आधारभूत आवश्यकताको बजेट छैन। स्वास्थ्यचौकी, खानेपानीजस्ता सेवाबाट जनता बञ्चित छन्।”

पूर्वमन्त्रीसमेत रहेका ज्वालाले बजेट निर्माणमा राष्ट्रिय योजना आयोगको मापदण्ड नै तोडिएको आरोप लगाए। “केन्द्रमा तीन करोडभन्दा माथिका योजनामा मात्रै बजेट दिने भन्ने निर्देशना विपरीत छरपस्ट ढंगले बजेट बाँडिएको छ,” उनले भने, “बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ।”

प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका प्रभावशाली नेताहरूको जिल्लामा मात्र बजेट केन्द्रित भएको आरोप लगाउँदै उनले प्रश्न गरे, “के देश झापा, रुपन्देही र काठमाडौं मात्र हो? यही हो बजेटमा सुशासन? बजेटको दुरुपयोगको यो भन्दा नांगो नमूना अरु के हुन सक्छ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?