© 2026
काठमाडौं, २ असार ।
सोमबारको सेयर बजारमा करिब साढे तीन महिनायता सर्वाधिक कारोबार देखिएको छ। फागुन १९ यता पहिलोपटक बजारमा १३ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको हो। आज कुल १३ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको ११ अर्ब ४४ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।
कारोबार रकम उच्च भए पनि नेप्से परिसूचकको गति भने सुस्त रह्यो। सूचक जम्मा २.८० अंकले वृद्धि भई २६५८.०१ मा कायम भएको छ। बजारमा १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीकै मूल्य घटेको छ, जसले बजारको दुवैतर्फको चाप देखाएको छ।
क्षेत्रगत रूपमा हेर्दा होटल तथा पर्यटन समूह सबैभन्दा आकर्षक देखियो, जसमा ४.६९ प्रतिशतको वृद्धि भयो। त्यस्तै बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूह पनि सामान्य रूपमा हरियालीमै देखिए। तर अघिल्ला दिनमा उच्च वृद्धि गरेको हाइड्रोपावर समूहमा आज एक प्रतिशतको गिरावट आयो। फाइनान्स समूह सबैभन्दा बढी १.२२ प्रतिशतले ओरालो लाग्यो।
कम्पनीगत प्रदर्शनमा पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सोल्टी होटल, ओरियन्टल होटल, र बोटलर्स नेपाल बालाजुको मूल्यमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। त्यस्तै अपरहेवाखोला हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, सिनर्जी पावर र उन्नति सहकार्य लघुवित्तका मूल्यमा गिरावट आएको छ।
सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् कम्पनी आजका सबैभन्दा धेरै कारोबार भएका कम्पनीको सूचीमा परेका छन्।
बजारमा हाल देखिएको रकमको चापले लगानीकर्ताको सक्रियता बढेको देखिए पनि सूचकमा स्थिरता, मुनाफा बुकिङ र समूहगत उतारचढावले बजार अझै स्पष्ट दिशामा नचलेको संकेत दिएको छ।