© २०२३
नवलपरासी पश्चिम, २ असार ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेवा सञ्चालनार्थ सुरु गरिएको मृगौला पीडित बचाउ महाअभियानमा सबैले सहयोग गरिरहेका छन । व्यक्तिगत, सामूहिक र संस्थागत रुपमा उल्लेख्य रुपमा सहयोग गर्नेहरू अग्रसर भएका छन् ।
वडागत कार्यतालिका बनाएर मृगौला पीडित उपचार सेवा कार्यदलका, सहिद स्मृतिमा अस्पतालका पदाधिकारीहरूको संयुक्त टोली सक्रियताका साथ घरआँगनमै पुगेर स्वतस्फुर्त रुपमा प्राप्त सहयोग सङ्कलन गरेका हुन् । यति बेला चर्को घामको प्रवाह नगरी संयुक्त टोलीले सङ्घ सस्था, विद्यालय, सहकारी सबै क्षेत्रबाट आर्थिक सङ्कलन गरिरहेका छन् । सङ्घ सरकारबाट प्राप्त ४ थान डायलासिस सेवा सञ्चालनका लागि महा अभियानको सुरुवात गरिएको हो ।
सेवा सञ्चालन र जनशक्तिका लागि सरकारले सामुदायिक अस्पतालमा लगानी गर्न नमिल्ने भएकाले आर्थिक सङ्कलन अर्थात महाअभियान सञ्चालन गरिएको अभियानका संयोजक एवम् बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । यद्यपि नगरपालिकाबाट पनि बजेट बिनियोजन गरी मापदण्ड अनुरूप खर्च गर्नका लागि विधिगत प्रक्रिया अपनाइने श्रेष्ठले बताए ।
अस्पतालमा डायलासिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला पीडित बचाउ अभियानका लागि सहयोग रकम सङ्कलन सुरु गरिएको हो । यतिबेला सङ्घ संस्था र नागरिकस्तरबाट अभियानको प्रशंसा गर्दै सहयोगी दाताहरूबाट निरन्तर सहयोग प्राप्त भएको अस्पतालका अध्यक्ष डिबी थापाले बताए ।
महाअभियानमा विद्यालय, सहकारी, बैंक, वित्तीय सङ्घ संस्था, विभिन्न कम्पनी लगायत सबै क्रमिक रुपमा जोडिदै गएका छन् । चर्को घामको समेत प्रवाह नगरी अभियान टोली घरदैलोमै पुगेको छ ।
डायलासिस गरिरहेका बिरामीहरू यो अभियानबाट निकै खुसी देखिएका छन् । डायलासिस गर्न बुटवल भैरहवा जानु पर्ने, पालो कुर्नु पर्ने, समयको अभाव, खर्च लगायतका समस्या झेलिरहेका बिरामीहरूमा यो अभियानले नयाँ आशाको किरण छरेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले यो अभियानको परिकल्पना गरेका हुन् । महा अभियानबाट झन्डै १८ लाख बढी रकम सङ्कलन भैसकेको अस्पताल व्यवस्थापन समितका सदस्य युवराज डुम्रेले बताए ।
डायलासिस सेवा सञ्चालनका लागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको छ भने अभियानमा जोडिन सबैलाई आह्वान समेत गरिएको छ । उक्त अस्पतालमा सेवा सुरु भएपछि मूलतः सुस्ता, सरावल, प्रतापपुर र बर्दघाट लगायतका पालिका बासी सँगै समग्र जिल्लावासीले नै सहज रुपमा सेवा लिन पाउने छन ।