© २०२३
काठमाडौँ ।
रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार फेसबुकमा एक भावुक सन्देश लेख्दै सम्पर्कविहीन भएपछि उनी खोजीका लागि काठमाडौँका विभिन्न प्रहरी युनिटहरू सक्रिय भएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो, काठमाडौँ प्रहरी परिसर र अन्य निकायका टोलीहरू डा. श्रेष्ठको खोजीमा खटिएका छन्। एसएसपी रमेश बस्नेतका अनुसार, श्रेष्ठ निलो रंगको मोटरसाइकलमा सवार भएर घरबाट निस्किएको पुष्टि भएको छ। उनकाे मोबाइल फोन स्वीच भए पनि अन्तिम लोकेसन चाबहिलस्थित गोपीकृष्ण हल आसपास देखिएको थियो, त्यसैले प्रहरीले उक्त क्षेत्र केन्द्रित खोजी कार्य तीव्र बनाएको छ।
गैँडाकोट स्थायी घर भएका श्रेष्ठ हाल काठमाडौँको कपनमा बसोबास गर्दै आएका थिए। फेसबुकमार्फत लेखिएको सन्देशमा उनले परिवार, आफन्तहरूसँग माफी मागेका छन्। साथै, अस्पतालमा प्रमुख भएर इमानदार रूपमा काम गर्न खोज्दा केही व्यक्तिहरूबाट बदनाम गर्ने षड्यन्त्र भएको उल्लेख गरेका छन्।
श्रेष्ठले रामेछाप अस्पतालमा आएपछि दिनरात खटिएर अस्पताल सुधारको प्रयास गरेको र आफू प्रमुख बनेपछि ‘काम नगर्ने र ठगी गर्ने कर्मचारीहरूको भागाभाग’ भएको दाबी गरेका छन्। साथै, सरुवा भएर गएका डा. गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की आफूविरुद्ध लागेको आरोपसमेत फेसबुकमा व्यक्त गरेका छन्।
श्रेष्ठको सुरक्षित अवस्थाको पुष्टि अहिलेसम्म हुन सकेको छैन। प्रहरी टोलीहरूले उनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।