© २०२३
काठमाडौं ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सोमबार टी–२० अन्तर्राष्ट्रिय खेलमा १००औं माइलस्टोन छुन लागेको छ। नेपालले सन् २०१४ मा हङकङविरुद्ध आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै यो सफर शुरू गरेको थियो। अहिले स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँग हुने खेल नै नेपाली पुरुष क्रिकेट टोलीको १००औं अन्तर्राष्ट्रिय टी–२० खेल हुनेछ।
अहिलेसम्म नेपालले नेदरल्यान्ड्ससँग सर्वाधिक १३ पटक प्रतिस्पर्धा गरेको छ। यी १३ खेलमध्ये नेपालले ७ पटक हार व्यहोरेको छ, जुन सबैभन्दा धेरै हार हो। नेपालले कुल ९९ खेलमा मलेसियासँग १० पटक प्रतिस्पर्धा गरेको छ र मलेसियालाई ९ खेलमा हराएको छ। हङकङसँग १२, युएईसँग १० पटक तथा बंगलादेशसँग २ पटक विश्वकपमा भिडन्त भएको छ। भारत र दक्षिण अफ्रिकासँग पनि नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेलेको छ।
टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपालका ४९ खेलाडीले प्रतिनिधित्व गरेका छन्। नन्दन यादवले ४९औं टी–२० क्याप पाएका थिए। सोमपाल कामी, करण केसी र दिपेन्द्र सिंह ऐरिले समान ७८ खेल खेल्दै यो सूचिमा शीर्ष स्थान ओगटेका छन्।नेपालका कप्तान रोहित पौडेलले ६३ खेल खेलेका छन्। अमृत भट्टराई र भुवन कार्कीले भने समान एक खेल मात्र खेलेका छन्।
नेपालले खेलिसकेको ९९ टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धी राष्ट्रहरू यस प्रकार छन्: अफगानिस्तान (१), बंगलादेश (२), भारत (१), आयरल्यान्ड (३), दक्षिण अफ्रिका (१), जिम्बावे (२), भुटान (१), क्यानडा (३), हङकङ (१२), केन्या (५), कुवेत (३), मलेसिया (१०), माल्दिभ्स (३), मंगोलिया (१), नामिबिया (२), नेदरल्यान्ड्स (१३), ओमान (८), पपुवा न्यूगिनी (६), फिलिपिन्स (१), कतार (३), साउदी अरब (१), सिंगापुर (३), थाइल्याण्ड (१), यूएई (१०), र अमेरिका (३)।