काठमाडौँ ।
काठमाडौँको तीनकुनेस्थित एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरूले अष्ट्रेलियामा सर्भर राखेर करोडौँको कर छली गरेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ।

नेपाल क्यान मुभ प्रालिका शेयरधनी र सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल विरुद्ध मुद्दा दर्ता गरिएको विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्।
उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७ हजार ६० रुपैयाँ बिगो बराबरको कर छली गरेको दाबी गर्दै १०० प्रतिशत जरिवाना र एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुल गर्न माग गरिएको छ।
उप–कार्यकारी निर्देशक सङ्गम पौडेललाई मतियारको भूमिका रहेको भन्दै उनलाई अन्य आरोपितको तुलनामा आधा सजाय माग गरिएको छ।आकस्मिक निरीक्षणमा कम्पनीले अष्ट्रेलियामा राखिएको अनलाइन प्रणालीमार्फत सेवा बिक्री गरेको तर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाण फेला परेको छ।अनुसन्धानमा उनीहरूले सर्भर विदेशी राखेर कारोबार नेपालमा नदेखाई कर छली गरेको पुष्टि भएको छ।
कम्पनीले म्यानुअल बिलिङ गरी वास्तविक कारोबार लुकाएको र विभागको आग्रहमा फरार रहेका शेयरधनीहरूलाई पनि भेट्न नसकिएको जनाइएको छ।राजस्व चुहावट ऐनअनुसार उनीहरूलाई जरिवाना, बिगो रकम असुल र कैद सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ। सङ्गम पौडेललाई मतियार मानिए पनि सबै प्रतिवादीहरूबाट क्षतिपूर्ति भुक्तानी गराउने माग गरिएको छ।



