© २०२३
बुटवल, २ असार । बुटवलमा जारी उजिरसिह रनिङसिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२ मा न्यू होराईजन क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा सोमबार भएको खेलमा ईलिट जेआर क्रिकेट क्लबलाई १०६ रनले पराजित गरेको हो ।
नरेनापुर क्रिकेट खेलमैदानमा टस जितेर ईलिट जेआरले बलिङ गर्ने निर्णय गरेपछि मैदानमा प्रवेश गरेको न्यू होराईजनले १९.५ ओभरमा १८० रन बनायो । उसका लागि निश्चल ज्ञवाली र समिरजंग ठकुरीले समान ४८—४८ रन बनाए । बिपरसन केसीले ३६ तथा निर्मल गुरुङले २६ रन जोडे । ईलिट जेआरका गगन अधिकारीले ३ तथा कृष्ण पन्थीले २ बिकेट लिए । ईलिट जेआर पुरै ओभरमा ७ बिकेटको नोक्सानीमा ७२ रनमात्र जोड्न सफल भयो । ईलिट जेआरका जिमाल भट्टराईले १९, सुप्रिम बेल्बासेले १७ तथा सागर गिरीले १३ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न न्यू होराईजनका प्रिन्स पालले ३, फैजल खान र निर्मल गुरुङले समान २—२ बिकेट लिए । खेलमा न्यू होराईजनका समिरजंग ठकुरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
वर्षाका कारण सोमबार बिहानको खेल भने स्थगित भएको संयोजक तथा संघका सहसचिव आयुष बोगटीले बताए । मंगलबार बिहान पहिलो खेल बुटवल ११ र वेष्ट्रन क्रिकेट क्लब तथा दोस्रो खेल बुटवल युथ र न्यू होराईजन क्लबका बिचमा हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक तथा संघका सहसचिव आयुष बोगटीले बताए । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
असार ७ गतेसम्म चल्ने प्रतियोगितामा न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी रहेको छ । गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको थियो ।