© २०२३
पाल्पा ।
कुनै समय पाल्पाको माथागढी गाउँपालिका गोठादीका स्थानीय टुकी बलेर अँध्यारोबाट उज्यालो खोजिरहेका थिए । तर अहिले समय फेरिएको छ । आजभोलि आफ्नै गाउँमा उत्पादन भएको बिजुली उनीहरुले विद्युत प्राधिकरणलाई बिक्री गर्न थालेका छन् ।
गोठादीका स्थानीय बिजुली बत्ती बलेको देख्न रुपन्देहीको खैरेनी, बुटवल, पाल्पाको तानसेन, दमकडा नै पुग्नु पथ्र्यो । जब गाउँमा विद्युतीकरण गर्ने लहर तथा अभियान नै सुरु भयो त्यसपछिका समयमा स्थानीयले आफ्नै मेहनत, ग्रामीण आर्थिक विकास संघको व्यवस्थापन, नविकरण उर्जा कार्यक्रमको सहयोगमा झुम्साखोला जलविद्युत आयोजना सम्पन्न गरेका हुन् ।
सिंगो गाउँ नै उज्यालो हुने गरी विद्युतीकरण भएको छ । त्यसका लागि गाउँपालिका, जिल्ला समन्वय समिति, सामुदायिक वन उपभोक्ता समूह सबैको सहयोगमा ६८ किलोवाट क्षमताको विद्युत योजना सम्पन्न भयो । करोड भन्दा बढी लगानीमा स्थानीयले श्रमका पसिना बगाएर मात्र नभई प्रत्येक घरधुरीको आर्थिक अवश्था अनुसार ५ देखि १० हजार सम्म नगद संकलन गरी आयोजना सम्पन्न गरेका हुन् । योजना ६८ किलोवाटको क्षमता भएको र उत्पादन पनि त्यही अनुपातमा भएको छ । तर उत्पादित विद्युत त्यसै खेर गयो ।
गत वर्षबाट नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट ६ रुपैयाँका दरले बिक्री गर्न पाउँदा निकै खुसी लागेको आयोजकका संस्थापक अध्यक्ष रन बहादुर खाम्चा बताउँछन् ।
“आफ्नै घर अगाडिबाट कलकल गर्दै बगेको खोलाले सिंगो गाउँलाई उज्यालो बनाउला भन्ने कल्पना नै थिएन । बत्ती भनेको यहाँको लागि टुकी नै थियो । बिजुली बत्ती बलेको त यहाँबाट शहर जानेले मात्र देख्ने हो । तल स्विच दाबेपछि माथि झलमल बल्दा अचम्म लाग्थ्यो । यस्तो बत्ती हाम्रो गाउँमा कहिले आउला जस्तो हुन्थ्यो, ढिलै भए पनि आएको छ”– स्थानीय बाह्रघरेले भने ।
विद्युतीकरणका लागि प्रारम्भिक कार्य पनि झन्झटिलो नै हो । उत्पादन भयो तर उत्पादित विद्युत बढी भयो भने विद्युत प्राधिकरणका लागि बिक्रीका लागि पनि उत्तिकै झन्झटिलो छ । यस्ता विषयमा स्थानीय सरकारले हो समन्वय गर्नु पर्ने, तर स्थानीय सरकार दलगत स्वार्थ भन्दा माथि उठ्न नसकेको स्थानीयहरु बताउँछन् ।
त्यही खोलाको तल्लोभागबाट आर्केा जलविद्युत आयोजना सम्पन्न भएको छ । “सरकारको विद्युत बाल्ने भनेर बसेको भए । यतिबेला बल्ल हुन्थ्यो । हामीले हाम्रो मेहनत र लगानीमा २०६७ सालमै बत्ती बालियो । काठका पोल गाढेर बत्ती बाल्दा २ सय २० घर नै उज्यालो भएको छ”–स्थानीय बासिन्दा तथा शिक्षक डिल्लीराज रेग्मी भन्छन् ।
जसोतसो गाउँमा मोटर आयो तर बिजुली बत्ती थिएन । हुने खानेहरुले गाउँ छाड्ने क्रम चलेको थियो । त्यही समयमा विजुलीको प्रसंग चल्यो । यहाँबाट रुपन्देहीको खैरेनीमा बसाइ सरेर गए । चिसो हावा स्वच्छ वातावरण, विद्युत, खानेपानी, स्वास्थ्य संस्था, शिक्षा, इन्टरनेट जस्ता आजका आधारभूत आवश्यकता गाउँमा भए पछि गाउँ छाड्ने क्रम पनि कम भएको उनी बताउँछन् । यसरी उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारणको लाइनमा जोड्न सकिने, आन्तरिक खपत नभएको माथागढी भित्र नै अरु दुई वटा योजना छन् । यसलाई राष्ट्रिय प्रशारणमा जोड्न स्थानीय, प्रदेश सरकारले पहल गर्नु पर्ने थियो तर अहिले सम्म कहीं कतै बाट पहल नभएको स्थानीयहरु बताउँछन् । पहिलेको अँध्यारो गाउँले अहिले राष्ट्रिय प्रशारणमा जोड्ने विद्युत बिक्री गर्न पाउँदा स्थानीय निकै खुसी भएका छन् ।