Butwal Today

लुम्बिनी प्रदेशको चुरे अवस्था र समस्या

२ असार २०८२, सोमबार
अ+
अ-

महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानादेखि तराई मैदानको उत्तरी सिमाना विचको होंचो डाँडा र पर्वत शृंखला नै चुरे हो । यो क्षेत्र पाकिस्तानको इन्दुस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ । समुन्द्री सतहको १२० मिटर देखि २००० मिटरसम्मको उचाइमा अवस्थित चुरेले नेपालको करिव १३ प्रतिशत भूभाग ओगटेको छ । तराईका २१ र पहाडका १६ गरि ३७ जिल्लामा फैलिएको चुरेलाइ हिमालय पर्वतीय क्षत्रको सबै भन्दा कान्छो र कमजोर भू–धरातल मानिन्छ । बालुवा, गिर्खे चट्टान,कंकड माटो र पत्रे चट्टानबाट बनेको चुरेक्षेत्रसंगै दक्षिणमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावरको समथर भूभाग छ । दाउन्ने पहाडदेखि कर्णाली नदीसम्म फैलिएको लुम्बिनी प्रदेशमा तराइको समानान्तर चुरे पहाड समेत तन्किएको छ । यहाँका १२ वटा जिल्लाहरु मध्ये ९ वटा जिल्लाहरुमा चुरे क्षेत्र रहेको छ । चुरेले प्रदेशको ५ लाख ३९ हजार ३५८ हेक्टर भूभाग ओगटेको छ ।

चुरेको ठुलो भूभाग दाङ्ग जिल्लामा रहेको छ, जहाँको कूल क्षेत्रफलको ८४ प्रतिशत भूभाग चुरेमा रहेको छ । त्यसैगरी पश्चिम नवलपरासीको २७.०९ प्रतिशत , अर्घाखाचीको ३९ प्रतिशत, बर्दियाको ३४.६ प्रतिशत, बाँकेको ३४ प्रतिशत, रुपन्देहीको १७ प्रतिशत भूभाग चुरेले ओगटेको छ भने प्युठानमा २.२३ प्रतिशत मात्र चुरे क्षेत्र रहेको छ । स्थानिय तह अनुसार हेर्दा दाङ्गका राजपुर ( ५७९५४.१७ हे.), घोराही ( ३६०३२ हे.), गढवा ( ३५७६८ हे.), लमही ( ३२७९९हे.) र तुल्सीपुर( २७४८१ हे.), बाकेको राप्ती सोनारी ( ६७६७१ हे.) र बर्दिया राष्ट्रिय निकुन्ज(६७२३५ हे.) चुरेको क्षेत्रफल धेरै भएका स्थानीय निकायहरु हुन् । चुरेदेखि नजिकै चुरेको समानान्तर हुने गरि महेन्द्र राजमार्ग निर्माण भएकोले चुरेको दक्षिण तर्फ ठुला वस्तीहरु रहेका छन् । बर्दघाट, सुनवल, देवदह, बुटवल, सैनामैना, बाणगंगा, शिवराज, शितगंगा, लमही, घोराही, तुलसीपुर, कोहलपुर नगरपालिकाहरु चुरे र भावर क्षेत्रमा रहेका छन् ।

प्रदेशमा भौगोलिक रुपमा चुरेले जति स्थान ओगटेको छ, त्यो भन्दा बढी आर्थीक, वातावरणीय महत्व यसले समेटेको छ । यहाँका भुमही खोला, तुरिया खोला, कजरार, रोहिणी, तिनाउ, कन्चन, बाणगंगा, सुराही, ईन्गुरिया, सीतापुर खोला, झिमरुक खोला, कोइलाबास खोला, राप्ती, बबई, मानखोला, डुडुवा, गेरुवा खोलाको मुख्य जलाधार क्षेत्र चुरे नै हो । त्यसैगरी कर्णाली र भेरी नदीमा समेत चुरेको ठुलो भूभागको पानी मिसिने गर्दछ । चुरेको बलौटे जमिनमा पनि सुन्दर तालहरु निर्माण भएका छन् । नवलपरासीको महल पोखरी, पाल्पाको सत्यवती र सुके ताल, अर्घाखाँचीको डमरु दह, दाङ्गको बाह्रकुने ताल सुन्दर ताल तलैयाहरु चुरे क्षेत्रमा रहेका छन् । त्यसैगरी भावर क्षेत्रमा घमाहा ( सैनामैना), दानापुर ताल, जखोरा ताल (दांग) लगायतका तालतलैयाहरु छन । चुरे जलाधार क्षेत्रले यहाँका नदीहरुलाई नियमित पानी आपूर्ति गर्ने र तराईको भूमिगत पानीको भण्डार निरन्तर रिचार्ज गरिरहने काम गरेका छन् । तराईका सबैजसो पुराना सिचाई प्रणाली र कुलोहरु चुरेका खोलाहरुमा आधारित रहेका छन् । तराईलाई भूमिगत र सतही पानी उपलब्ध गराएर यहाँको खेतिपानीलाइ सहज बनाउने र तराईलाई हराभरा बनाउन चुरे क्षेत्रले मुख्य योगदान गरेको छ । चुरेमा रहेको वनजंगलले तराईलाई शितलता र सुन्दरता मात्र प्रदान गरेको छैन, तराईबासीको लागि घाँस दाउरा र काठपात समेत उपलब्ध गराएको छ । नेपालको रक्षामा चुरे क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ. त्यसको साक्षी बनेर माथागढ़ी, जितागढ़ी, नुवाकोट गढी, शिबपुर गढी , डुडुवा र सोनारी पहाड जस्ता गढी किल्लाहरू अहिलेपनि ठडिएका छन् । तराई र पहाडको सास्कृतिक र भौगोलिक संगम चुरे क्षेत्र बनेकोले पछिल्ला दिनहरुमा यो क्षेत्र आन्तरिक पर्यटकहरुको गन्तब्य समेत बनिरहेको छ ।

राणाकालमा चुरे क्षेत्रलाई सामरिक महत्वको थलोको रुपमा हेर्दै त्यस क्षेत्रलाई बसोबास मुक्त क्षेत्र राखिएको थियो । पानीको कमि, औलोको डर र खेतियोग्य जमिनको कमि जस्ता कारणले चुरे बसोबासको लागी रोजाईमा पर्नसकेको थिएन । पंचायती कालको मध्यसम्म तराईमा घना जंगल रहेको र तराईमा जनसंख्याको चाप पनि खासै नपरेको कारणले २०४० को दशकसम्म सम्पूर्ण चुरे सुरक्षित थियो । चुरेको किनारा हुदै पुर्व–पश्चिम महेन्द्र राजमार्ग बनेपछि भावर क्षेत्रमा केहि बजारहरु बनेका थिए र राजमार्ग हुदै पहाड उक्लने सडकहरु बन्न थालेपछि भावर र संगैको चुरे क्षेत्र ब्यापारिक र रणनीतिक महत्वको क्षेत्र बनिरहेको छ र यहि क्षेत्रमा बसोबास गर्न रुचाउने मानिसको संख्या दिनानुदिन बढिरहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार चुरेमा १३ लाख ५९ हजार ५०८ जनाको बसोबास रहेको छ र यो आंकडा बढ्दो छ । महेन्द्र राजमार्ग दक्षिण रहेका वस्तीहरु क्रमश चुरेको फेदसम्म पुगेका छन् र तराईमा झार्न नसकेकाहरुले अवसरको खोजीमा चुरे हुदै पहाड उक्लेका सडक छेउछाउ बसोबास गर्दै जादा अहिले चुरेमा घना वस्तीहरु बन्न थालेका छन् । बाँकेको नौबस्ता, दाङ्ग जिल्लाको सम्पूर्ण चुरे क्षेत्र, अर्घाखाचीको शितगंगा नगरपालिका , कपिलवस्तुको पत्थरकोट क्षेत्र , रुपन्देहीको सैनामैना र देवदह तथा नवलपरासीको सुनवल र बर्दघाटको धुर्कोट क्षेत्रमा जोखिमपूर्ण चुरे क्षेत्रमा वस्तीहरु थपिदै गएका छन् । चुरे क्षेत्रमा बढ्दो जनसंख्यासंगै यहाको वनजंगल र जलाधार क्षेत्र मासिने क्रम बढ्दो छ ।

पछिल्ला १० वर्षमा भएका प्राकृतिक प्रकोपका तथ्यांकहरु हेर्दा पहिरोबाट सबैभन्दा बढी क्षति पाल्पा, गुल्मी र रोल्पामा भएको पाइन्छ र बाढीबाट दांग, बाँके र बर्दिया बढी प्रभावित भएका छन् । २०५० को दशकसम्म आइपुग्दा तराइको घना वन मासिएर कताकति मात्र सिमित रहन पुग्यो, जसले गर्दा छरेको वनमा अत्यधिक चाप परिरहेको छ. चुरे उत्तर रहेका पहाडका प्रत्येक वस्तीलाई तराइसंग जोड्नका लागि चउरमा सडक खन्ने काम ४ दशक देखि चलिरहेको छ. यसले गर्दापनि चुरे खलबलिएको छ. पछिल्ला वर्षमा सोझै चुरे खोस्रने काम नभएपनि नदिजन्य पदार्थ संकलनको नाममा चुरे र पहाडका भित्रि भागसम्म दोहन भैरहेको छ । यसले चुरेमा वर्खायाममा पानीको वहाव बढेर भूक्षयको दर बढेको छ । चुनढुंगा उत्खननको नाममा पनि रोल्पा, पाल्पा र प्युठानमा दोहन बढेको छ । पहाड खोदनले पहाडहरु कमजोर भएर भूक्षय बढेको छ ।जसको प्र्रत्यक्ष असर चुरे क्षेत्रमै देखिएको छ ।
संघीय सरकारको आगामी वर्षको बजेट बक्तयमा पहाडका खानीबाट ढुंगा गिट्टी निकालेर विदेश निकासी गर्ने कुरा आएपछि चुरेको बारेमा निकै बहसहरु भैरहेका छन् । चुरेलाई काट्नुहुन्न भन्ने आवाजहरु चर्का छन् भने महाभारतको बहानामा चुरेमा दोहन गर्न खोजिएको आशंका समेत गरिएको छ । अन्यत्रको तुलनामा लुम्बिनी प्रदेशका चुरेहरु अहिलेसम्म एक किसिमले सुरक्षित छन् । तर महाभारत क्षेत्रमा उत्खनन बढ्दै गएपछि चुरे पनि असुरक्षित रहने चिन्ता जायज छ । महाभारत क्षेत्रमा खानी संचालन गर्दा वातावरणिय सुरक्षालाई ख्याल गरिएन भने खानीको वरिपरीका खेतबारी, जलाधार क्षेत्र र वनजंगल पुरिएर ति क्षेत्र बसोबासको लागि अयोग्य हुनेछन । महाभारत क्षेत्रमा खानीजन्य पदार्थ उत्खनन बढ्दै जादा मानिसहरु चुरेतर्फ विस्थापित हुनुपर्ने अवस्था आएमा चुरेमा दिर्घकालिन गम्भीर क्षति पुग्नेछ । खानीबाट गिट्टी ढुंगा ढुवानी कार्यलाई ब्यवस्थित गर्न सकिएन भने चुरे पहाडहरुलाई सुरक्षित राख्न सकिनेछैन । .