© २०२३
आधुनिक युगमा गरिबीलाई निरपेक्ष र सापेक्ष गरी दुई किसिमले परिभाषित गर्न सकिन्छ । निरपेक्ष गरिबीमा व्यक्ति वा परिवारसँग आधारभूत आवश्यकता पूरा गर्नका लागि आवश्यक न्यूनतम आयस्रोतहरू हुँदैनन् । गरिबीको अवस्थामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अत्यावश्यकताहरू पूरा हुँदैन । अर्काेतिर सापेक्ष गरिबीमा कुनै व्यक्ति वा परिवारको आम्दानी समाजको औषत स्तरभन्दा निकै कम हुन्छ । यसले आर्थिक असमानता र सामाजिक बन्चितीकरणलाई जनाउँछ । संक्षेपमा निरपेक्ष गरिबी हामीले बुझ्दै आएको न्यूनतम् आधारभूत आवश्यकता पूरा गर्नसक्ने क्षमता नभएको आर्थिक अवस्था हो भने सापेक्ष गरिबी आय असमानता हो ।
यी दुबै आर्थिक समस्याहरू हुन् । विकसित हुन् वा विकासोन्मुख सबैजसो देशहरूका निम्ति गरिबी र आय असमानता सदैव मुख्य आर्थिक चुनौति बनिरहेका छन् । गरिबीका सन्दर्भमा बौद्ध दर्शनले बेग्लै किसिमले व्याख्या गरेको छ । बौद्ध दर्शन अनुसार तृष्णा नै समस्त दुःखको मूल कारण हो । समाजमा केही मानिसमा सम्पत्ति थुपार्ने तृष्णा जाग्दा आय असमानता सिर्जना हुन जान्छ । वास्तवमा पूँजीवादको मुख्य जरो नै उच्च नाफाको तृष्णा हो । यही कारणले समाजमा पूँजीपति र श्रमिक गरी दुई वर्ग निर्माण हुन्छन् र यी दुई वर्गका बीच वर्गसंघर्ष सुरु हुन्छ ।
बुद्धले सम्पत्तिको असमान वितरण र शोषणलाई आपराधिक मानसिकता उत्पन्न गराउने तत्वका रूपमा व्याख्या गरेका छन् । यस्तो सामाजिक असमानताले गरिबी बढाउँछ भन्ने उनको तर्क छ । बौद्ध धर्ममा दानको निकै ठूलो स्थान छ । धनी व्यक्तिले आफ्नो सम्पत्तिको अंश अरूको हितमा प्रयोग नगर्दा गरिबी अझ बढ्दै जान्छ । यस हिसाबले बौद्ध दर्शनभित्रको आर्थिक चिन्तन समाजवादी अर्थतन्त्रको नजिक छ भन्न सकिन्छ ।
बौद्ध दर्शनले अज्ञानतालाई पनि गरिबीको जड मानेको छ । शिक्षाको अभाव भएमा मानिसले जीवनको लक्ष्य पहिचान गर्न सक्दैन । अज्ञानताको अँध्यारो चिर्न नसक्दा मानिस भ्रमित हुन्छ । जसका कारण दुःख सिर्जना हुन्छ । अर्थात् गरिबी निम्त्याउँछ । बुद्धले गरिबीको कारण र असरमात्र होइन, गरिबीबाटबाट मुक्तिको मार्गसमेत प्रतुत गरेका छन् । यस्ता धेरै सुत्त र जातक कथाहरू छन्, जसमा गरिबीलाई केवल आर्थिक दृष्टिले मात्र हेरिएको छैन, बरु यसलाई नैतिकता र सामाजिक दृष्टिकोणबाट पनि विश्लेषण गरिन्छ ।
बुद्धले अङ्गुतर निकायअन्तर्गतको अग्गप्प सुत्तमा गरिबीका पाँच कारणहरू बताएका छन् । पहिलो आलस्य अर्थात् काम गर्ने इच्छा नगर्नु, दोस्रो अज्ञानता अर्थात् धर्म र अर्थको ज्ञान नहुनु, तेस्रो असंयम अर्थात् इन्द्रियहरूमा नियन्त्रण नहुनु । त्यसैगरी चौथोमा अकुशल (दुर्जन) सँगको सङ्गत र पाँचौ चाहि असावधानी अर्थात् आम्दानी–खर्चमा सन्तुलन नराख्नु गरिबीका कारणहरू हुन् । त्यसैगरी सुत्तनिपात अन्तर्गत्को पराभव सुत्तमा बुद्धले गरिबी (दारिद्र्र) लाई एक प्रकारको पतनको रूपमा वर्णन गरेका छन् । यस सुत्तमा गरिबीबाट बच्न धर्ममार्गमा लाग्न आग्रह गरिएको छ । सङ्युक्त निकायको धनिञ्जानि सुत्तमा पनि धनको सदुपयोग र दानको महत्व प्रष्ट पारिएको छ ।
उक्त सुत्तमा गरिबीबाट बच्न दान, शील र प्रज्ञापूर्ण जीवनशैली अपनाउनुपर्ने बताइएको छ । बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ धम्मपदले पनि गरिबीलाई दुःखको एक प्रमुख कारण मानेको छ । दुःखमुक्तिको निम्ति गरिबी निवारण हुनु आवश्यक छ । गरिबी र भोकमरीमा रुमलिएको मान्छेले न त भौतिक प्रगति गर्न सक्दछ, न त आध्यात्मिक चिन्तन नै गर्न सक्दछ । त्यसैले भौतिक एवम् आध्यात्मिक लाभका निम्ति सबैभन्दा पहिले गरिबीको अन्त्य हुनु पर्दछ ।
गरिबीका सन्दर्भमा बौद्ध शिक्षामा दीर्घनिकायअन्तर्गतको कूटदन्त सुत्त निकै प्रख्यात छ । यस सुत्तमा बुद्धले राजा र ब्राह्मणको संवादमार्फत् जनताको असन्तुष्टि र अपराधको मूल कारण गरिबी, भोकमरी र बेरोजगारीलाई मानेको छ । यसबाट प्रष्ट हुन्छ बौद्ध दर्शनले देशमा सामाजिक एवम् राजनैतिक खलल ल्याउने एउटा मूल कारण गरिबीलाई मानेको छ । त्यसैले राज्यको प्रमुख नीतिहरूमध्ये गरिबी निवारण गर्ने नीति पनि एक प्रमुख नीति हुन आउँछ । गरिबी निवारणका निम्ति बुद्धले ‘यज्ञ’, होम आदिको सट्टा आर्थिक सुधारमा केन्द्रित हुन सुझाव दिएका छन् ।
वास्तवमा रोजगारी, सामुहिक खेती, व्यापार, दान आदिका माध्यमबाट देशमा गरिबी निवारण गर्न सकिन्छ भन्ने बुद्धको तर्क निकै उपयोगी छ । हुन पनि हो, रोजगार र उद्यमशीलताबाटै जनताको आयस्तर वृद्धि गर्न सकिन्छ, जसले गर्दा देशमा गरिबी समस्या समाधान गर्न सहज हुन्छ । बुद्धले गरिबीलाई आर्थिक समस्याका रूपमामात्र देखेनन् । बरु समाजमा हिंसा, चोरी र अन्य अनैतिक व्यवहारको जड पनि यसैलाई नै माने । गरिबी निवारणका निम्ति बुद्धले शिक्षा, नैतिकता, श्रम, दान र करुणामा जोड दिए । नैतिकता र इमान्दारिताको बाटोबाट एक गरीब व्यक्ति धनी बनेको चुल्लसेठी जातक होस् वा एक धनी व्यक्ति धेरै जन्महरूमा दान नगरेकै कारणले गरीब भएर जन्मनु परेको वेलामक जातक होस् सबैले गरिबीलाई आर्थिक मात्र नभएर नैतिकताको समस्यासँग जोडेका छन् ।
बौद्ध शिक्षामा आम्दानीको सही व्यवस्थापन गर्नसके गरिबीको समस्या झेल्नु नपर्ने उल्लेख छ । दीर्घनिकाय अन्तर्गतको सिगालोवाद सुत्तमा पनि बुद्धले गृहस्थ जीवनका कर्तव्यहरू उल्लेख गर्दै आम्दानीको व्यवस्थापन, खर्चको विवेकपूर्ण प्रयोग र बचतको महत्व उल्लेख गरेका छन् । यसमा धनलाई चार भागमा विभाजन गर्नुपर्ने जसमा एक भाग दैनिक खर्च, दुई भाग व्यवसायमा लगानी र एक भाग आपतकालीन बचतका निम्ति प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । यसबाट आत्मनुशासन, विवेकपूर्ण जीवनशैली र दीर्घकालीन सोँचबाट जीवन उत्प्रेरित हुनसके गरिबी निवारणमा मद्दत मिल्छ भन्ने कुरा प्रष्ट हुन्छ । गरिबी विश्वव्यापी समस्या हो ।
सबैखाले देशमा गरिबीले मानिसमा दुःख, अपमान र अवसरको अभाव सिर्जना गर्दछ । आजको विश्वव्यापीकरणको युगमा आर्थिक विकास सबैखाले देशहरूको मुख्य चासो बनेको छ । यसरी आर्थिक वृद्धि र विकासमा ध्यान दिँदा धनी र गरिबबीचको खाडल बढ्दै जानुले सबैजसो देशलाई यसले चुनौति खडा गरिदिएको छ । यस सन्दर्भमा, करुणा, अहिंशा र समानताको दृष्टिकोण राख्ने बौद्ध दर्शनले गरिबीलाई बुझ्नेमात्र होइन, बरु, यसको निवारणका निम्ति एउटा वैकल्पिक र गहन दृष्टिकोण प्रदान गर्ने ल्याकत राख्दछ ।
संयुक्त राष्ट्रसंघका १९३ देशहरूले शिखर सम्मेलनमार्फत् दिगो विकासका १७ लक्ष्य तय गरे, जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरेको छ । यस सन्दर्भमा दिगो विकासका लक्ष्यहरूमध्येको पहिलो लक्ष्य गरिबी अन्त्य र दशौँ लक्ष्य असमानता घटाउने दुबै प्रत्यक्ष रूपमा गरिबीसँग सम्बन्धित छन् । यस सन्दर्भमा गरिबी निवारणका निम्ति बौद्धशिक्षा उपयोगी हुने भएकाले बौद्धशिक्षाले दिगो विकासलाई समेत सम्बोधन गरेको बुझ्न सकिन्छ ।
आर्थिक, सामाजिक र वातावरणीय सन्तुलनलाई ध्यान दिइने हुँदा बौद्ध दर्शनले दिगो विकासको अवधारणालाई अंगिकार गरेको बुझ्न सकिन्छ । बुद्धको अहिंशा, करुणा, प्रतीत्यसमुत्पाद, सम्यक आजिवीकाजस्ता दर्शनहरूको प्रतिपादन गरेका छन्, जसलाई अनुसरण गर्नसके पर्यावण संरक्षणका साथै भावि पुस्ताका निम्ति पनि श्रोतहरूको संरक्षणसहित आजको विकासलाई अगाडि बढाउन सकिन्छ । तृष्णा, असमानता र अनैतिक व्यापारबाट टाढा रहनुपर्ने मान्यता राखेको बौद्ध दर्शनले गरिबी अन्त्यका लागि करुणा, न्याय र सहभागितामूलक विकासमा जोड दिन्छ । अर्काेतिर जात–पात, वर्ग–भेद र आय असमानताको विरोध गरिने हुँदा बुद्धका उपदेशहरू सामाजिक समावेशीकरणका दृष्टिले पनि उत्तिकै व्यवहारिक देखिन्छन् ।