© 2026
काठमाडौँ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा जारी अवरोधको विषयमा आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
बानेश्वरस्थित कार्यकक्षमा भएको भेटमा सभामुखले संवैधानिक बाध्यता अनुसार बजेटमाथिको छलफल सुरु गर्नुपर्ने अवस्था भएकाले अवरोधको स्वरूप परिवर्तन गर्न अनुरोध गरेका थिए। साथै, उनले संसद् मर्यादित र प्रभावकारी बनाउन आग्रहसमेत गरेका छन्।
अर्यालले भने रास्वपाको तर्फबाट संसद् अवरुद्ध गर्ने निर्णय कायम नै रहने बताएका छन्। तर, संसद् मर्यादित ढंगले सञ्चालन हुनुपर्नेमा आफूहरू पनि प्रतिबद्ध रहेको उनको भनाइ थियो।
गत शुक्रबारको संसद् बैठकमा देखिएको अव्यवस्थित गतिविधिप्रति प्रमुख सचेतकहरूले पनि सभामुखको ध्यानाकर्षण गराएका थिए।
यस्तै, सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनसँग टेलिफोन वार्ता गर्दै संसद् सुचारु गर्न सहयोग गर्न आग्रह गरेका थिए। उनले संवैधानिक बाध्यता बुझिदिन अनुरोध गर्दै आफ्नो कुरा सदनमै राख्न सकिने वातावरण बनाउनेतर्फ पहल गर्न सुझाव दिएका थिए।