© २०२३
चन्द्रौटा, १ असार ।
रोटरी क्लब अफ कपिलवस्तु र रोट्याक्ट क्लब अफ कपिलवस्तुको संयुक्त पद हस्तान्तरण गरिएको छ । आगामी कार्यकाल २०२५–२०२६ का लागि रोटरी क्लबको अध्यक्षमा युवराज पौडेल र रोट्याक्ट क्लबको अध्यक्षमा प्रकाश चौधरी शुक्रबार चयन भएका हुन् । २०२४–२०२५ कार्यकालका अध्यक्ष बालकृष्ण पाण्डेले युवराज पौडेललाई रोटरी क्लबको नेतृत्व हस्तान्तरण गरे । यस्तै रोट्याक्ट क्लबका निवर्तमान अध्यक्ष विष्णु पाण्डेले प्रकाश चौधरीलाई पद सुम्पिएको रोट्याक्ट क्लबले जनाएको छ ।
प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले सामाजिक नेतृत्वमा युवाहरूको सहभागिता महत्त्वपूर्ण रहेको बताए । “समाजमा सकारात्मक परिवर्तन ल्याउने मूल शक्ति युवामै केन्द्रित हुन्छ” उनले भने, “रोटरी र रोट्याक्ट क्लबले शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । यस्ता संस्था समाजको मेरुदण्ड हुन् ।”
नयाँ नेतृत्वमा युवा, ऊर्जाशील र समाजप्रति उत्तरदायी व्यक्तित्वहरू आएको बताउँदै यसले संस्था अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा उनले जोड्दिए । सामाजिक कार्यमा सक्रिय रहेका यस्ता सङ्घसंस्थाले समाज परिवर्तनमा अहम् भूमिका खेल्ने भएकोले सहयोग गर्ने प्रतिबद्धता समेत केसीले जनाए ।
नवनियुक्त रोट्याक्ट अध्यक्ष प्रकाश चौधरीले समाजसेवाको माध्यमबाट युवालाई एकताबद्ध गर्दै सृजनशील कार्यक्रममार्फत सामाजिक विकासमा योगदान दिने प्रतिबद्धता जनाए । “रोट्याक्ट क्लबलाई केवल युवा जमघटको थलो होइन, विचार र कार्यको थलो बनाउने मेरो प्रयास हुनेछ,“ उनले भने । प्रकाश चौधरी चन्द्रौटामा सक्रिय युवा व्यवसायीका रूपमा परिचित छन् ।
‘सिद्धार्थ डिजाइन फ्लेक्स प्रिन्ट’ मार्फत व्यावसायिक परिचय बनाएका चौधरी थारु समुदायमा सामाजिक नेतृत्वमा समेत अग्रपङ्क्तिमा छन् । उनी थारु कल्याणकारी सभा, शिवराज र उमरीमा थारु सङ्ग्रहालय संरक्षण समितिका अध्यक्ष पनि हुन् । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, स्थानीय प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा विगत वर्षका गतिविधिको समीक्षा र आगामी कार्य योजनाको घोषणा पनि गरिएको निवर्तमान सचिव सन्तोष पौडेलले जनाए ।