© २०२३
चुलो चौकामा मात्र सीमित महिलालाई राजनीतिमा प्रवेश गराउने पहिलो संस्था नेपाल महिला संघ हो । जतिबेला महिलाहरू परिवार तथा आफन्त पुरुष सदस्यका सहयोगीका रूपमा महिलाहरूले राजनीतिलाई सघाँउथे । प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सक्रियतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको हो । स्व. मंगलादेवीको अध्यक्षतामा २००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ तारिखका दिन भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा ११ सदस्यीय कार्य समिति गठन भएको थियो । जसले नेपाली महिलाहरू संगठित भएर राजनीति गर्ने अवसर शुभारम्भ गरेको इतिहास सर्वविदितै छ ।

२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राणा शासनविरुद्ध ठूलो क्रान्ति भयो । उक्त क्रान्तिमा महिला नेतृहरू मंगलादेवी सिंह, दिव्या कोइराला, नलिनी उपाध्याय, ईन्दिरा आचार्य, विजया लक्ष्मी, नोना कोइराला लगायतले गोप्यरूपमा क्रान्तिका लागि ल्याईएका हतियार राख्ने, घाईतेको औषधी उपचार गराउदै क्रान्ति सफल पार्न योगदान गरेका थिए । यहि २००७ सालको क्रान्ति पछि राजनीतिक पार्टीहरू स्वतन्त्र भए पश्चात नेपाल महिला संघले पनि खुल्लारूपमा काम गर्न थालेको थियो । यसरी राजनीतिमा संलग्न भई महिलाको सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरणका लागि महिलाहरू अधिकारका निम्ति ज्यान दिन समेत होमिएका थिए । जसको ज्वलन्त उदाहरण हुन योगमाया देवी न्यौपाने ।
उनले नेपालका सबै महिलाहरूको अधिकारका लागि जो जिउँदै सति जानुपर्ने जस्ता कुरीति प्रथा लगायत अन्य सामाजिक सुधार र राणा शासन विरुद्धमा सशक्त आन्दोलन गरेकी थिईन् । १९९८ साल आषाढ २२ गते शनिबार योगमाया देवी न्यौपानेको नेतृत्वमा ६८ जना महिलाले राणा शासन र महिलालाई गरिने दमन, कुरीति विरुद्ध जलसमाधी (देहत्याग) गरेको घटनालाई पहिलो महिला संर्घषका रूपमा दस्तावेज गरिएको छ ।
२००४ सालमा संगठित भए पश्चात महिलाहरूले नेपालको राजनीति तथा , जनआन्दोलन २००७, २०३६, २०४६ र २०६२।०६३ मा सकृय भूमिका निर्वाह गरि ऐतिहासिक जिम्मेवारी वहन गर्दै आएका छन् । रूपन्देहीमा भने नेपाल महिला संघको प्रवेश गराउने महिला नेतृ सितालक्ष्मी न्यौपाने हुन । उनी रूपन्देही जिल्ला नेपाल महिला संघको संस्थापक अध्यक्ष हुन भने शहिद यादवनाथ आलोककी श्रीमति हुन् । न्यौपानेका अनुसार महिलालाई त्यतिवेला २०३५, ३६ तिर राजनीतिमा आउन धेरै कठिन थियो । हुन त केन्द्रिय नेताहरू नुना कोइराला, सुशीला कोइराला, शैलाजा दिदीहरू, नेपाली कांग्रेसका पुराना नेताहरू सक्रियरूपमा राजनीतिक पार्टीलाई भित्रबाट सघाँउथे ।
उनीहरूका प्रेणाले पछि केही पढेलेखेका महिलाहरू पनि पार्टीको काममा सघाउन थाले । शैलजा आचार्य, नुना दिदीहरूसँग नजिकको सम्बन्धमा हेलमेल थिए । सितालक्ष्मी भन्नुहुन्छ– उहाँहरूले मलाई राजनीति गर, महिलाहरूको हकहित र सारा नेपालीहरूको आवाज वुलन्द बनाउन पनि हामी राजनीतिमा लाउनुपर्छ भनेर प्रेरणा दिनुहन्थ्यो । उहाँले बिगत सम्झदै भन्छिन– म २०३६ सालमा जनमत संग्रहको प्रचारमा फिल्डमा हिँडे । म फिल्डमा हिँड्ने श्रीमान पनि पञ्चायत बिरुद्ध राजनीति गर्ने गर्दा मेरो श्रीमानलाई मरणासन्न गरेर पिटेको स्मरण ताजै छ । त्यो घटनाले मलाई खुलेर फिल्डमा हिड्न र प्रचार गर्न दिएनन् । त्यहिँ पनि मैले भित्र भित्र महिला दिदी बहिनीहरूलाई यसरी भोट हाल्नुपर्छ भनेर लुकिछिपी सिकाएर ति दिदी बहिनीसंगै मैलेपनि २०३६ सालको जनमत संग्रहमा भोट हाल्यौ । तर मत परिणममा पञ्चेहरूले जिते हामीले हा¥यौ ।
यो जनमत संग्रहपछि पार्टीमै लागेर सकृय भएर हिड्नेत धेरै थिएनन् तर महिलाहरू राजनीतिमा लागेर भित्रभित्र संगठन बनाउन जागेर लाग्न थालेको अनुभव बताँउछिन सितादेवी । त्यसपछि सत्याग्रह सुरु भयो, त्यसमा भाग लिने चारजना महिला थिए । निशा भट्टराई, खिमकला लगायतका दिदी बहिनीहरूलाई लिएर भाग लिन गएको कुरा सितालक्ष्मीलाई ताजै छन । अरू पार्टीहरू पनि भर्खरै खुलेका थिए, एमाले लगायत अन्य पार्टीका गरेर १५ जना जति महिला खुव मिलेर काम गरेको सिताको भनाई छ । महिलाहरू राजनीतिमा खुलेर आउँदा पिट्छन, मार्छन, सम्पति हरण गर्छन भन्ने ठूलो डरत्रास थियो । यसैले पनि महिलाहरू लुकीछिपि राजनीति गर्थे, खुलेर फिल्डमा आँउदैनथे ।
नेपालभरको स्थिति यस्तो थियो रूपन्देहीमा । दुईचार जना कांग्रेस नेताका श्रीमतिहरूलाई जम्मा गरेर भित्रभित्र काम गराउने गरेको सितालक्ष्मीको स्मरणमा अझै छ । सत्याग्रहमा भाग लिँदा १८ दिनसम्म जेल बसेको र श्रीमान यादवनाथ आलोकलाई २०४० सालमा रूपन्देहीको सुरजपुरा घटनामा पञ्चेहरूले ज्यानै लिएको घटना उनले सम्झनै चाहन्निन । यति पिडा र विक्षिप्त अवस्थामा पनि आफ्नो राजनीतिमा रत्तिभर कमी आएन बरु थप सशक्त भएर लागेको अनुभव छ ।
श्रीमान त्यसरी मारिँदा पनि यी महिला फिल्डमै उत्रिएर हिडेको भनेर केन्द्रिय नेता गणेशमानजी लगायतले समेत सितालक्ष्मीको चर्चा गर्नुहुन्यो रे । महिलाहरूलाई राजनीतिमा ल्याउन प्रजातन्त्र भनेको यस्तो हो, प्रजातन्त्र आएपछि हामी महिलाहरू पनि बोल्न पाईन्छ, हरेक अधिकारहरू प्राप्त हुन्छन् ।
राजनीतिको अधिकार मात्रै नभएर श्रीमान, घर परिवार लगायत सम्पति माथिको अधिकार पाईन्छ भन्ने कुराको शिक्षा दिदै रूपन्देहीका महिलाहरूलाई राजनीतिमा आउन प्रेरित गर्ने काममै आफूले दिनरात विताउने गरेको न्यौपाने सुनाउँछिन् । हेर त अहिले बोल्न छैन, घरको चौघेराबाट निस्कन छैन, प्रजातन्त्र आएपछि हामीले पढ्न लेख्न र बोल्न पाईन्छ भनेर रातीमा घरधन्दा सकिअरि महिलाहरूलाई जम्मा गरेर पढाउने सिकाउने गरेर संगठन बनाएको सितालक्ष्मीको स्मरणमा ताजैछन् ।
यहीक्रममा २०४६ सालको जनआन्दोलन भयो । त्यस आन्दोलनमा महिलाहरू घरबाट निस्केर फिल्डमा उत्रिए । यो जनआन्दोलनमा रूपन्देहीका महिलाहरूको सक्रियता देखेर २०४७ सालमा रूपन्देहीमा मंगलादेवी आफै आएर सितालक्ष्मी न्यौपानेको नेतृत्वमा नेपाल महिला संघ गठन गर्नुभएको हो । सितालक्ष्मी सम्झनुहुन्छ– उहाँहरूले मलाई जिल्लाको संस्थापक अध्यक्ष र अन्य १५ जनाजति गराएर सदस्य बनाईदिनुभयो । जस्तो गंगा अधिकारी मि बहादुरकी श्रीमति, शंकर पाण्डेकी श्रीमती, अनि मञ्जु गौतम, सिता गौतम लगायतका दिदिबहिनी समितिमा थिए । समिति बनेपछि समुहमा काम गर्न थाल्यौ ।
सुरुमा अफिस बनाउन, महिलाहरूलाई जम्मा गरेर कार्यक्रम गर्न केहि आर्थिक स्रोत त चाहियो । आफू संस्थापक अध्यक्ष भएपछि म आफै अघि लाएर महिलाहरूलाई थौरै थौरै पैसा जम्मा गर्न लगाउने, महिलाहरू भित्रै चन्दा उठाउने गरेर कार्यालय व्यवस्थापनदेखि आवश्यक सामग्री किनमेल गरेको उनी सम्झिन्छिन । महिलाहरूलाई जम्मा गरेर कार्यक्रम गर्न अति कठिन थियो तर पनि उनीहरूको पायक पर्ने ठाउँमा गोष्ठी, सभा, भेला गरेर कार्यक्रमहरू गर्ने र केन्द्रतिरबाट नेता कमला पन्त र ईन्दिरा बस्नेतलाई बोलाउने गर्थे ।
उनी महिला संघको सभापति हुँदा पुष्पानन्द गिरी नेपाली काँग्ेसका रूपन्देही जिल्ला पार्टी सभापति थिए । उनी स्वर्गीय भएपछि मोहदत्त काफ्ले त्यसपछि, डिल्लीरमण न्यौपाने लगायतको सहयोगमा प्रजातन्त्र पनि आईसकेकोले संगठनलाई सकृय बनाउन लागे । जस्तो समय समयमा महिला भेला, वीपिको जन्मदिनमा मेलमिलाप दिवस मनाउने, उबेला पनि बृक्षारोपण कार्यक्रम हुन्थ्यो । यस्ता कार्यक्रमका माध्यमबाट नेपाल महिला संघ जुरमुराएर अगाडि बढेको हो । सितालक्ष्मी भन्छिन्– वर्षहरू वित्दै जाँदा राजनीतिमा प्रतिष्पर्धा हुन थाल्यो, महिलाहरू पनि तछाडमछाड गरेर राजनीतिमा आउने, निर्वाचनमा भाग लिन थाले । हरेक पार्टीवाट, नेपाल महिला संघ अगाडि आयो, नेकपा एमालेबाट पनि महिलाहरू निस्कन थाले । महिलाहरू त डरत्रासमा दविएर पो वाहिर नआएका रहेछन् ।
जव प्रजातन्त्र आएर खुल्ला वातावरण भयो महिलाहरू यसरी आउन थाले कि पुरुषहरूको भन्दा महिलाहरूको भेला बृहत हुने गरेको न्यौपाने सुनाउँछिन् । त्यतिबेला पैसाको भने अति दुःख थियो । कांग्रेस, अन्य पार्टी वा हामी जस्ता भातृ संगठन सबैसंग प्रशस्त मात्रामा पैसा नभएका कारण सोचेजस्तो काम गर्न नसकेको उनको तर्क छ । ठूला जमिनदार, व्यापारीकहाँ गएर पैसा उठाएरै भएपनि संगठनले गर्ने काम भने निरन्तरता पाएको थियो । यस्तो कठोर परिस्थितिबाट महिला संघ पार्टीलाई जोगाउदै आएको हो, उतिवेला कसरी संगठन जोगाउने, जनताको सुरक्षा कसरी गर्ने, उनीहरूका समस्या नजिकबाट बुझेर समाधान गर्ने काममा महिला अगुवाहरू तल्लिन रहन्थे ।
सुस्केरा हाल्दै सितालक्ष्मी भन्छिन्– अहिले महिला संघको सकृयता पनि हराउँदै गयो, सत्ताको मोहले सबैलाई तानेको छ । वैचारिक आस्था र मर्यादा भन्ने एकादेशको कथाजस्तो भयो । अरूलाई पछि पारेर म आफैले टिकट पाए हुन्थ्यो भन्ने होडवाजीमा सानादेखि ठूला नेताहरूसम्म देखिन्छन् । वर्ग संघर्ष भन्दा को नेताको पछि लाएर माथि जाने भन्ने ध्यानमा सबै जना लागेकोमा सितालक्ष्मीको गुनासो छ ।
अहिले वास्तवमा नेताहरूसंग जनता टाढा भएको कारण यहीँ हो । चुनावका बेला भोट माग्न मात्रै आउने र अघिपछि कसलाई के दःुख परेको छ, गारोसारो के छ भनेर नपुछ्ने अनि यि नेता र संगठनलाई कसले जोगाईदिन्छ ? अरूको के कुरा गरौ, मैले नेपाल महिला संघलाई मात्रै नभएर नेपाली कांग्रेस पार्टीका लागि परिवार गुमाएर, छोराछारीको भोक, तिर्खालाई वेवास्ता गर्दै होमिएको महिला हुँ म । अहिले म बिरामी भएर कति काठमाण्डौ धाएँ, छोरीसंग अमेरिका आएर औषधी उपचार गर्न थालेको ६ महिना भयो । प्रविधिको जमाना छ जहाँ भएपनि बोल्न र देख्न पाईन्छ । तर मलाई खैत कसैले त बिरामी थिईस, तलाई कस्तो भयो भनेर कुनै नेता साथीभाईले सम्झदैनन् भन्दै सितालक्ष्मीको ठूलो गुनासो छ । नेतृत्व गर्ने मान्छेले यिनी मेरा जनता हुन, कार्यकर्ता हुन, मैले भातृ संगठन, पार्टीलाई बलियो बनाउनुपर्छ ।
यसका लागि हरेक कार्यकर्ताको सुखमा भन्दा दुःखमा साथ दिनुपर्छ भन्ने भावना जवसम्म नेतामा आउदैन तवसम्म महिला संघ वा पार्टी कुनैपनि बलियो र सकृय नबन्ने तर्क गर्छिन –महिला संघ रूपन्देहीकी संस्थापक अध्यक्ष सितालक्ष्मी न्यौपाने । महिलाको राजनीतिमा अर्थपूर्ण सहभागिता गराउँदै पार्टीलाई बलियो बनाउन स्थानीय टोल स्तरमा प्रशिक्षणका माध्यमबाट उनीहरूको क्षमता विकास गर्दै सिप र नेतृत्व क्षमता बढाउन आवश्यक छ । यसले पार्टीलाई बलियो बनाउँछ तर नेपाली कांग्रेस पार्टी नेतृत्व यसमा कमजोर देखिन्छ, जसका कारण महिला संघका गतिविधिहरू पनि सुस्ताउदै गएका छन् ।