© २०२३
काठमाडौँ, १ असार ।
जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र काभ्रेबाट १७ जना पक्राउ परेका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा रामप्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो । उता, काभ्रेको पनौती नगरपालिका–५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय सञ्जीवकुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा सञ्जीव कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।