© २०२३
बुटवल, १ असार । सुरक्षित गर्भपतन महिलाहरुको प्रजनन् अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६० ले १२ सातासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाउने कानुनी मान्यता प्रदान गरेको छ । यही मान्यतालाई आत्मसात गर्दै जोखिमयुक्त गर्भपतन गर्नेहरुको संख्या हेर्ने हो भने गर्भपतनले पछिल्लो समय विकराल रुप लिंदै छ ।
अझ त्यसमा पनि २० वर्ष मुनिका किशोरीहरु बढी जोखिममा रहेको एक अध्ययनले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको २०८०/८१ को तथ्यांक हेर्दा ४ हजार ४ सय ३३ जना २० वर्ष मुनिका महिला रहेका छन् । यता २०८१ साउनदेखि वैशाख महिनासम्मको आंकडा हेर्ने हो भने ३ हजार ७ सय २२ पुगिसकेको छ । जसमा सबै उमेर समूह हेर्दा ५ हजार ७ सय ११ छन् भने वैशाख महिनासम्म ४ हजार ४ सय ३३ जनाले गर्भपतन गराएको देखिन्छ ।
यो त सरकारी कार्यालयको रेकर्ड मात्र हो, यसबाहेक लुकिछिपी गर्भपतन गराउने संख्या यो भन्दा धेरै हुनसक्ने अनुमान छ । किनकी सबै सुरक्षित स्थानमा जांदैनन् अन्य क्लिनिक तथा आफैले विभिन्न तरिकाबाट असुरक्षित गर्भपतन गराएको पाइन्छ । “यही अनुपातमा गर्भपतन गर्दै जाने हो भने हाम्रा छोरी चेलीहरुको अवस्था के हुने हो ?” प्रश्न गर्छन् चिकित्सकहरु । प्रविधिको बढ्दो दुरुपयोग, गरिवी, अशिक्षा तथा उच्च महत्वकांक्षा असिमित चाहनाका कारण पनि यो समस्याले विकराल रुप लिएको चिकित्सकहरु बताउँछन् ।
चिकित्सक भन्छन्—“पछिल्लो समय समाजमा एउटा गम्भीर प्रवृत्ति देखिन थालेको छ यो गर्भपतन । परिवार नियोजनका साधनको प्रयोग नगरी, गर्भ रह्यो भने त्यसलाई गर्भपतन गरेर समाधान खोज्ने । यस्तो प्रवृत्तिले महिला स्वास्थ्यमा मात्र होइन, सामाजिक सोच र शिक्षामा समेत गहिरो प्रश्न उठाएको छ ।” जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीका अनुसार २०८०/८१ को तथ्यांक अनुसार गर्भपतन गर्ने महिलाहरूमा २० देखि ३० वर्ष उमेर समूहका अग्रस्थानमा छन् । तीमध्ये धेरै महिलाहरूले कुनै पनि गर्भनिरोधक साधन नअपनाएको पाइन्छ । निमित्त प्रमुख ज्ञवाली भन्छन्—“यौन शिक्षाको अभावले गर्दा दिन प्रतिदिन गर्भपतन गराउनेको संख्यामा वृद्धि भैरहेको छ ।”
अशिक्षित भन्दा शिक्षित महिलाहरु नै बढी जोखिममा रहेको एक तथ्यांकले देखाएको छ । औषधीको साइड इफेक्ट सहन नसक्ने तर पटक पटक गर्भपतन गर्ने हँुदा महिलाहरु बढी जोखिममा परेको चिकित्सकहरु बताउँछन् । नेपाल परिवार नियोजन संघ बुटवलको तथ्यांक अनुसार १३ देखि १९ वर्ष समूहका किशोरीहरु गर्भपतन गराउन आउने गरेको पाइएको छ ।
कक्षा ६ देखि १२ कक्षा सम्म अध्ययन गर्ने किशोरीहरु गरिव तथा न्यून परिवार भएका साथीभाइको लहड तथा प्रविधिको बढ्दो दुरुपयोग यसको कारण भएको परिवार स्वास्थ्य क्लिनिक बुटवलमा कार्यरत नर्सिङ्ग अधिकृत सुष्मा श्रेष्ठको भनाई छ । सानै उमेरमा गर्भपतन गराउँदा उनीहरुको स्वास्थ्यमा समेत असर पुग्ने तथा शारीरिक वृत्तिविकास, मानसिक विकास आदिमा प्रभाव पार्ने उनको भनाई छ ।
नेपालमा किशोरीहरू विशेष गरी २० वर्ष मुनिका उमेर समूह गर्भपतनको गम्भीर जोखिममा छन् । पारिवारिक अवस्था, सामाजिक दबाव, शिक्षा र स्वास्थ्यको कमी र लाज–संकोचले गर्दा उनीहरू असुरक्षित यौन सम्बन्धमा पर्न सक्छन्, जसले उनीहरूको भविष्यमा गहिरो असर पु¥याउँछ । बलात्कार, दुव्र्यवहार वा अनुचित यौन सम्बन्धबाट गर्भवती भै गर्भपतन गराएको पनि धेरै नै पाइन्छ ।
सन् २०२४ मा ४ सय ६० जनाले गर्भपतन गराएका थिए । जसमा १८ जना २० वर्ष मुनिका छन् । कक्षा ६ देखि १२ कक्षा सम्म पढ्ने किशोरीहरु यसमा पर्छन् । त्यस्तै सन् २०२५ को ६ महिना अवधिमा २ सय ३० जनाले गर्भपतन गराएका छन् । जसमा २० वर्ष मुनिको संख्या १३ जना किशोरीहरु रहेका छन् ।
२०२४ को तथ्यांक अनुसार २ सय ३४ जनाले औषधी प्रयोग गरेर गर्भपतन गराएका हुन् भने २ सय २६ जनाले औजार प्रयोग गरेर गर्भपतन गराएका छन् । सन् २०२५ को ६ महिनामा २ सय ३० जनामा १ सय ६० जनाले औषधी प्रयोग गरेका छन् भने ७० जनाले औजार प्रयोग गरेको पाइएको छ ।
महिनावारी भएको दिनबाट गन्दा २८ साताभन्दा पहिले नै गर्भमा रहेको बच्चा विभिन्न कारणले बाहिर निस्कने प्रक्रियालाई गर्भपतन भन्ने गरिन्छ । गर्भ पूरा हुनका लागि २ सय ८० दिन वा ४० हप्ता पूरा हुनुपर्छ । कुनै पनि महिलाले सुरक्षित तवरले गर्भ खेर फाल्नका लागि गर्ने प्रक्रियालाई सुरक्षित गर्भपतन भनिन्छ ।
सुरक्षित गर्भपतन मुख्यतया दुई विधिबाट गर्न सकिन्छ जसलाई औषधीको सेवनबाट गरिने गर्भपतन र औजारको प्रयोगबाट गरिने गर्भपतन । यो दुई विधिबाट गर्दा चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षित तवरले गरिने भएकोले यसलाई सुरक्षित गर्भपतन भनिएको हो । चिकित्सक भन्छन्—“औषधीको सेवनबाट गर्भपतन गराउन नमिल्ने महिलाहरुलाई औजारको प्रयोग गरेर गर्भपतन गराउने गरिन्छ ।”
हाल नेपाल सरकारको नियमअनुसार १२ सातासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । १३ साताभन्दा माथिको गर्भपतन विशेष अवस्थामा मात्रै गर्न मिल्छ । सुरक्षित गर्भपतन तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा मात्रै गर्ने गरिन्छ । यसअन्तर्गत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी दुवै मान्यता हुनु आवश्यक छ ।
स्वास्थ्य संस्था पिच्छे यसमा लाग्ने खर्च फरक फरक हुन्छ । प्रायः सबैजसो सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । असुरक्षित रुपमा गर्भपतन हुँदाका खतराहरुलाई कम गर्नका लागि सुरक्षित गर्भपतन सेवालाई सरकारले निःशुल्क बनाएको हो । असुरक्षित रुपमा गरिएको गर्भपतनका लागि धेरै महिलाहरुको अकालमा मृत्यु भइसकेको छ । १३ साता भन्दा माथिको असुरक्षित रुपमा गर्भपतन गराउँदा धेरै महिलाहरुको ज्यान गएको सुन्नमा समय समयमा आउने गरेको पाइन्छ ।
साधनप्रति डर, गर्भपतनप्रति निर्भरताका कारण पनि यसमा वृद्धि भएको हो । नेपालमा परिवार नियोजनको सुविधा सहज रूपमा उपलब्ध छ । तर, यथार्थमा ग्रामीणदेखि शहरी क्षेत्रसम्मका थुप्रै महिलाहरू अझै पनि कन्डम, खानेचक्की, इन्जेक्सन वा आयुसिडी जस्ता गर्भनिरोधक साधनप्रति उदासीन देखिन्छन् । यसकै परिणामस्वरूप, गर्भ बसिसकेपछि मात्र जागरण आउँछ जुन बेला उनीहरूले विकल्पको रूपमा गर्भपतन रोज्न बाध्य हुन्छन् ।
जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २०८०/८१ मा मात्र जिल्लाभर करिब ६ हजारभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये करिब ३० प्रतिशत महिलाले अघिल्लो वर्ष पनि यही सेवा लिएका थिए । “नियमित साधन प्रयोग नगर्ने र बारम्बार गर्भपतन गराउने प्रवृत्तिले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ,” जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सिङ्ग निरिक्षक दिपा खड्काको भनाई छ ।
शिक्षाको अभावः किशोरीदेखि युवतीसम्ममा प्रजनन स्वास्थ्यबारे पर्याप्त जानकारी छैन, संस्कार र डर गर्भनिरोधक प्रयोग गर्नु पाप हो भन्ने भ्रम अझै धेरैमा व्याप्त रहेको खड्काको भनाई छ । “पुरुषको दबाब धेरै महिलाहरू श्रीमानको इच्छा वा डरले साधन नअपनाउने बताउँछन् । पारिवारिक संवादको कमी पति–पत्नीबिच यौन स्वास्थ्य विषयमा सहज संवादको नहुनु पनि कारण हुन्”—उनको भनाई छ ।
गर्भपतन सजिलो देखिए पनि खतरनाक हुन सक्छ भन्दै स्त्री रोग विशेषज्ञ सदिक्षा चापागाई भन्छिन्–“गर्भपतन, विशेषगरी बारम्बार गरिँदा, गर्भाशयमा स्थायी असर पार्न सक्छ । बाँझोपन, संक्रमण र मानसिक तनाव पनि हुनसक्छ । साथै, अनौपचारिक वा अपूर्ण स्वास्थ्य सेवाबाट गरिएको गर्भपतनले जीवन नै जोखिममा पार्न सक्छ त्यसैले साधन अपनाउनु नै सबैभन्दा उक्तम उपाय । साथै जनजागरण विपना यो निर्मुलै त होइन निराकरण गर्न सकिन्छ ।”
जबरजस्ती करणी र हाडनाता बीचको शारीरिक सम्पर्कबाट गर्भ रहेको अवस्थामा १८ हप्तासम्मको गर्भ पतन गर्न पाइने अधिकार महिलामा निहित छ । लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमति बिना तथा १२ साताभन्दा बढीको गर्भ पतन गराउन नेपालको कानुनले बन्देज लगाएको छ । विशेष अवस्थामा विशेषज्ञ चिकित्सकको अनुमतिमा १८ सातासम्मको गर्भलाई समेत पतन गर्न पाउने अधिकार नेपालको कानुनले प्रदान गरेको छ ।
यदि विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत औषधिको सेवन गरेर गर्भपतन गरिन्छ भने त्यसलाई असुरक्षित गर्भपतन भनिन्छ । नेपाल सरकारले १० सातासम्मको गर्भलाई औषधीको सहायताले खेर फाल्न सक्ने नियम बनाएको छ ।