© २०२३
बुटवल, १ असार । क्रिकेट खेलको विकास र युवा खेलाडीलाई प्रोत्साहन गर्ने गरि बुटवलमा शुरु भएको क्लब स्तरीय प्रतियोगितामा वेष्ट्रन क्रिकेट क्लब विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा आईतबार भएको उजिरसिह रनिङसिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२ को उद्घाटन खेलमा वेष्ट्रनले गोलपार्क क्रिकेट क्लबलाई ९ बिकेटले पराजित गरेको हो ।
नरेनापुर क्रिकेट खेलमैदानमा टस जितेर गोलपार्क क्रिकेट क्लबले ब्याटिङ रोज्दै १४.४ ओभरमा केवल ६९ रनमा समेटियो । उसका लागि ओपनर सन्देश पन्थीले २३ र मनिष थापाले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न वेष्ट्रनका सुझाव थापा र सुमित थापाले समान ३–३ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेष्ट्रन क्रिकेट क्लब ५.४ ओभरमा केवल एक विकेटको नोक्सानीमा लक्ष्य भेटायो । वेष्ट्रनका देव खनालले ३१, रन्जित खत्रीले २४ र प्रज्वल थापाले १३ रन जोडे । खेलमा वेष्ट्रनका सुमित थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अध्यक्ष कृष्ण पौडेलले बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गर्दै बुटवलको पहिचान बनाएको क्रिकेट मैदानलाई स्तरोन्नतीमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका कावा अध्यक्ष रोमित बज्राचार्यले क्रिकेट खेलको विकासका लागि विगतदेखि नै विविध गतिविधि संचालन गर्दै आएको बताए ।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष गंगाराम सुनार, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, समितिका निवर्तमान अध्यक्ष नेत्र प्रसाद पौडेल, सहसचिव आयुष बोगटीले क्रिकेटको क्रेज र नगरमा भैरहेको खेल गतिविधिबाट युवा खेलाडीहरुलाई प्रोत्साहन मिल्ने बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक भुवन पाण्डेले बताए । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
असार ७ गतेसम्म चल्ने प्रतियोगितामा न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी रहेको छ । प्रतियोगिता आयोजना गर्न पाच लाख रुपैया खर्च हुने अनुमान रहेको समितिका सहसचिव आयुष बोगटीले बताए । गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको थियो ।