Butwal Today

सुरु भयो कालो बेसारको अनुसन्धान 

१ असार २०८२, आइतबार
अ+
अ-

सल्यान, ०१ असार ।

औषधिको राजा भनेर परिचित कालो बेसारको अध्ययन, अनुसन्धान सुरु भएको छ । कालो बेसार विशेष गरी शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने, क्यान्सरका कोशिका बढ्न नदिने, पाचन प्रणाली सुधार गर्ने, जोर्नी दुखाइ कम गर्ने, छालाको एलर्जी र फोका हटाउने, मानसिक तनाव घटाउने, श्वासप्रश्वासका समस्या सहज बनाउने जस्ता औषधीय गुणले भरिएको मानिन्छ ।

यिनै महत्त्वपूर्ण गुणलाई दृष्टिगत गर्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले यसलाई औपचारिक अनुसन्धानको प्राथमिकतामा राखेको हो । अनुसन्धान केन्द्रका प्रमुख डाक्टर घनश्याम भण्डारीले यसको भौतिक, रासायनिक तथा औषधीय विशेषता पहिचान गर्न विश्लेषण लगायत अनुसन्धानको कामलाई प्राथमिकतामा राखिएको बताए ।

“यस वर्ष अलि धेरै उत्पादन गरेर अनुसन्धानको काम बढाएका छौँ । यस वर्ष हामीले कालो बेसारको करिब ३० किलो बीउ रोपेका छौँ”, उनले भने, “कालो बेसारमा पाइने विभिन्न तत्त्वहरूको मात्रा, गुणस्तर र अन्य परम्परागत पहेँलो बेसारसँगको तुलनात्मक भिन्नता पत्ता लगाउनका लागि अनुसन्धान पनि सुरु गरिएको छ ।”

डाक्टर भण्डारीका अनुसार यस बेसारको जलवायु अनुकूलता, रोग प्रतिरोध क्षमता, उत्पादन क्षमता र भण्डारण गुणस्तर समेत परीक्षण हुनेछ । यस्ता अध्ययनले कृषकलाई व्यावसायिक खेतीका लागि आवश्यक वैज्ञानिक जानकारी उपलब्ध गराउने र नीति निर्माणमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । अनुवाबाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रबाट किसानहरूले कालो बेसारको खेती गरिरहेको जानकारी गराउँदै बजारीकरणका लागि सोधिखोजी गर्ने गरेको जनाएको छ ।

सल्यानका किसानले पछिल्लो समय कालो बेसारको खेती सुरु गरेका छन् । औषधीय गुण हुने भएकाले पछिल्लो समय यहाँका केही किसानहरूले कालो बेसारको खेती सुरु गरेका हुन् भने धेरै किसानले यसबारे चासो देखाएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर, ४ का कृषक पुरुषोत्तम भट्टराईले गाउँमै औषधीय महत्वले भरिएको कालो बेसारको खेती गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष समेत रहेका उनले सामुदायिक वनमा समेत यसको खेती हुने गरेको थाहा पाएपछि हाललाई आफ्नै निजी जमिनमा खेती सुरु गरिएको बताए । “गत वर्ष थोरै क्षेत्रमा कालो बेसार लगाएको थिएँ”, पुरुषोत्तमले भने, “राम्रो फलेपछि यसपालि करिब दुई रोपनी जमिनमा खेती गरेको छु ।” यो बाली नेपालमा अझै धेरैले नलगाए पनि पछिल्लो समय औषधीय गुण र बजार मूल्यका कारण कृषकहरू यसको सम्भावनातर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाको बागचौर, छत्रेश्वरी २ लगायतका क्षेत्रमा समेत कालो बेसारको खेती हुने गरेको छ भने किसानहरूले विभिन्न सरकारी निकायमा बजारीकरणका लागि सोधिखोजी गर्ने गरेका छन् । कालिमाटीका कृषक पुरुषोत्तमले भने, “अन्य क्षेत्रका किसानले पनि कालो बेसारको त्यति गरेको सुनेको छु । मैले उत्पादन गरेको कालो बेसार अहिलेसम्म बजारमा विक्री गरेको त छैन, तर जानकारी अनुसार काँचो कालो बेसारको मूल्य पाँच सयदेखि एक हजार रुपैयाँ प्रतिकिलोसम्म पर्छ भन्ने सुनेको छु ।” कसैलाई बीउ आवश्यक परेमा आफूले उपलब्ध गराउन सक्ने उनको भनाइ छ ।

कालो बेसार खेतीले आयुर्वेदिक औषधि उत्पादन, ग्रामीण स्वरोजगार र कृषकको आयआर्जन वृद्धिमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ । क्यान्सर लगायत निको नहुने रोगहरूमा यसको प्रयोग हुने र जसका कारण पछिल्लो समय विदेशमा माग समेत बढेको पाइएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले बताए ।

“नवलपरासी लगायत नेपालका अन्य क्षेत्रका सामुदायिक बनमा पनि विभिन्न संघसंस्थाहरूको सहयोगमा कालो बेसारको खेती हुने तथा विदेशमा समेत माग हुने गरेको जानकारी पाएका छौँ”, उनले भने । स्थानीय सरकार र कृषि क्षेत्रमा काम गर्ने निकायहरूको साथ, सहजीकरण तथा बजारमा पहुँच बनाइदिन सकेमा कालिमाटी गाउँपालिका सहित सल्यानमा कालो बेसार जस्ता आर्थिक महत्त्व बोकेका औषधीय बालीहरूको खेती फस्टाउन सक्ने देखिन्छ ।