© २०२३
सुर्खेत, १ असार ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति नजुट्दा आज कर्णाली प्रदेशसभाको बैठक स्थगित भयो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले बैठकमा सहभागी नहुने जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । कर्णाली सरकारका अर्थमन्त्री राजिवविक्रम शाहले ब्रिफकेश बोकेर बजेट प्रस्तुत गर्न प्रदेशसभा पुगेका थिए । तर, बैठक बस्न नसकेपछि बजेट प्रस्तुत गर्न पाएनन् ।
आज दिउँसो तीन बजेका लागि तय गरिएको बैठक अनिश्चित बनेको छ । माओवादी उपस्थित नहुँदा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन ।
माओवादीले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको छ । माओवादी संसदीय दलको बैठकले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसदमा मुख्यमन्त्री यमलाल कँडेलले जनाएको प्रतिबद्धता अनुसार जिल्लाबाट सिफारिस भएका योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।