© २०२३
बुटवल, ३१ जेठ ।
प्यारामाउण्ट क्रिकेट लिग—२०८२ को उपाधि प्यारामाउण्ट किङसले जितेको छ । प्यारामाउण्ट गोर्खाजलाई १३ रनले हराउँदै प्यारामाउण्ट किङसले लिगको पहिलो संस्करण आफ्नो पोल्टोमा पार्न सफल रह्यो । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको प्यारामाउण्ट किङसले निर्धारित २० ओवरको खेलमा ४ विकेटको क्षतिमा १२४ रनको मध्यम योगफल तयार पारेको थियो । १२५ रनको टार्गेट पछ्याएको प्यारामाउण्ट गोर्खाजले १८ औँ ओवरमा अलआउट हुनुअघि १११ रन मात्र बनाउन सक्यो ।
किङसको जीतमा विश्वास थापाले महत्वपुर्ण २९ रन जोडे भने, सन्देश पन्थिले २४, विक्की सुनारले नकआउट २४ तथा आर्यन भण्डारीले १६ रन बनाए । गोर्खाजका लागी नितिन शर्माले ३ र आरिफ अहमदले १ विकेट लिएपनि हार टार्न सकेनन । १२५ रनको लक्ष्य पछ्याएको गोर्खाजका लागी अर्पन तिमिल्सिनाले २९, सागर गैरेले १८ तथा रोशन बस्यालले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सझनालायक प्रर्दशन गर्न सकेनन । प्रतियोगितामा विजयी टोली किङसको तर्फबाट अलराउण्डर प्रद्र्धशन गरेका सन्देश थापा “म्यान अफ दी म्याच” घोषित भए ।
प्रतियोगितामा किङस कै नन्दलाल चाई बेष्ट ब्याट्सम्यान घोषित भए भने, गोर्खाजका समुन्द्र गौतम बेष्ट बलर तथा उपाधि विजेता किङसका टिम क्याप्टेन सन्देश पन्थी म्यान अफ दी सिरिज भए । समापन कार्यक्रममा प्रतियोगिताको विजयी टोली प्यारामाउण्ट किङसलाई नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरे भने उपविजेता टोली प्यारामाउण्ट गोर्खाजलाई नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकाका उपप्रमुख उमा अधिकारीले नेपाल मै पहिलो पटक अक्सनबेसमा आधारित प्रतियोगिता गरेर प्यारामाउण्ट माविले ग्रास रुट क्रिकेटमा नयाँ अध्यायको सुरुवात गरेको बताए ।
कार्यक्रममा बोल्दै प्यारामाउण्ट माविका संस्थापक प्राचार्य डा दामोदर भुषालले अक्सनमा आधारित प्यारामाउण्ट क्रिकेट लिगलाई हरेक वर्ष निरन्तर रूपमा सन्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । पुरस्कार वितरण समारोहमा क्यानका पूर्व सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट सङ्घका पदाधिकारी, प्यारामाउण्ट क्रिकेट कमिटीका अधयक्ष गोपाल ज्ञवाली एवँ अन्य पदाधिकारी, विद्यार्थी तथा खेलाडी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।