© २०२३
पहिलो दिन
सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी (बस्तुगत) को उद्देश्य अनुसार उत्पादन क्षेत्र अन्तरगत पहाडिया कागजको उत्पादन तर्फ अध्ययन गर्ने प्रयोजनका लागि मनहरी बस्याल, कृष्णप्रसाद पाण्डेय, दिवाकर घिमिरे, रामकृष्ण चापागाँइ र म समेतको टोली म्याग्दी र बाग्लुङका लोक्ता उत्पादन हुने क्षेत्रको अध्ययन गर्ने गरि २०८२ साल जेठ २४ गते बुटवलबाट निस्कने तय भएको रहेछ । म भने जेठ २४ गते नै मनिकर कार्कीद्वारा लिखित अर्थदृष्टी पुस्तकको बुटवल विमर्श कार्यक्रममा नीजि क्षेत्रको तर्फबाट वक्ताको रूपमा विचार राख्ने गरि तय भईसकेको हुनाले जाने नजाने निक्र्योल गरिसकेको थिइन । पुस्तक विमर्श कार्यक्रममा बसौ कि नेपाली कच्चा पदार्थमा आधारित उद्योग स्थापनार्थ तय भएको अवलोकन भ्रमणमा जाउँ भन्ने विषयमा मनमा ठूलो दुविधा नै थियो ।
तथापि आइसकेको पुस्तकको विमर्श भन्दा नयाँ संभावनाको अभियानलाई प्राथमितामा राख्ने निष्कर्ष सहित २४ गते विहान ६.०० बजे तिर रामकृष्णजीलाई ८ बजे हिड्ने गरि भ्रमणमा सहभागी हुने जानकारी दिएँ । म ८ बजे तयार भए पनि कृष्ण दाइ र दिवाकरजी ९ बजे सम्म आइपुग्ने भएपछि म, मनहरिजी र रामकृष्णजी बुटवल जेसिज चौकको भक्तजीको चिया पसलमा चिया पिउदै गर्दा दिवाकरजी र कृष्ण दाइ पनि आइ पुग्नु भो र बुटवलको व्यापार कर्पोरेसनमा हामी जाने स्कारपियो गाडीमा म्याग्दीको सदरमुकाम बेनीमा बास बस्ने गरि उकालो लागियो । बुटवलबाट पाल्पा–राम्दी–जिरो–मिर्मी हुँदै स्याङ्जा–पर्वत साइडबाट जाने कि पाल्पा–रिडी–रुद्रबेणी हुँदै गुल्मी–बाग्लुङ साइडबाट कालीगण्डकी कोरिडोरको बाटो भएर जानेमा दुबै रुटको बारेमा व्यापक विमर्श गर्दैगर्दा स्कारपियोका ड्राइभर भाइले रिडी–रुद्रबेणीको कालीगण्डकी कोरिडोरको बाटो उपयुक्त हुने राय राखे पछि सोही अनुसार जाने निष्कर्षमा पुगियो ।
हामी बर्तुङबाट गोर्खेकोट निस्किएर बराङ्दी हुदै रानीमहलको छेवैबाट कालीगण्डकीको किनारै किनार कालीगण्डकी कोरिडोर भएर हिड्दै थियौ । बिचबिचमा स्याङ्जाको बिर्घामा जन्मे, हुर्के, बढे, पढेका कृष्ण दाइ र पाल्पाको यम्घामा जन्मे, हुर्के, बढे, पढेका मनहरिजीले बाल्याकालका त्यो गोरेटो बाटोका चाखलाग्दा स्मरण र पुरानो बाटोको अबस्थाको बारेमा कहिले आलोपालो त कहिले एकैपटक हामी चारजना श्रोतालाई सुनाउन भयो र हामी पनि चाखले दुबैका कुरा सुन्यौ । बिच बिचमा रामकृष्णजीले पनि केहि न केही थप्दै जानू भो । कुरा गर्दै र सुन्दै अर्गलीको फेदीमा पुग्दासम्म समय बितेको र बाटो कटेको थाहै नपाए जस्तै भएको थियो ।
अर्गलीको फेदीमा पिपलको छहारीमा कक्षा ५/६ देखि ११/१२ सम्म पड्दै गरेका विद्यार्थी जस्ता देखिने भाई बहिनीहरूले एक सयमा एक झोला लिची भन्दै लिची बेचिरहेका रहेछन । हाम्रो गाडी देखिने बित्तिकै सडकको बिचमा आएर गाडी रोके हामीले पनि गाडी रोक्यौ र एकछिन तिनीहरूसंग रमाइलो ग¥यौ । म बसेको सिटको झ्यालबाट १७÷१८ वर्षकी जस्ती देखिने नानी गाडी भित्रै हात पसालेर लौ न लिनु न भन्दै मेरो हातमा र काखमा लिची राख्दिइन । मैले पनि मजाक गर्दै कसले पठाइ दिएको हो नानी लिची भन्दै जिस्काएँ । नानीले लाजले मुन्टो निहुराइन, एकछिन सबै गलल हाँस्यौ । अन्तमा प्रति झोला १००– का दरले पैसा भुक्तानी गरि रिडीसम्म तिनै विद्यार्थी भाई बहिनी कुरा गर्दैगयौं । बिहानको खाना रिडीको विहानी होटलमा खाने बाटैमा तय गरेका थियौँ । यस भन्दा अघिको मनहरीजीको यात्रामा रामचन्द्र कोइरालाको सल्लाहमा यहि होटलमा खाना खाएको र खाना मीठो र स्वस्थकर पनि भएको भनेकोले हुनाले हामीले कुन होटलमा खाउँ के गरौँ भनिरहन परेन ।
रुद्रवेणी बडिगाड किनार हुँदै बुर्तिबाङसम्म त हामी सबै यात्री गएकै थियौँ तर कालीगण्डकी कोरिडोर हामी सबैका लागि नौलो थियो । सडकहरूका सबै घुम्ती र कालीगण्डकी पूर्व र पश्चिमका फाँटहरूले हामी जस्ता सयौँ नयाँ पाउनालाई स्वागत गरेकोग¥यै छन । रुँदारुँदै आँशु सकिएजस्तै बहुचर्चित लोक भाका मिर्मी मुनि काली थुनेको भन्ने भाकाले भने जस्तै पानी नभएको नदी देख्दा मनमा बैराग्यता आउँदो रहेछ । अरू धेरै प्राकृतिक सौन्दर्यता देखिँदादेखिदै पनि शालिग्रामलाई समेत नुहाउने पानी पनि नभएको कालीगण्डकीमा पानी त थिएन नै हेर्ने नदीको मर्मस्पर्श गर्ने कतिका आँसु बगाए होला जस्तो पनि लाग्यो ।
कालीगण्डकी जलविद्युत आयोजनाको जलासय क्षेत्र हर्मीचौर मिर्मी बिचको जलासय र सो भन्दा माथिको भुगोल भन्ने वर्णन गरेरै नसकिने सुन्दर रहेछ । पुर्तिघाट, हर्मीचौर लगायत धेरै बोलिचालीका पहाड घर कहाँ नि हजुरको भनी सोधपुछमा नाम आउने कालीगण्डकी किनाराका बस्तिबाट बुटवलमा बसाइसराई गरेका धेरै साथी संगीहरूको घर र पाखापखेरा हेर्दै बलेवा नपुग्दैको सानो चिया पसलमा चिया पिएर पर्वत, बाग्लुङ र म्याग्दीसम्म सडक यातायात पहुँच नहुँदाको काठमाण्डौ र पोखरासंग जोड्ने बलेवा एयरपोर्ट गाडी भित्रैबाट हेर्दै करिव ४ बजेको सेरोफेरोमा बाग्लुङ बजार पुगियो ।
भ्रमणको उद्देश्य अनुसार बाग्लुङ बजार नजिकै पहिले नेपाली हाते कागज बनाउने उद्योग रहेको सो सम्बन्धमा बाग्लुङ उद्योग वाणिज्य संघका नि.अध्यक्ष नरेश कडेल जानकारी छ भन्ने हामीलाइ प्राप्त पुर्व सूचना अनुसार नै मैले नरेशजीलाई बाग्लुङ आउदै गरेको र भेटको अपेक्षा सहितको संवादबाट भेटको सुनिश्चितता भए बमोजिम फोन ग¥यौ । नरेशजी बाग्लुङ बजार भन्दा केही टाढा भएका कारण केही समय बाग्लुङ उवासंघको उपाध्यक्षको कपडा पसलमा पर्खन भन्नू भो । कोरोना शुरु हुनु भन्दा पहिलेसम्म राम्रै चलेको लोक्ताबाट बनेको नेपाली हाते कागज उद्योग हाल भने बन्द भईसकेको रहेछ । नेपाल उद्योग बाणिज्य महासंघ एक जिल्ला एक उत्पादनका लागि बाग्लुङ जिल्लालाई लोक्ता र हाते कागज उत्पादनको पकेट क्षेत्र घोषणा गरेको र सोही अनुसार निजी क्षेत्र र सरकारको आग्रहमा ग्ल्म्ए अन्तरगत मेशिनरी, प्राविधिक र आर्थिक सहयोग समेत माथी उल्लेखित कागज उद्योगलाई प्राप्त भएको थियो ।
नरेश कडेलजी संस्थापक अध्यक्ष रहेको सहकारी मार्फत संचालनमा रहेको उक्त उद्योग जति चर्चामा रह्यो त्यति लामो समयसम्म चल्न र उत्पादन दिन भने सकेन भन्ने दृष्टान्त फेहरिस्त पनि नरेशजी मार्फत नै सुन्यौ । दक्ष श्रमिकको अभाव, अस्थिर बजार, कमजोर बस्तुको ब्यापारमा पकड, स्थानिय कच्चा पदार्थ हुदाहुदै पनि बाहिरबाट आउने हाते कागजको मूल्य भन्दा हाम्रो उत्पादन लागत बढी भएका कारण र सहकारी मार्फत संचालन भएको हुँदा ब्यक्तिगत जिम्मेवारी बोधको कमि हुनुका साथै अन्य कारणले सहकारी कालोसूचीमा परेका कारण उद्योग पनि बन्द रहेको जानकारी समेत भयो । भोली लेखनी भन्ने गाउँमा रहेको उक्त उद्योग निरिक्षण गर्ने गरि सहकारीका उपाध्यक्षको नाम र नम्वर लिएर बाग्लुङे सबै साथीसंग मौका मिले फेरि भेटौला भन्दै म्याग्दीको बेनी बजारतिर लाग्यौ ।
अनि हामी मध्ये कोही पनि नघुमेको १२/१३ किमीको दुरीमा रहेको चर्चित पर्यटकीय स्थल पंचकोटको अवलोकन गरि बेनी जाने सल्लाह भयो र हाम्रो गाडी उकालो लाग्यो । पंचकोटबाट मोवाइल र मस्तिष्कमा राख्न मिल्ने र सक्ने जति सबै राखी बेनीको बजार जता माया उतै छ नजर भन्दै गाडी भित्र सामुहिक स्वरमा गीत घन्काउदै बेनी बजारतिर लाग्यौं । संसाझैमा बेनी पुगियो । बेनीको सम्पर्क ब्यक्ति भिमबहादुर श्रेष्ठजीसंग भेट भइ भोलि बिहान अर्थात २५ गते धौलागिरी गाउँ पालिकासम्मको योजना भिमजीले तय गरिदिएको होटल हिलभ्युमा दिनभरको थकाइ मेट्न निद्रादेवीको शरणमा परियो । म र कृष्ण दार्ई एउटा कोठामा थियौ । दिवाकर, मनहरी र रामकृष्णजी एउटा कोठामा हुनुहुन्थ्यो । शुरुमा त तिनैजना निदाउनु भएछ केही बेरमा मनहरी र रामकृष्णजीले चकमन्न र सुनसान रातलाई घुरन विधिको प्रयोग गर्दै कहिले ड्रमसेट बजाए जस्तो त कहिले पियानोको प्राकृतिक स्वर सहित संगीतमय बनाउन शुरु गर्नु भो । दिवाकारजी निकै आनन्दमय तरिकाले निःशुल्क संगीत श्रवण अससर मिल्यो भन्दै रातभर उफ्री उफ्री रमाउनु भएछ !
दोश्रो दिन
विहान सबेरै नित्यकर्म गरि धौलागिरी गाउँपालिकाको मुना भन्ने ठाउँमा लोक्ताको संभाब्यता अध्ययनका लागि हिड्ने तयारी गर्दैगर्दा भिमजी पनि टुप्लुक्क आइपुग्नु भयो । हामी बुटवलबाट गएका पाँचजना र भिमजी समेत छ जनाको टोली धौलागिरी गाउँपालिकाका लागि म्याग्दी खोलाको तिरैतिर उत्तरतर्फ लाग्यौ । सिंगा तातोपानी हुँदै मंगला गाउँपालिकाको बाबियाचौरस्थित दुर्गा कटेज एण्ड तन्दुरी हाउसमा फापर वा कोदोको रोटी सहितको स्थानिय उत्पादनको खाजा खाउला भनेको त्यहाँ त जोसिलो पेय पदार्थ र चिया बाहेक केही नपाउने रहेछ । कटेजमा चियाको अर्डर गरि नजिकको किराना पसलबाट बिस्कुट ल्याएर विहानी खाजाको जोहो गरियो । खाजा पश्चात् म्याग्दी जिल्लाको दोश्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ हुँदै माथी लाग्दै गर्दा नजिकै निवृत्त शिक्षक शालिकराम गौतमले संचालन गरेको मालिका गाउँपालिकामा संचालन गरेको मालिका कागज उद्योग पसी शालिकरामजीसंग उद्योग संचालनको बारेमा कच्चापदार्थ ब्यवस्थापनदेखि उत्पादन प्रकृया, उत्पादन लागत, जनशक्ती ब्यवस्थापन, उत्पादित बस्तुको बजार र तुलनात्मक लाभको बारेमा व्यापक छलफल गरियो । शालिकरामजीले हामीले राखेका सबै जिज्ञासाहरूलाइ सम्बोधन गर्ने प्रयास गर्नुभयो ।
जनशक्ती ब्यवस्थापन र गुणस्तरहिन हाते कागज नै प्रमुख समस्याको रूपमा रहेको जिकिर गर्नुभयो । उद्योग परिसरमा सुकाएको कागज, बनाउदै गरेको कागज, कच्चा पदार्थ लोक्ताको बजार भाउ र उत्पादित बस्तु प्रति ताउ कागजको मुल्यको जानकारी लिई हामी धारापानी, ताकम हुँदै मुनातर्फ लाग्यौ । खानाका लागि भिमजीले धौलागिरी गाउँपालिका वार्ड नं. ७ ताकम सिवाङ्को हेम नमूना माध्यमिक विद्यालयका शिक्षक (पुर्व प्रअ एवम आरपी समेत भएका) का थरका एकजना सरलाइ फोन गर्नुभयो । हामी ताकम पुग्दा कम गाडी चल्ने भएका कारण हाम्रो लागि खाना तयार गरेका साहु साहुनीहरूले गाडीको हुलिया र नम्वर देखेरै चिनेर स्वागत गरे । हामी होटलमा पस्दै गर्दा एकजना गाउँले जस्ता देखिने अधबैंसे पुरुषले कोकाकोला पिउदै थिए । मेरो त्यसतर्फ ध्यान आकृष्ट भयो र उनी हिडेपछि होटलमा देखिएका कोकाकोला, चिजवल्स र कुरकुरे जस्ता बस्तुको कारोवारको बारेमा जिज्ञासा राखेँ । स्थानिय उत्पादनको चामलको भात, निउरोको साग र मसुरो मिसाएको कालो दाल सहित कुखुराको मासु सहितको भोजन र होटल संचालक साहु साहुनीको बोली ब्यवहारले हामी सबैलाई खुसी तुल्यायो ।
हामीले खाना खाँदाखाँदै गिरीप्रसाद छन्त्याल सर पनि टुप्लुक्क आइपुग्नु भो । छन्त्याल सरले मुना भन्ने ठाउँमा पुग्नका लागि थली गाउका केशरबहादुर भन्ने एकजना टाठाबाठा मानिसलाई सम्पर्क गराइ दिनुभयो र उहाँले भने अनुसार हामी करिव २२०० मिटरको उचाइ भएको हिमाललाई ऐनामा आफ्नो अनुहार हेरे जस्तै सामुन्ने देखिने बाटो भएर अगाडि बढियो । केशरजी र म्याग्दी हाइड्रोको संचालक बताउने एकजना भद्र पुरुषले मुना सम्म पुग्नका लागि सडक अवरुद्ध रहेको र लोक्ता उत्पादन र सप्लाइमा दख्खल राख्ने वार्ड सदस्य किरण भन्ने साथी पनि भिर मौरीको मह काड्न माथी लेखतिर गएकोले यसभन्दा माथी जानू नपर्ने र किरण फर्के पछि सबै कुरा टेलिफोन मार्फतै गर्ने गरि फर्कने सल्लाह दिए अनुसार हामी त्यहिबाट फर्कियौ ।
अब हाम्रो यात्रा बेनी, बाग्लुङ, हटिया हुँदै बुर्तिवाङतर्फ तय ग¥यौ । बेनीमा भिमजीलाई छोडी बाँकी रहेका पाँचजना साथीहरू बाग्लुङ्बाट नरेश कडेलजी समेतको लेखानीमा रहेको बन्द उद्योगको बारेमा बुझ्न बाग्लुङ बुर्तिबाङ सडकको अक्षेते भन्ने सानी बजारबाट मध्यपहाडी लोकमार्ग छोडी भित्री सडक भएर लेखानीतर्फ लाग्यौ । अक्षेतेबाट करिव ४०÷४५ मिनेटमा उद्योग स्थलमा पुगियो । बाहिरबाट हेर्दा संरचना ठिकठाक नै देखिन्थ्यो तर बन्द भएको पनि करिव चार वर्ष भएको दृष्टान्त उपाध्यक्षज्युले सुनाउनु भयो । उहाँले खासमा अनेत्रका लागि तय भएको योजना विविधकारणले कसैको प्रतिष्ठाका लागि जवरस्त लेखानीमा सहकारी मार्फत गर्ने गरि लादिएका कारण धेरै कुरा नबुझ्दै काम शुरु गर्नुपरेको र सहयोगी दाताको प्रभाव र दवाबले यो अबस्थामा आएको कुरा बताउनु भयो ।
तुलनात्मक रूपमा कच्चापदार्थ कम पाइने र कामदार दक्ष जनशक्तिको अभाव पनि उत्तिकै महत्वपूर्ण फ्याक्टर रहेको कुरा सजिलै बुझ्न सकिन्थ्यो । यो उद्योगमा शुरुका दिनहरूमा कागजका अलवा फोटो फ्रेम, डायरी र कार्ड समेतका शैक्षिक सामाग्री समेत उत्पादन भएको, उत्पादन लागत बढी भएको र बजार मुल्य कम भएका कारण दिगो रूपमा उद्योग संचालन हुन नसकेको भन्ने कुरा पनि स्पष्ट बुझियो । यस उद्योग र उद्योग चलाएको सहकारीका सबै कथा ब्यथा सुनी हामी लेखानीको लेक हुँदै हटिया तर्फ लाग्यौ । लेखानीको लेकमा फलेको ऐसेलुले हाम्रो ध्यान खिच्यो, हामी सबै गाडीबाट झरेर ऐसेलुको बोटतर्फ लाग्यौ । सबैले लेकमा फलेको ऐसेली चाख्दै त्यसको वरिपरि देखिने अन्य वनस्पती खासगरी लोक्ता भएको अनुमान गर्दै केही बोटका हाँगा भाँची बोक्रा निकाल्न शुरु ग¥यौ र घना लेकाली जंगल र चिसो हावापानीको आनन्द लिदै एकैछिनमा भित्री सडकबाट मध्यपहाडी लोकमार्ग प्रबेश गरि हुङ्दीशिरलाई दाहिने पारेर नरेठाँटी हुँदै हटिया पुगियो । चर्चित र सादगी वामपन्थी नेता चित्रबहादुर केसीले पढाएको र पछिल्लो समयका वहुचर्चित शिक्षक नेता एवम आफ्नो समयका कुशल प्रधानाध्यापक घनश्याम पाठक सरले कक्षा ९ सम्म पढेको गल्कोट माध्यमिक बिद्यालय हेर्दै सोही विद्यालयको मुल प्रवेशद्वारसंगै जोडिएको टिकाराम गौतमजीको पुस्तक पसलमा बसी चिया पिउदै मध्यपहाडी लोकमार्गले फेरिएको जिवनशैली व्यापार बिस्तारका बारेमा चर्चा गरि हामी बुर्तिबाङतर्फ लाग्यौ ।
सधै झै नित्यकर्मपछि के.सी.जीको पसलमा हामी सबै पुग्यौ । हाम्रो सहकारीको व्यापार र त्यसबाट उहाँले लिनसक्ने अतिरिक्त लाभसंगै सेयर सदस्य बन्न समेत आग्रह ग¥यौ । यसैबीचमा मैले बुर्तिबाङ उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याललाई फोन गरेर भेट हुन चाहेको कुरा राखेँ । ढालेन्द्रजीले हार्दिकताका साथ होटलमै आई भेट गर्ने भन्नू भो र नजिकै हुनुहुदो रहेछ । कुरा गर्दागर्दै आइनै पुग्नु भो । संगै चिया पिउदै सन्चोबिसन्चोको अनौपचारिकता भलाकुसारी गर्दै बुर्तिबाङको बिगतदेखि वर्तमानसम्मको ब्यापारको अबस्था, उद्योग वाणिज्य संघको सांगठनिक संरचना, सदस्य संख्या, नविकरण दस्तुर, संघ सचिवालयको अबस्था लगायतका बारेमा कुरा ग¥यौ । अन्ततिर फेरि पनि लोक्ता र हाते कागज बारेमा विश्वासिलो सुचना दिन सक्ने ब्यक्ती भनेको रामबहादुरजी नै भएको भन्ने हाम्रो जिज्ञासाको जवाफ दिदै बुटवल आउदा भेट हुने प्रतिबद्धताका साथ उहाँ (छन्त्यालजी) विदा हुनुभयो ।
हामीले जसलाई प्रतीक्षा गरिरहेका थियौ उहाँलाई नै कसैले चिन्दैन्थ्यौ । यत्तिकैमा कालो घेराको हरियो टिसर्ट माथी आस्कोट र कालो पाइन्ट लगाएको मानिस होटल भित्र पसे । सरासर काउण्टरमा गएर बुटवलबाट आएका सहकारीका सरहरू को हुनुहुन्छ भन्दै सोद्धै गर्दा छेवैमा उभिएका हामीलाइ चिन्न गा¥हो भएन । उहाले पनि केही वर्ष पहिलेसम्म कागज उत्पादन गरेको र हाल उद्योग बन्द रहेको तितो इतिहास बताउदै फेरि पनि राम्रो संभावना भएको आशालाग्दो कुरा गर्दै सकेसम्म बुर्तिबाङकै सेरोफेरोमा उद्योग संचालन गर्न सक्दा ढुवानी र सप्लाइमा सहज हुने सल्लाह समेत दिनुभयो । सामुदायिक बनको समिती, जिल्ला बन डिभिजन, स्थानिय तह, पुलिस प्रशासनका कारण काम गर्न दुःख हुने गरेको र कतिपय अबस्थामा लोक्ता बाहिर लैजादा बनका कर्मचारी र सुरक्षा निकायले चरेश नै लैजादै गरेको तस्करलाई गर्ने अपमानित व्यवहार हुने गरेको अनुभव समेत सुनाउनु भयो ।
फेरि पनि हामीले हातेकागज बनाउने उद्योग संचालन गरेमा कच्चापदार्थको कमि हुन नदिने र भरपुर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यतिखेर करिव ११ बजिसकेको थियो । हामी पनि बुटवल फर्कन आत्तिएका थियौ । होटलबाट चेकआउट गरि बुटवल तिर लाग्यौ । मध्यपहाडी लोकमार्ग भएर पूर्वी रुकुमतिर नगएका साथीलाई बाटो छुट्टिने ठाउँ देखाउदै ग्वालीचौरको खरेलजीको होटलमा खाना खाने गरि हामीले तय गरेको भोजनालयमा आइपुग्यौ । रामकृष्णजीले ३/४ पटक खाना खाएको होटल हुनाले मीठो र स्वस्थकर खाना पाइनेमा हामी ढुक्क थियौ । रामकृष्णजीले भने भन्दा नि स्वादिष्ट खाना खुवाउनु भयो । खाना खाएपछि धेरै बेर नअलमलिएर हामी हिड्यौ । वामी आउनै लाग्दा यमलाल लोहनीजीलाई घरबाट केही ल्याउनु छ कि भनेर मनहरिजीले फोन गर्नुभो ।
लोहनीजीले अग्निधर दाइकोमा पसेर आउन आग्रह गर्नु त भएको थियो तर हामी कुरा गर्दै अगाडि आइसकिएछ दाइकोमा पस्न छुट्यो । चोरकाटेबाट शान्तिपुर पसौ कि भन्ने कुरा भयो त्यहाँ पनि पसिएन र सरासर बडिगाडको प्रसिद्ध सहर माछा किन्न पाउने ठाउँमा रोकियो । माछा धेरै रहेनछ जेनतेन कृष्ण दाइलाईसम्म पुग्यो अरू हेरेको हे¥यै ! त्यसपछि हामी सरासर अर्गली जाने र अर्गलीबाट लिची किनेर लैजाने योजनाका साथ अर्गली पुग्यौ । अर्गलीमा लिची किनेपछि मौका मिले अर्को वर्ष पनि लिची खान र लान आउने भन्दै त्यहाँबाट निस्कियौ । त्यसपछि राणा जरनेल खड्क शमसेरले पत्नी वियोगमा बनाएको रानीमहल अबलोकन गरि बराङ्दी, बतासे, कैलाशनगर, शितलपाटी हुँदै तानसेन बजारलाई छिचोल्दै जोरधारा प्रेमजीको होटलमा चिया पिउदै प्रेमजीले बुटवलको शहरीकरण र पार्किङ ब्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघले ध्यान दिनुपर्ने भन्ने सल्लाह ग्रहण गर्दै बुटवल घर आइपुग्यौ ! यसरी हाम्रो तिनदिने अध्ययन अवलोकन भ्रमण समाप्त भयो ।