© २०२३
सोमवार बुटवल छाड्दा विहानको ८ बजिसकेको थियो । जोगीकुटीको सिद्धबाबा मिष्ठान्न भण्डारमा विहानको खाजा स्वरुप रोटी खाएर हिडेपछि मिलनचोकमा युवराज घिमिरेसँग भेट भो । मोटरमा लक्ष्मण ज्ञवाली, युवराज, म र चालक सन्दिप भयौं । मोटर आफ्नै गतिमा हुईँकियो । तामनगर, सैनामैना, रामापुर, जीतपुर, शिवपुर, वनकसिया हुँदै धानखोला, भालुवाङ, देउखुरीमा रहेको लुम्बिनी प्रदेशको राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रदेश संसद सचिवालय र विभिन्न मन्त्रालयमा पुगियो । त्यतिबेला विहानको सवा १० बजिसकेको थियो । केहीवेर सभामुख तुलाराम घर्ति मगरसँग भेटघाट र सामयिक विषयमा छलफल भो ।
नेकपा एमालेको सम्पर्क कार्यालय देउखुरीमा प्रदेश पार्टी सचिव लक्ष्मण आचार्य, कार्यालय सचिव मीना गुरुङ, लमही नगरपालिकाका पूर्व मेयर कुलबहादुर केसीसँग भेट हुने अवसर मिल्यो । मीना दिदीले मिठो चिया पिलाईन् । फर्केपछि माननीय भोजप्रसाद श्रेष्ठसँग उनकै दलको कार्यालयमा चिया गफमा गफियौं । प्रदेशले बनाईरहेको बजेट, यसको प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा उनले विगतदेखिका पद्धतिका बारेमा लामो व्याख्या गरे । अर्थ समितिका सभापति राजु श्रेष्ठसँग भलाकुसारी गरि मुख्यमन्त्री कार्यालय पुग्दा नवलपरासी सुनवलकी नगरप्रमुख बिमला अर्याललाई अर्थ–अन्वेषण म्यागाजिन दिई फोटो खिच्ने अवसर जुर्याे । हुन त यो म्यागाजिन सभामुख, स्वास्थ्यमन्त्री, अर्थ समितिका सभापति, पत्रकारलाई दिने अवसर आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले जुटाई दिएका थिए । सोही दिनको दिउँसो कृषि, भूमि तथा सहकारी मन्त्री दिनेश पन्थीको विशेष आतिथ्यतामा राप्ती सोनारी गाउँपालिकाले तयार पारेको खाद्य तथा पोषणसम्बन्धि रणनीतिक योजनाका बारेमा सहभागी हुने अवसर मिल्यो । मुख्यमन्त्रीका प्रेस संयोजक दशरथले उक्त कार्यक्रममा सहभागिताका लागि समय मिलाई दिएका थिए । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले सो कार्यक्रममा आफ्ना विचार प्रस्तुत गरेका थिए । सोमवार साँझ हामी नेत्रलाल अभागी स्मृति प्रतिष्ठान लमही रातोडाँडामा बास बस्न पुग्यौं । सन्दिपले जाँगर गरेर मिठो भान्सा तयार गरे । गर्मीले घरि छतमा घरि कोठामा भैलो खेलायो । तराईको उखरमाउला गर्मीको के बयान गर्ने ?
विहानपख वाक हिडियो । चिया पिईयो चोकमा बसेर । मज्जाका गफ चले । यसको मज्जै अर्काे ! खाना खाईवरि हिड्नेबेला अभागी स्मृति प्रतिष्ठानका सचिव कुलबहादुर केसी टुप्लुक्कै आईपुगे । क्षणभर कुराकानी चलेपछि हामी लमहीको वनगाउँतिर जाने सल्लाह अनुसार अघि बढ्यौं ।
वनगाउँ पुगेपछि बालिका वलीले सञ्चालन गरेको टाईगर हिल्सन गार्मेन्ट हेर्न थाल्यौं । लेडिज तथा जेन्स आइटम तयार गरिने रहेछ । करिव आधाघण्टा उनले आफ्नो गार्मेन्टका बारेमा प्रगति, उन्नति र संघर्षका कथा सुनाईन् । जीवनसाथीसँगको साथ छुटेपछिका संघर्षमय दिनहरुलाई उनले कसरी काटिन् ? कसरी दुई छोराहरु हुर्काइन, पढाईन् र अघि बढाईन् ? आफ्नो गार्मेन्टबाट उद्यमशील यात्रालाई कसरी आजको सफल दिनसम्म ल्याई पुराईन ? बिछोडका दिनहरुलाई कसरी बिर्सिइन् ? कर्जा काढेर सुरु गरेको गार्मेन्टले कसरी गति लियो ? यसका दुःखका पाटा र सञ्चालनका कठिनाईहरु के के छन् भन्ने सुनिरहँदा मनमा अनेक कुरा खेलिरहे । करिव ४० जना महिला तथा पुरुषलाई उनले रोजीरोटी दिएकी छिन् । आफू पनि धसिएकी छिन् काममा । रातोदिन काममा तल्लीन बालिकाले सुखको सास फेर्न आजसम्म भ्याएकी छैनन् । तैपनि मुस्कानसहितको सेवामा गतिशील छिन् । गार्मेन्टलाई मन्दिर र ग्राहकलाई भगवान मानेकी बालिकाले श्रीमानसँग पारपाचुके गरेपछि आफ्नो व्यवसायमा पछाडि फर्केर हेर्न परेको छैन । जेठो छोरालाई आइटी पढाएर वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाएकी छिन् । कान्छो छोराले ११ को परीक्षा दिएर १२ कक्षा सुरु गरेका छन् । १५ वर्षको किशोरी अवस्थामा सिन्दूर पहिरेकी बालिकाले विहेको १८ वर्षसम्म पारिवारिक जीवन गुजारिन् । ९ वर्ष भो विहेको यात्रा छुटेको । तरपनि उनमा हीनताबोधले राज गरेको छैन । काम गरेर खान सकिन्छ, हिम्मत गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएकै छ । १० लाख पुँजीबाट सुरु भएको उनको व्यवसायले ढाई करोड लगानी पुराएकै छ । करिव डेढ करोड वार्षिक कारोवार हुने उनको व्यवसायले स्थानीय महिलाहरुलाई रोजगारी दिएको छ ।
उनको जीवनयात्राले के दिन्छ थाहा छैन तर सफल उद्यमीका रुपमा उनलाई देख्दाभने मनमा आनन्द प्राप्त भयो । नेपालमा समृद्धिका ठूला गफ चुट्नुभन्दा स–साना यस्तै उद्यमबाट समृद्धिका ठूला सपना पूरा गर्न सकिन्छ । बालिकाले जस्तै स्थानीयहरुलाई रोजगारी दिने हो भने युवाहरु परदेश जानबाट रोकिने सम्भावना देखिन्छ । यसका लागि सरकारले सस्तो र सुलभ दरमा कर्जाको व्यवस्थापन गर्न जरुरी देखिन्छ । विद्युत, कच्चा सामग्री र बजार व्यवस्थापनमा सरकारी सहयोग भएमा ससाना उद्यमहरुले फस्टाउने मौका पाउने छन् ।
हामीलाई गार्मेन्टसम्म पुराउन सहयोग गर्नुहुने लमही नपाका पूर्वमेयर कुलबहादुर केसीप्रति कृतज्ञ छौं । लक्ष्मण ज्ञवाली, युवराज र मैले गार्मेन्ट हेरेपछि थुप्रै कुरा जान्ने अवसर पायौं । समृद्धिको सपना स–साना उद्यम सञ्चालन गरेर पनि पूरा हुन सक्छ भनेर अड्कल काट्यौं । मंगलवार हामीले देउखुरीमा बहुमूल्य समय बितायौं । यात्रामा हामीले अनेकौं मानिसहरुसँग भेटघाट गर्याैै । अनुभव साटासाट गर्याैं । सिकाईलाई व्यवहारिक बनाउन कसरी सकिन्छ भनेर छलफल गर्याैं । जीवन यात्रा रहेछ, यात्रा नै जीवन रहेछ । यही बुझाईसाथ बुधवार बुटवल फर्कियौं ।