© २०२३
दाङ, ३१ जेठ ।
राप्ती गाउँपालिका वडा नम्बर ७ का तीर्थराज ज्ञवालीको खेतबारी यतिबेला हरियाली छ । घरमा खानलाई रोपिएको केरालाई बिस्तार गरी उनले व्यावसायिक खेती गरेका छन् । पहिले थोरै थिए, तिनै बोटलाई बिस्तार गरी व्यावसायिक खेती गरिएको हो ।
ज्ञवालीको केरा खेती ५० कठ्ठा जमिनमा फैलिएको छ । दाङमा केरा खेतीको लागि उपयुक्त हावापानी छ, त्यसैले धान खेत मासेर केरा खेती गरेको उनले बताए । चाडपर्व र सिजनमा केराको माग धेरै हुने गरेको उनको भनाई छ । अन्य खेतीपाती भन्दा केरा केही सजिलो भएकाले व्यावसायिक खेती गरेको हो । गोडमेल र सामान्य रोग किराको बारेमा जानकारी राखे केरा खेती गर्न सकिने उनको भनाइ छ । दाङका किसान पछिल्लो समय केरा खेतीमा भविष्य खोजिरहेका छन् ।
नगदे बालीको रुपमा केरा बिक्री हुने भएकाले आम्दानीको बलियो स्रोत भएको छ । राप्ती गाउँपालिकाको वडा न ७ मा करिब २७ विघा बढी जमिनमा केराको व्यावसायिक खेती गरिएको छ । धान फलाउने खेत मासेर केरा खेती गर्न थालेपछि उनलाई केराले फाइदा दिई रहेको छ । छिमेकीले धान फल्ने खेतमा के गर्न थालेको होला भनेर टिप्पणी गरे । अहिले उनले गरिरहेको परिश्रमबाट धेरै लाभ मिलेको छ । अझैं केरा खेतीको क्षेत्रफल बढाउने हिम्मत उनमा पलाउँदै गएको छ । केरा खेतीबाट आम्दानी हुन थालेको छ । “यहाँ गरेको मेहनत अनुसार बजार पाउने हो भने केराले राम्रै आम्दानी दिन्छ”–उनले भने । दाङमा केरा खेतीको लागि उपयुक्त हावापानी भएकाले उत्पादन राम्रो छ ।
सोही ठाउँका युवराज पन्थीले केरा खेती गरेका छन् । थोरै जमिनबाट सुरु गरेको केरा खेती तीन बिघा जमिनमा फैलिएको छ । उनले निराश भइहाल्ने अवस्था नरहेको र उत्पादित केराको बजार सुनिश्चित हुने हो भने केरा खेतीको क्षेत्रफल अझै बढाउन सकिने बताए । राप्ती गाउँपालिकामा केरा खेतीमा संलग्न किसानहरु संगठित पनि भएका छन् । किसानहरुले बनाएको समूहले केरा खेतीको लागि आवश्यक पर्ने सहयोगको लागि स्थानीय तथा प्रदेश सरकारसँग पहल गरिरहेका छन् । “उत्पादन गरेका केराले बजार र मूल्य दुवै पाउने अवस्थाको वातावरण बनाउन जरुरी छ”–उनले भने, “हाम्रा समस्या समाधान गर्न सरकारले ध्यान दिनैपर्छ ।” छिमेकी देशबाट आउने केरामा प्रतिबन्ध लगाउनुपर्ने उनको माग छ । हामीले केरामा भविष्य देख्न थालेका छौँ । त्यसैले सरकारले केरा खेती गर्ने किसानलाई प्रोत्साहन गर्नुपर्छ । जिल्लाका लमही, सिसहनिया, सतबरिया, गढवा, लालमटिया, गंगापरस्पुर, तुलसीपुर, पवननगर, फूलबारीलगायत ठाउँका कृषक केरा खेतीतर्फ आकर्षित भएका छन् ।
कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा ६ सय ८० हेक्टर जमिनमा व्यावसायिक रूपमा केरा खेती हुने गरेको छ । दाङको हावापानीमा केरा उत्पादन राम्रो हुन थालेपछि केरा खेतीतर्फ आकर्षित भएको उनले बताए । केरा खेतीमा भविष्य देखेका किसानले उत्पादन गरेको वस्तु बजारीकरण हुनु जरुरी छ ।