© २०२३
काठमाडौँ ।
काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका सात जनालाई डिल्लीबजार कारागार लगिएको छ। प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईँसहित सात जनालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको हो।
अदालतको आदेश झण्डै राति साढे १२ बजे आएको थियो। आदेशपछि उनीहरूसँगै धरौटी बुझाउन बाँकी रहेका ६ जनालाई पनि अस्थायी रूपमा डिल्लीबजार कारागार लगिएको छ। ती ६ जना भने धरौटी बुझाएपछि रिहा हुनेछन्।
कारागार चलान भएका सातजनामा दुर्गा प्रसाईँसँगै तारा राजावादी भनेर चिनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्।
यसै मुद्दामा संलग्न अन्य ३२ जनालाई भने अदालतले विभिन्न धरौटी रकममा रिहा गर्ने आदेश दिएको छ। तीमध्ये केहीलाई एक लाख, केहीलाई पचास हजार, बीस हजार र दस हजार रुपैयाँसम्म धरौटी माग गरिएको छ।
हरिहर चौलागाईँ, सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाल, भिम भनिने हेमराज थापा र विष्णुजंग बस्नेतलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश छ। निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठलाई पचास हजार धरौटीमा रिहा गरिनेछ।
त्यस्तै गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट र लोकबहादुर बस्नेतलाई बीस हजार धरौटीमा छाडिनेछ। बाँकी १६ जनालाई दस हजार रुपैयाँ धरौटीमा रिहा गर्ने अदालतको आदेश छ।
उता, यसै प्रकरणमा संलग्न रहेका ११ जना भने फरार रहेका छन्। फरार अभियुक्तमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत रहेका छन्।
उनीहरूमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव तथा संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ। दुर्गा प्रसाईँसहित आठ जनाविरुद्ध भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसमेतको अभियोग लागेको छ।