© २०२३
काठमाडौँ।
राहदानी विभागले चालु आर्थिक वर्षको पुसदेखि चैत मसान्तसम्मको अवधिमा ४ लाख ५७ हजार १६८ थान राहदानी जारी गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त जानकारी दिइन्।
उनका अनुसार, राहदानी वितरणमा सहजता ल्याउन रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा घुम्ती टोली परिचालन गरेर सेवा दिइएको हो। ती मुलुकमा कार्यरत नेपाली नागरिकलाई लक्षित गरी राहदानी सेवा नजिकैबाट उपलब्ध गराइएको मन्त्री राणाले बताइन्।
बैठकमा मन्त्री राणाले वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरू समाधान गर्नका लागि परराष्ट्र मन्त्रालयको संयोजकत्वमा समिति गठन गरिएको जानकारी समेत दिइन्। उक्त समितिले विदेशमा रहेका नेपाली कामदारहरूका समस्या पहिचान गरी समाधानका उपायहरू सुझावस्वरूप पेश गर्नेछ।