© २०२३
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रविधिसहित प्रमाणमा आधारित, पारदर्शी र प्रभावकारी बनाउन आग्रह गरेका छन्। प्रहरी अनुसन्धानकर्ता र सरकारी वकिलबीचको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अपराधविरुद्धको लडाइँमा आधुनिक प्रविधिको प्रयोग र सशक्त प्रणाली आवश्यक रहेको बताए।
उनले भने, “समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्ध कायम राख्न समयानुकूल कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ। त्यसका लागि योग्य, इमानदार र सक्षम जनशक्तिको खाँचो छ, जुन उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।”
प्रधानमन्त्री ओलीले अपराध नियन्त्रणका लागि प्रहरी संगठनले प्रविधिमा पारंगत र स्रोतसाधनले सुसज्जित हुनुपर्ने आवश्यकता औंल्याए। “अपराधीहरू प्रायः प्रविधिको प्रयोग गरी अपराध ढाकछोप गर्न उद्यत हुन्छन्। यस्तोमा प्रहरीको त्रुटीरहित अनुसन्धान नै न्याय निरूपणको प्रमुख आधार बन्न सक्छ,” उनले स्पष्ट पारे।
त्यसैगरी, गृहमन्त्री रमेश लेखक र महान्यायाधिवक्ता रमेश बडालसहितको उपस्थिति रहेको सम्मेलनमा प्रधानमन्त्रीले सबैलाई समान अधिकार र अवसर दिनुपर्नेमा जोड दिँदै विकास, सुशासन र सुव्यवस्थातर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। दोषीलाई कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता भएको उनको भनाइ थियो। प्रहरी प्रधान कार्यालय, नक्सालमा जारी दुई दिने यो सम्मेलन अन्त्यमा निष्कर्षसहित घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ।