© २०२३
काठमाडौँ।
लामो समयदेखि संवादविहीन रहँदै आएका काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलबीच करिब पाँच महिनापछि पहिलोपटक औपचारिक छलफल भएको छ। कार्यपालिका र आगामी नगरसभा बैठकको तयारीबारे बुधबार मेयर, उपमेयर र केही वडा अध्यक्षहरूको सहभागितामा बैठकको प्रारम्भिक छलफल गरिएको महानगर स्रोतले जनाएको छ।
गत पुस १४ गतेपछिको यो पहिलो बैठक तयारीको छलफल हो। छलफलमा वडाध्यक्षहरू — नेकपा (एकीकृत समाजवादी) का वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, नेपाली कांग्रेसका वडा नं. १७ का अध्यक्ष तथा प्रवक्ता नवीन मानन्धर, र एमालेका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली पनि सहभागी थिए।
पहिले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरीलाई लिएर मेयर र उपमेयरबीच विवाद उत्पन्न भएको थियो। उक्त विवादपछि कार्यपालिका बैठकहरू प्रभावित भएका थिए। उपमेयर डंगोलले बहुमत वडा अध्यक्ष र कर्मचारीको समर्थनमा गुरागाईंलाई महानगरमा पुनः कार्यरत गराएकी थिइन्।
पछिल्लो छलफलले नगरको बजेट निर्माण प्रक्रिया, कार्यपालिका सक्रियता र मेयर–उपमेयरबीचको समन्वय सुधारतर्फ सकारात्मक संकेत देखाएको बुझिएको छ।