© २०२३
गुल्मी, २९ जेठ ।
गुल्मीको मदाने गाउँपालिकामा गाई पालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । मदाने गाउँपालिका वडा नं. १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाई पालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिएका छन् ।
गाउँपालिकाले अग्लुङ्माका ३० जना गाई पालक किसानलाई जनही दुई हजार ५०० का सयका दरले उक्त प्रसूति स्याहार भत्ता उपलब्ध गराएको हो । पछिल्लो समयमा बसाइँसराइँका कारण गाउँबाट मानिसहरू विस्थापित हुँदै जान थालेसँगै स्थानीय जातका गाईहरू लोप हुँदै गइरहेको अवस्थामा किसानहरूलाई गाई पालनमा प्रोत्साहन गर्ने उद्देश्य पालिकाले उक्त प्रसूति भत्ता उपलब्ध गराइएको अध्यक्ष चन्दले बताए ।
गाउँमा चाँड पर्व तथा तिथि सराद जस्ता धार्मिक कार्यका लागि स्थानीय जातको गाईको दूध, गहुँत र गोबर पाउन समस्या भएका कारण गाउँपालिकाले रैथाने गाईको संरक्षणमा जुट्न थालेको हो । यसरी भत्ता उपलब्ध गराएसँगै त्यस क्षेत्रका गाई पालक किसानहरू पनि थप उत्साहित बनेका छन् ।