© २०२३
‘सामाजिक न्यायमार्फत बालश्रम अन्त्य गरौँ’ भन्ने नाराका साथ आज विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रम गरी मनाईदैछ । नेपालमा अझै पनि ५ देखि १७ वर्षसम्मका करिब ११ लाख बालबालिका श्रम गर्न बाध्य भएको सार्वजनिक भएको छ । बालश्रमविरुद्धको दिवस मनाइरहँदा नेपालको यो तथ्याङ्कले सबै नेपालीलाई गिज्याइरहेको अनुभूति भएको छ । विश्वको कुरा गर्ने हो भने लाखौँ बालबालिका श्रम गर्न बाध्य छन् ।
नेपालमै पनि १८ वर्ष मुनिका बालबालिका बालश्रमको रूपमा विभिन्न तहमा काममा लगाइएका छन् । १७ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने कानुन छ तर पारिवारिक बाध्यता, आर्थिक प्रलोभन लगायतका कारण बालबालिकाहरू अझै पनि श्रम गर्न विवस भएका छन् । नेपालमै पनि यति ठुलो सङ्ख्यामा बालबालिका बाल श्रम गर्न बाध्य हुनु चिन्ताको कुरा हो । यसले के देखाउँछ भने अझै पनि हाम्रो समाजमा धनी र गरिबबिचको खाडल गहिरिँदो छ ।
देशबाट गरिबी घटेको भनिए पनि वास्तविक रूपमा त्यो अवस्था छैन । जसका कारण नेपाली बालबालिका श्रम मगर्न बाध्य बनिरहेका छन् । अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा पक्ष राष्ट्र बनेको नेपालले बालबालिका श्रममा जोतिनु परिरहेको अवस्थाप्रति त्यति धेरै चासो र चिन्ता राखेको देखिदैन् । सरकारका काम कारबाही र विभिन्न सामाजिक सङ्घ संस्थाको सक्रियता हेर्दा बालश्रमप्रतिको चिन्ता अति कम देखिन्छ । वर्षमा एक पटक दिवसका अवसरमा प्रतिबद्धता बाहेक बालश्रमका विषयमा आम चासो र चिन्ता देखिँदैन । कुनै पनि बालबालिकाले स्वस्थ वातावरणमा शिक्षा र स्वास्थ्यको अधिकार राख्छन् । त्यो उनीहरूको अधिकार हो ।
कुनै पनि बालबालिकालाई राज्यले जीवनस्तर विकासका लागि आवश्यक अवसरबाट वञ्चित गर्नेछैन भन्ने सरकारले प्रतिबद्धता गरेको छ तर अहिले पनि आमा बुवा जेलमा रहेका बालबालिका जेलमै छन् । बालबालिका इट्टा कारखानादेखि अन्य उद्योग कारखानामा तल्लो स्तरको काम गर्न बाध्य छन् । बालबालिका कोही आफैँले अपराध गरेका कारण सजाय स्वरूप बाल बन्दी जीवन बिताउन बाध्य छन् । अबको दिनमा अपराध कर्ममा बालबालिकाको सहभागिता कसरी भइरहेछ भन्नेमा ध्यान दिन जरुरी छ ।
पछिल्लो समय बालबालिकाबाट पनि आपराधिक कर्म भएका खबर बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । बालबालिका आफैँमा अपराधी हुँदैनन् । कुनै बालबालिका अपराधमा सहभागी हुन्छन् भने त्यसमा वातावरण, परिस्थिति, सङ्गतलगायतका विभिन्न कारणले काम गरेको हुन सक्छ । प्रविधिकै कारण बलात्कारजस्तो जघन्य अपराधमा केही बालक अभिप्रेरित भएको, उनीहरूबाट समवयी बालिकाहरू प्रताडित भएको जस्ता घटनाका कारणमा राज्यले ध्यान दिन जरुरी छ । बालश्रम विरुद्धको दिवस मनाइरहँदा बालबालिकाहरू अझै पनि उचित जीवनस्तरको अवसरबाट वञ्चित छन् ।
बाल अधिकार केवल भौतिक सामग्रीको उपलब्धतामा मात्र खोजीन हुँदैन, दूरदराजमा बालबालिकाको अधिकारको खोजी कसले गर्ने ? चिन्ता त्यहाँ छ । अब बालबालिकालाई निकृष्ट प्रकारको श्रमबाट टाढै राख्ने हो भने उनीहरूको संविधान प्रदत्त अधिकारको ग्यारेन्टी हुनै पर्दछ । सरकारले बालबालिकालाई श्रमबाट टाढा गर्ने मात्र होइन, उनीहरूको जीवनलाई सुन्दर बनाउने विषयमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।
बालबालिकाहरू धेरै प्रकारले श्रममा जोतिन बाध्य छन् । सडक बालबालिका, घरबार विहीन, अनिश्चित जीवन र दुव्यर्सनमा फसेका बालबालिकाहरूले श्रम गरेको देखिएको छ । घर परिवारको आर्थिक अवस्था कमजोर हुँदा पनि बालबालिकाहरू उमेर नहुँदै श्रम गर्न बाध्य छन् । अर्कोतर्फ श्रममा जोडिएका बालबालिका अनेक प्रकारका यौन शोषण, दुर्व्यवहार, जटिल प्रकारको श्रम आदि समस्याले प्रताडित हुनुपरिरहेको छ । खास गरी इटाभट्टा, होटल र घरमा काम गर्ने बालिकाहरूमाथि बलात्कारका साथै यौन दुर्व्यवहारका घटना भइरहेका छन् । यस्ता घटना धेरै बाहिर नआएका कारण यो समस्या विकराल हुँदै गएको छ । सरकारले यी लगायत समग्र पक्षहरूको विषयमा अब गम्भीर भएर सोच्ने बेला आएको छ ।